विचार/ब्लग

परिवारवादको जननी कमरेड प्रचण्ड

मणि दाहाल।

राजनीति नि:स्वार्थ समाज सेवा हो। कल्याणकारी राज्य व्यवस्था यसको आधार हो। जनतालाई आत्मनिर्भरताको मार्गनिर्देश गर्दै समृद्धि र सुशासनको प्रत्याभूति यसको गन्तव्य हो। अनि स्वाभिमान र सम्मानपूर्ण जीवनको ग्यारेन्टी यसको धर्म हो। यसको लागि लक्ष्यपरक नीति र त्यसको इमान्दार कार्यान्वयन राजनीतिको मूल कडी हो। यसका साथै राजनीति गतिशील विज्ञान पनि हो। विज्ञानले निर्देश गर्छ। गतिशीलताले युगको आवश्यकतालाई सम्बोधन गर्छ। अनि गतिशीलता र विज्ञानको समायोजनमार्फत् बन्ने कार्यदिशाले भाग्य र भविष्यको मार्ग तय गर्छ।

हाम्रो राजनीतिले तय गरेका उल्लेखित सवालहरू केवल नीतिमा मात्र सीमित भयो। आकर्षक नीति बन्ने तर त्यसप्रतिको इमानदारिता पाउन नसक्नु हाम्रो नियति बन्यो। निष्ठा र सामूहिकताको भावनालाई व्यक्तिको स्वार्थले बन्धक बनायो। हामीले पञ्चायत पचायौं। बहुदल पचाउँदै  गणतन्त्र पनि पचाउँदै छौं। यसबीचमा पात्र फेरिए तर प्रवृत्ति फेरिएन। व्यवस्था परिवर्तन भयो तर अवस्था सुधार हुन सकेन। सहज जनजीविकाको कामना गायत्री मन्त्रमा सीमित भयो। जनता करदाता र मतदातामा मात्र सीमित भए। जनसेवा ओठेबोली भयो। तर जनहित भएन।

हाम्रो राजनीतिक आन्दोलनको इतिहास निष्ठा, त्याग र बलिदानले भरिपूर्ण छ। त्यसलाई सम्मानपूर्वक नमन गर्नैपर्छ। लोकतन्त्र र जनजीबिकाको आन्दोलनमा पुराना राजनीतिक दल र तिनका नेता-कार्यकर्ताको भूमिका तथा कष्टकर भोगाइको कहानी दन्त्य कथाजस्तै लाग्छ। तर आजको दिनमा विगतमा जनपूज्य तिनै नेताहरूको अवस्था र प्रवृत्ति नियाल्ने हो भने अत्यन्तै कहालीलाग्दो छ। उनीहरूले विगतको त्यागपूर्ण इतिहासलाई ब्याज खाने साधन मात्र बनाए। मालिकवादी शैली र परिवारका सदस्यको राजनीति र  राजकिय पजनीलाई नै प्रमुख कार्यभार बनाउँदै छन्।

हामीले इतिहासका अनेकौं कालखण्डहरूमा त्याग र आदर्शका अनुकरणीय पात्र जन्मायौं। बिपी, पुष्पलाल, मनमोहन र मदनजस्ता आदर्शवान पात्रहरू जन्मिए। सामूहिक स्वार्थको लागि बलिभेदीमा चढ्न रत्तिभर डर नमान्ने अमर सहिदहरू पनि जन्मायौं। समाज रूपान्तरणको यात्रामा वैंशका रहरहरू तिलान्जली दिँदै अनवरत् यात्रारत् यात्री पनि जन्मायौं। गणेशमान, कृष्णप्रसाद र सुशीलजस्ता नि:स्वार्थी युगपुरुष पनि यही धर्तीका उपज हुन्। तर उल्लेखित पात्रहरूको आदर्शलाई अनुशरण गर्ने इमानदार पात्र आजको राजनीतिले पाउन सकेन। यो हाम्रो मूल समस्या हो। 

आजको राजनीति परिवारवाद र निगाहावादले जेलिएको छ। शीर्षस्तहरूको आनीबानी र जीवनशैली राणा र राजा-महाराजाको भन्दा कुनै मानेमा फरक छैन। हाम्रा सम्मानित शीर्षस्तहरू नातावाद र चाकरीवाद भन्दामाथि उठ्न सकेनन्। छोराछोरी, भाइभतिज, ज्वाइँ, साला-साली अनि आसेपासेदेखि प्रेमिकासम्मको चिन्ता नै उनीहरूको दैनिकी बन्यो। जसले गर्दा राजनीतिलाई फोहोरको डंगुर बन्यो।  आम जनतामा राजनीतिप्रति नै वितृष्णा जगाउने काम गरियो। यसले जनतामा विद्रोही भावना जागृत गराउँदै छ। अराजकताले प्रश्रय पाइरहेको छ। तर पनि चेत खुलेको देखिँदैन। 

राजनीतिमा हावी अवसरवाद र अवसरवादी जमातले हाम्रो समाज विकासको चेतनालाई उल्टो प्रवाहित गराउँदै छ। गलत पक्षको जयकारलाई पौरख ठान्ने जमात राजनीतिमा हावी छ। अनुशासनको नाममा ताली बजाउनुबाहेक सो जमातले ठिक-बेठिक केही विश्लेषण जान्दैन। अरू राजनीतिक दलहरूमा यो अवस्था हावी हुनुलाई स्वाभाविक नै मानिएला। तर समाज रूपान्तरणका बाहक मानिने कम्युनिष्ट र तिनका कार्यकर्तामा त प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो नि! तर उनीहरू त अझै शून्यताको अवस्थामा देखिन्छन्। राजनीतिमा यो भन्दा लज्जापूर्ण अवस्था अरू केही होला? 

उग्र क्रान्तिकारी नाराका साथ दसकौंको युद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरित नेकपा माओवादी केन्द्र जो आफूलाई मात्र अब्बल क्रन्तिको मसिहा सम्झन्छ। तर उसभित्रको वैचारिक शून्यताको अवस्था कांग्रेस र एमाले भन्दा दुई गुणा अगाडि पाइन्छ। कार्यकर्ताहरूमा प्रतिरोधात्मक क्षमता देखिँदैन। माओवादीको विधान भन्नु नै प्रचण्डको आदेश भनेर बुझियो भने अचम्म नमान्दा हुन्छ। साथै, कमरेड प्रचण्डलाई परिवारवादको जननी भनियो भने कुनै अन्याय हुँदैन। उनी छोरी ज्वाइँ, भाइ-भतिजालगायत परिवारका सदस्यहरूको राजकीय र राजनीतिक पजनीमा अत्यन्तै आतुर देखिन्छन्।

के परिवारका सबै सदस्य राजकीय पजनीकै लागि मुलुकलाई दसकौं युद्धमा होमिएको हो? अनि इतिहासको ब्याज पहुँचवान नेता, आसेपासे र परिवारले मात्र खानुपर्ने हो? सवाल अनेक छन्। तर माओवादी मित्रहरू यसलाई सामान्य ठान्छन्। उनीहरूसँग विद्रोही भावना नै छैन। ताली, नेतासँग सेल्फी, पहुँचवानको उन्नति, जन्मदिन र एनिभर्सरीको बधाई जस्ता भद्धा सामाजिक ढर्राहरू नै माओवादी मित्रहरूको दर्शन बनेको छ। प्रतिरोध स्वार्थभित्र बन्धक देखिन्छ। यसलाई बिडम्बना सिवाय अरू के भन्न सकिएला र?

व्यवस्था फेरिएको यतिका वर्षसम्म पनि जनताको अवस्था फेरिन सकेको छैन। यसका अनेकौं पाटाहरूमध्ये एउटा पाटो भनेको पथभ्रष्टता र डनवाद हो। यसको घेराभित्र दलहरू बन्धक छन्। अन्तरजीवनको पथभ्रष्टता सामान्यजस्तै छ। आपराधिकरण राजकीय तवरमै सरक्षित छ। निष्ठावानहरू सडकमा छन्। अहंकारको परिवेश नियति बनेको छ। तर यति हुँदा पनि दलहरूमा संवेदनशीलता पाइँदैन। हामीले कस्तो राजनीतिक संस्कृतिको विकास गरायौं? कस्तो शिक्षा दिन खोज्दैछौं? हामीलाई नै हिनताबोध हुनुपर्ने हैन र? 

मुलुक सहकार्यतर्फ अग्रसर छ। दलीय गठबन्धन विद्यमान छ। त्यसको नेता प्रचण्ड छन्। ठिक छ जनसिर्जित  आवश्यकता हो गठबन्धन, गर। तर गठबन्धनका नाममा देश लुट्ने काम कदापि स्वीकार्य छैन। हर क्षेत्रमा नवसामन्त जन्माएर बडाहाकिम बनाउने प्रथाको अन्त्य गर्नैपर्छ। नत्र आन्दोलनले धिकार्ला। सहिदको रगतले पोल्ला। यहाँहरू शीर्षस्त तहमा सम्मानित हुनुहुन्छ। हामी भोकै बसेर भए पनि तपाईंहरूको महंगो जीवनशैलीलाई पालिरहेका छौं। पथभ्रष्टतालाई आँखा चिम्लेर अनुमोदन गरिरहेकै छौं।

तर सधैं युवराज, युवराज्ञी, राजकुमार, राजकुमारी र अधिराजकुमारी मानेर ब्याजको स्याज खुवाउनुपर्ने कुनै जरुरी छैन। कार्यकर्ता सधैं झोले खेताला मात्र नबन। दासताको जञ्जिर भन्दामाथि उठ। जनतालाई परिवर्तनको अनुभूति देऊ।

मणि दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०

प्रतिक्रिया दिनुहोस्