अर्थ/वाणिज्य
विर्तामोडमा भाटभटेनी सुपरमार्केट सञ्चालनको तयारी


भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको विर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ।
मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता भाटभटेनीले असोज ४ गतेबाट स्टोर सञ्चालनमा ल्याउन लागेको हो।
भगवान चोकमा यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ स्पेससहित सञ्चलनमा आउन लागेको हो। २ अर्ब बढी लागानीमा सञ्चालनमा आउने यो स्टोर कोसी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो। यसअघि कोसी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसेको छ।
स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरू पाइने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ती सहरबाट समेत ग्राहकहरू आउने विश्वास भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको रहेको छ। नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित देशभरका ठूला सहरहरूमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन्।
देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निरासा छाएको बेला भाटभटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने उनले बताए। उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने हुँदा यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए।
भाटभटेनी व्यवसाय मात्र नभई रोजगारी आभियान पनि रहेको हुँदा हालसम्म करिब दस हजार बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्रप्त गरेको अध्यक्ष गुरुङ बताउँछन्।
स्टोर उद्घाटनको सम्पूर्ण तयारी सकिएको भाटभटेनीले जनाएको छ। उद्घाटनका आवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा इलेक्ट्रोनिक्समा २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेयर, फुडकोर्ट, मल्टिफ्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजोन तथा स्केट पार्क लगायतका सुविधा रहने भाटभटेनीले जनाएको छ।
दमकमा समेत आगामी वैशाखसम्ममा २७औं स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ।