अन्तर्राष्ट्रिय

मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ६३२ पुग्यो

मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी ६३२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार मोरक्कोको आन्तरिक मन्त्रालयले ६३२ जनाको मृत्यु भएको र ३२९ जना घाइते भएको पुष्टि गरेको छ।

घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार अधिकांश मृत्यु देशका दुर्गम पहाडी क्षेत्रहरूमा भएको छ, पुग्न निकै गाह्रो छ।

स्थानीय समय अनुसार हिजो राति ११ बजेर ११ मिनेटमा यो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु राजधानी माराकेशबाट करिब ७१ किलोमिटर दक्षिण-पश्चिममा उच्च एटलस पर्वत रहकेको छ।

भूकम्प गएको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको अर्को झट्का आएको थियो।

भूकम्पका कारण राजधानी माराकेश र दक्षिणका धेरै क्षेत्रमा ज्यान गएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक रिपोर्टहरू अनुसार भूकम्पका कारण अल-हौज, माराकेश, ओआरजाजाते, अजिलाल, चिचौआ र तारौदान प्रान्तमा मानिसहरूको ज्यान गुमाएको छ।’

भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट भएका छन्। जसमा ढलेका भवनहरू र घाइतेहरू देखिएका छन्।

3c231400-4ed0-11ee-8445-e7ca0c31c77b1694252736.jpg

धेरै भिडियोहरूमा भवनहरू हल्लिरहेका छन् र मानिसहरू सडकतिर दौडिरहेका छन्। सामाजिक सञ्जालमा सेयर भएका भिडियोमा धुलोको बादलमा हिँडिरहेका मानिसहरू पनि देखिन्छन्।

सरकारी टिभीमा प्रसारण भएको भिडियोमा सवारीसाधनमा भवन खसेको भग्नावशेष देखिन्छ।

माराकेशको पुरातन क्षेत्रहरूमा धेरै भवनहरू ध्वस्त भएका छन्। एक स्थानीय बासिन्दाले रोयटर्स भने, ‘पुरातन सहरका धेरै भवनहरू जमिनमा भत्किएका छन्।’

‘मानिसहरू डर र आतंकमा थिए, त्यहाँको वातावरण कोलाहलपूर्ण थियो,’ अब्दुलहक अल-इमरानीले भने।

अब्दुलहकका अनुसार करिब १० मिनेटसम्म बिजुली नआएको र फोन पनि चलिरहेको थिएन।

राजधानी माराकेशमा ६.८ म्याग्निच्युडको भूकम्प गएपछि राजधानीसहित देशका धेरै सहरमा मानिस सडकमा निस्किएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार