अर्थ/वाणिज्य

अब भैरहवाबाट मलेसिया साढे १२ हजारमै पुगिने

अन्तर्राष्ट्रिय उडानविहीन बनेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसै महिनाको अन्तिम सातादेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने अधिकारीहरूले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भन्दै बनाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय उडान गर्दै आएको एउटा विदेशी विमान कम्पनीले उडान बन्द गरेपछि अहिले त्यहाँबाट अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छैनन्।

निगमका प्रवक्ताका अनुसार हाललाई उक्त विमानस्थलमा मलेसियाबाट साताको एउटा उडान गरिनेछ र निकट भविष्यमै थप उडान हुने सम्भावना रहेको छ।

उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउन विभिन्न विमान कम्पनीहरूलाई आग्रह गरिए पनि धेरैले ‘व्यावसायिक रूपमा सफल हुने सम्भावना नरहेको’ भन्दै उडान नगरेको बताइने गरेको छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले जेठ २९ गतेदेखि ‘काठमाडौं-क्वालालम्पुर-भैरहवा-काठमाडौं’ ‘सेक्टर’मा उडान गर्न लागेको हो।

त्यसका लागि टिकट बुकिङ खुला गरिसकिएको उनको भनाइ छ।

उनले भने, ‘भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरू गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको सङ्ख्या बढाउँदै लाने योजना रहेको छ।’

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगमले ‘विशेष पहल गरी’ उडान सुरू गर्ने निर्णय गरेको बताए।

उनका अनुसार निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न ‘सटल बस’ सेवाको पनि व्यवस्था गर्ने भएको छ।

‘काठमाडौं-क्वालालम्पुर-भैरहवा-काठमाडौं’ ‘सेक्टर’मा यात्रुलाई आकर्षित गर्नका लागि निगमले प्रवर्द्धनात्मक भाडा दिएको प्रवक्ता पौडेलले बताए।

‘हामीले मलेसियाबाट काठमाडौं आएर पश्चिम नेपालतर्फ जानुपर्ने यात्रुलाई सजिलो होस् भनेर यो सेवा सुरू गरेका हौँ,’ उनले भने, ‘अब पश्चिमतिरका यात्रुहरू भैरहवामा उत्रिएर उतैबाट घर जान सक्नुहुनेछ भने काठमाडौं आउनुपर्नेलाई पनि हामी भैरहवाबाट काठमाडौंसम्म ल्याउनेछौँ।’

निगमले मले;lयाबाट भैरहवासम्मको एकतर्फी टिकटको मूल्य प्रतियात्रु १२ हजार ७ सय तोकेको उनले जानकारी दिए।

त्यस्तै, क्वालालम्पुर-भैरहवा-काठमाडौंका लागि भने १४ हजार २ सय रुपैयाँ प्रतियात्रु भाडा दर तोकेको छ।

‘यो प्रवर्द्धनात्मक भाडा दर मात्र हो,’ उनले भने।

काठमाडौंबाट मलेसिया जानेले भने बजारको चलनचल्तीकै भाडा तिर्नुपर्ने प्रवक्ता पौडेलले बताए।

नेपाल वायु सेवा निगमको वेबसाइटमा राखिएको भाडादर हेर्दा काठमाडौंबाट क्वालालम्पुरको एकतर्फी भाडा ४० हजार वा त्यसभन्दा बढी देखिन्छ।

जजीरा एअरवेजले भैरहवा विमानस्थलबाट गत अप्रिल १९ तारिखमा अन्तिम अन्तर्राष्ट्रिय उडान गरेको थियो

भैरहवा विमानस्थलबाट गत अप्रिल १९ तारिखमा अन्तिम अन्तर्राष्ट्रिय उडान भएको उक्त विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बताए।

उनका अनुसार कुवेतको जजीरा एअरवेजले अन्तिम अन्तर्राष्ट्रिय उडान गरेको थियो।

विमानस्थल अधिकारीका अनुसार गत ज्यानुअरी र फेब्रुअरीमा हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको थियो।

जजीरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिनबाट अर्थात्‌ गत वर्ष जेठ २ गतेदेखि सातामा तीनवटा उडान गर्दै आएको थियो।

त्यसबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति त्यहाँबाट सिङ्गापुरका लागि उडान गरेको थियो।

राष्ट्रिय ध्वजावाहक विमानले भैरहवामा उडान गर्ने भएपछि त्यसले सकारात्मक सन्देश जाने र थप कम्पनीहरू आकर्षित हुने आशा आफूहरूले गरेको बज्राचार्यले बताए।

‘यसले पक्कै पनि भोलिका लागि अरूलाई पनि प्रोत्साहन गर्छ भन्ने हामीलाई लागेको छ,’ उनले भने।

नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विकल्पका रूपमा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाए पनि दुवैबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छैनन्।

पोखराबाट हालसम्म अन्तर्राष्ट्रिय उडान सुरु नै भएको छैन।

उक्त विमानस्थलले पनि अहिले गौतम बुद्ध विमानस्थलले जस्तै आन्तरिक उडानहरू मात्रै गर्दै आएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि कुनै विदेशी वायुसेवा प्रदायक कम्पनीले अनुमति नलिएको विमानस्थलका महाप्रबन्धक विक्रमराज गौतमले बताए।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०

प्रतिक्रिया दिनुहोस्