विचार/ब्लग

बाँझोपनको ५० प्रतिशत कारण पुरुषमा

आज पुरुष बाँझोपनबारे चर्चा गरौं। सबैभन्दा पहिले पुरुष बाँझोपना के हो? बुझ्न जरुरी छ। एक वर्षसम्म पुरुष र महिला सँगै रहेर सम्पर्कमा रहिरहँदा पनि महिला गर्भवती भइनन् भने त्यहाँ इन्फर्टिलिटी अर्थात् बाँझोपना भएको हुनसक्छ।

बाँझोपना पुरुषमा पनि हुन सक्छ भन्ने सत्य समाजले सजिलै स्वीकार गर्न नसक्नाले यसको दोष महिलाले सहँदै आउनुपरेको छ।

महिला र पुरुष दुबैबीच एक वर्षसम्म नियमित सहबासपश्चात् पनि महिला गर्भवती नभएको अवस्था बाझोपना हो।

एक वर्षभन्दा अगाडिको समयमा महिला गर्भवती हुन नसकेको अवस्थालाई भने बाँझोपना भएको भन्न मिल्दैन।

पछिल्लो समय पुरुषमा बाँझोपना व्याप्त बन्दै गएको छ। विभिन्न अनुसन्धानलाई हेर्दा बाँझोपनाको ५० प्रतिशत कारण पुरुषको कारणले हुने गरेको पाइएको छ। बाँझोपनाको समस्या देखिएको एक जोडीमा पुरुषमा ५० प्रतिशत कारण देखिएको छ। ५० प्रतिशतमा १ तिहाइ मात्र महिलामा देखिएको पाइएको छ भने बाँकीमा महिला र पुरुष दुबैको कारणले बाझोपनाको समस्या देखिएको पाइएको छ।

पुरुषमा बाँझोपनाको कारण तथा लक्षण

पुरुषहरूमा बाँझोपनाको खासै लक्षण देखिँदैन। तर, बाझोपना भएका धेरै पुरुषहरूमा अन्य समस्याहरू भने रहिरहेका हुन्छन्। कसै-कसैमा अण्डकोषमा लामो समयसम्म दुखिरहने, तल्लो पेट दुख्ने, यौन उत्तेजनामा कमी, बीर्य स्खलन नहुनेजस्ता समस्याहरू देखा पर्दछन्। पुरुषहरूमा देखिने बाँझोपना कुनै ठोष लक्षण नदेखिए पनि अन्य समस्याको कारणले पनि बाँझोपनाको समस्या देखा पर्ने गर्दछ।

त्यसबाहेक अण्डकोषको माथिको नशा फुल्नु पनि बाझोपनाको मुख्य कारण मानिन्छ। बीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु, शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु जस्ता कारणले पुरुषमा बाँझोपनाको समस्या हुने गर्दछ। अस्वस्थ खानपान, मादक पदार्थ सेवन, धूमपान, आरामको कमी आदिका कारण पनि यो समस्या पछिल्लो समय बढ्दो छ।

उपचार के हुन्छ?

यदि कोही पुरुषमा बाझोपनाको समस्या छ भने सो पुरुषको हिस्ट्री लिनु अत्यन्तै आवश्यक हुन्छ। त्यसबाहेक फिजिकल एक्जामिनेसन गरेपछि ल्याबका केही जाँचहरू गराउनु आवश्यक पर्छ। ल्याबको जाँचमा सबैभन्दा पहिले बीर्य अर्थात् सेभेन एनालाइसिस टेस्ट गराउनु आवश्यक पर्छ। यसको कुनै एक रिपोर्ट हेरेर मात्र बाँझोपनाको उपचार गर्न भने मिल्दैन।

एउटै ल्याबबाट तीन महिनाको अन्तरालमा तीन वटा रिपोर्ट जाँच गरेपछि सबैमा बीर्यको नम्बर, बीर्यको मोर्टिलिटी र बीर्यको मर्फोलोजीमा कमी आएको छ भने मात्र यसको उपचार गर्न सकिन्छ।

यसबाहेक बाँझोपनाको समस्यामा पुरुषको अण्डकोषको भिडियो एक्सरे र हर्मोन सम्बन्धी केही जाँचको पनि आवश्यक पर्छ। हर्मोनको जाँच गराउँदा थाइराइड, प्याराथाइराइड जस्ता जाँचहरू गर्नु आवश्यक पर्छ। जसले बाँझोपनाको समस्या भए नभएको पत्ता लगाउन सजिलो हुन्छ।

उपचार कसरी गरिन्छ?

बाँझोपनाको समस्या भएको पत्ता लगाउने क्रममा गरिएको जाँचमा पुरुषको शुक्रकिटको नम्बर कम देखिए यसलाई बढाउने भिटामिनहरूको प्रयोग पतन महिनासम्म निरन्तर गर्नु आवश्यक हुन्छ। आफ्नो खानपानमा सन्तुलन राख्नु पनि अत्यन्तै जरुरी हुन्छ। यसरी सन्तुलित आहारको सेवन गर्दा तथा नियमित औषधी सेवन गर्दा पनि समस्या सावधान भए पछिल्लो समय निकै अगाडि बढेको आइयुआई-आइभिएफ प्रविधि अपनाएर पनि सन्तानको सुख प्राप्त गर्न सकिन्छ। तर, स्वच्छ खानपान र नियमित शारीरिक अभ्यास गरेर यसको समस्याबाट हदसम्म बच्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९

प्रतिक्रिया दिनुहोस्