विचार/ब्लग

स्वार्थको कालो बादलमा रुमल्लिएको राजनीति स्वार्थकै गर्तमा नजाओस् 

देवीभक्त ढकाल।

नयाँ मानिस  नयाँ  विचार र दृष्टिकोणका साथ राजनीतिमा नवप्रवेश गरेर वर्तमान विकृतिको निर्मम  उपचार गर्छु भन्यो भने  पुराना पार्टीका नेताहरू किन छट्पटिन्छन्? किन अत्तालिन्छन्? यदि यिनीहरू देश र जनताका लागि  समर्पित हुन्थे भने यिनीहरूमा छटपटी हैन एक प्रकारको सन्तुष्टि हुनुपर्ने हो।

लामो समयसम्म विद्यमान विकृतिको उपचार गर्छु भन्ने जोकोहीलाई  ढाडस दिनुपर्ने हो। यिनीहरूमा भ्रष्टाचार, नातावाद र कृपावादको स्वार्थ छ। त्यसैले,  विकृतिको उपचार गर्छु भन्यो भने यिनीहरूको मस्तिष्कमा भुइँचालो जान्छ। यिनीहरूमा स्वार्थको छटपटी र चिच्याहट आउँछ। पुराना पार्टीका नेताहरूलाई दसकौंदेखि शासकीय अधिकार दिँदा  हिजो आत्मनिर्भर  देश आज परनिर्भर मात्रै  हैन, वैदेशिक ऋण र वैदेशिक व्यापार घाटाका कारण अब देश नै लिलामीको अवस्थामा पुग्दासमेत  उनीहरू  किञ्चित चिन्तित किन  छैनन्? उल्टै उनीहरूको अनुहारमा देश लुट्ने खुसी छचल्किएको छ।

देश यति बिकराल अवस्थामा पुग्दा पनि  यिनीहरूको अनुहारमा कसरी  हाँसो र मुस्कान  निस्किन्छ? यिनीहरू देशको दुरावस्थाप्रति अझै पनि चिन्तित किन छैनन्? यसको मुख्य कारण हो देशबाट यिनीहरू अझै पनि व्यक्तिगत नाजायज लाभ लिन  क्रियाशील छन्। अब हामीले भन्नैपर्छ - देशलाई टाट पार्नेहरू  ठूला भनिएका पार्टीका नेताहरू र तिनका विवेकशून्य पिछलग्गु कार्यकर्ताहरू  नै हुन्।

हाम्रो  दुर्भाग्य यिनीहरू कुनै पनि सर्तमा  सत्ता पनि नछाड्ने  र सुधार पनि नगर्ने दीर्घरोगबाट ग्रसित छन्। यो नेपाली राजनीतिको मुख्य  समस्या हो। सुधारको एजेन्डाका साथ प्रस्तुत हुने जोकोहीसँग परम्परागत नेतृत्व त्रसित हुन्छ। सत्ता सधैं  यिनीहरूको कब्जामा भएकोले सुधार पनि यिनीहरूबाटै प्रारम्भ गर्नुको विकल्प छैन। पुराना पार्टीहरूका सत्ताको ठेकेदारी प्राप्त नेताहरूले के एउटा हिम्मत गर्न सक्छन्? त्यो के भने  पहिलो चरणमा अहिलेसम्म कार्यपालिका, न्यायपालिका  र व्यवस्थापिकाको नेतृत्व तहमा काम गरेका वर्तमान र पूर्वप्रधानमन्त्रीहरू, पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुखहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र नागरिक आयोग निर्माण गरेर त्यसको रिपोर्ट छ महिनाभित्र सार्वजनिक गर्न सक्छन्? क्रमशः तल्लो तहसम्म छानबिन, तहकिकात गर्दै जाने र दोषीहरू सबैलाई  निर्मम कारबाही गर्छौं भन्ने  प्रतिबद्धता गर्ने हिम्मत छ? भ्रष्टाचारले चुलिएकाहरूले सधैं भ्रष्टाचारको एकाधिकार जमाउन नयाँ  जोस र जाँगर भएका  युवाहरूलाई सुधार गर्ने अवसरबाट बञ्चित  राजनीति के जनताका लागि मान्य र ग्राह्य हुनसक्छ?

हाम्रो राजनीतिक  र आर्थिक समस्या भनेको ठूला पार्टीका नेताहरूको गठबन्धन र त्यसका माध्यमले मिलिजुली भ्रष्टाचारको रणनीति र कार्यनीति हो। यो मिलिजुली भ्रष्टाचार गर्ने ध्येयका साथ लागू भएको वर्तमान संविधान र गठबन्धन संस्कृति नै नेपाल  र नेपालीको दुर्भाग्य हो। यो संविधान  र पुराना पार्टीहरूको भ्रष्ट नेतृत्व राज्य सञ्चालनको जिम्मेवारीमा रहँदासम्म भ्रष्टाचार अझै नयाँ-नयाँ शैलीमा विकसित हुन्छ। यिनीहरूको भ्रष्टाचार न्यूनीकरणको नारा जनतामा फगत भ्रम सिर्जना गर्ने सूत्र हो। यिनीहरूको देशलाई टाट उल्टाउने निरन्तर  प्रयत्नले राज्यको अर्थतन्त्र जर्जर मात्रै हैन खोक्रो र निकम्मा बन्यो।

अहिले उपनिर्वाचनका  नयाँ उम्मेदवारहरूप्रति पुराना पार्टीका नेताहरूको कटाक्ष नै भ्रष्टाचारको एकाधिकारको अन्त्य हुन्छ कि भन्ने भय हो। झुक्किएर पुराना पार्टीहरूले पनि केही राम्रा उम्मेदवारहरू दिएका छन्। ती उम्मेदवारहरू पार्टीको  निर्णायक भूमिकाका सन्दर्भमा सधैं पाखा पारिन्छन्। त्यसैले, ठूला पार्टीका राम्रा उम्मेदवार भनेको भ्रष्टहरूले जनताका आँखामा धुलो छर्केर देश लुट्ने रणनीति हो। के ती राम्राहरू मिलेर एकजुट भएर पार्टीका पुराना नेताहरूलाई विस्थापित गरेर नयाँ शैलीबाट पार्टीलाई लान सक्छन्? यो हिम्मत र आँट  घुस्याहा नेताहरूको छत्रछायामा विकसित नेतृत्वबाट किमार्थ सम्भव छैन। त्यो अवस्था  नहुँदा  पुराना पार्टीका  राम्रा उम्मेदवारप्रति पनि अब जनताको सहानुभूति ओह्रालो लागेको छ।

पुराना पार्टीमा रहने राम्रा व्यक्तिहरूको भविष्य झन् अन्धकार छ। अब पुराना पार्टीहरू तत्काल नसच्चिने हो भने  विवेकलाई ठेक्का नदिने कार्यकर्ताहरूले अब नयाँ सोच र दृष्टिकोण विकास गर्नु अपरिहार्य छ। पुराना पार्टीका नेताहरू र पार्टीसँग जनताको सहानुभूति किन हुने? युगौसंम्म लुट मच्चाउनेहरूका मतिहारहरूले किन र कसरी जनताको पक्षमा काम गर्छन्? नयाँ पार्टीहरूको  जन्म पक्कै पनि उनीहरूमा  नेता बन्ने रहरले हैन भन्ने जनताको विश्वासमा कुठाराघात भयो भने यो भन्दा राष्ट्रघात अर्को हुनै सक्दैन। अहिले नयाँ पार्टीहरू अस्तित्वमा आउने विषय रहर पक्कै हैन, यो बाध्यता हो। नयाँ पार्टी जन्माउन जिम्मेवार कोही छ भने त्यो  पुराना पार्टीका नेताहरूको मिलिजुली भ्रष्टाचार हो। कुशासन हो, नातावाद हो। पुराना पार्टीका नेताहरूको मति भ्रष्ट भएको  परिणाम हो।

पुराना पार्टीहरूले अब आफूभित्र भएको कमजोरीलाई निर्ममतापूर्वक आत्मसात नगर्ने हो भने विगतदेखि उनीहरूको जिमिदारीमा रहेका निर्वाचन क्षेत्रहरू आउदो  निर्वाचनमा सबै नयाँ पार्टीहरूले कब्जा गर्ने कुरा कुनै अनौठो  हुनेछैन। जनता अहिले पुराना पार्टीहरूका नेताहरूले गरेको भ्रष्टाचार र अनियमितता जस्ता विकृतिहरूबाट आजित छन्। त्यसैले  नयाँ र कच्चा नेताहरूसँग पनि भर पर्नुपर्ने बाध्यताका कारण नयाँ अस्तित्वमा आउने पार्टीहरूले पत्याउन नै नसक्ने मत पाएका हुन्। यो अपत्यारिलो र बदलाको भावनाको जनमतलाई उनीहरूले आफ्नो लोकप्रियता भन्ने यदि बुझेका छन् भने उनीहरू अपरिपक्व  खेलाडी हुन्। अपरिपक्वहरू समयक्रममा परिपक्व हुनसक्छन् भन्ने जनताको अनुमानले धोका खाने छैन।

यस्तो अवस्थामा पुराना पार्टीका भ्रष्ट नेताहरू  आफू सुध्रने त कता हो कता नयाँ  पार्टीका  उम्मेदवारहरूका कमजोरीहरू खोज्ने र सार्वजनिक गर्ने अभियानमा छन् न कि आफू सुध्रने योजना सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने दिशातिर। फलानो मन्त्रालय  नै चाहिन्छ भनेर हडताल, सत्याग्रह र आन्दोलन किन हुन्छ? यसको आन्तरिक कारण के हो? के जनतालाई नेताहरूको स्वार्थी, घिनौना र भ्रष्ट  राजनीति थाहा छैन?

अब जनता वर्तमान नेतृत्वबाट नेपालको  बिकराल आर्थिक-राजनीतिक समस्याको समाधान सम्भव छैन भन्ने निष्कर्षमा पुगेको मनोविज्ञानलाई आत्मसात गरेर युवाहरूले नयाँ शिराबाट समाधान खोज्छौं भनेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने विषयलाई किन पुराना पार्टीहरूले विशेष प्रकारको निषेधात्मक अभियान सुरू गर्दैछन्? के पुराना पार्टीका नेताहरू अझै  देशलाई रसातलतिर लैजाने ठेकेदारी कायम गरेर नेपाली जनताको अन्धकार भविष्यको खाका कोर्ने अभियानमा  क्रियाशील हुनुलाई नै राजनीतिको गन्तव्य ठान्दछन्?

प्रजातान्त्रिक व्यवस्थामा निर्वाचनमा प्रतिस्पर्धा जोकोहीले  देशका कुनै पनि निर्वाचन क्षेत्रमा गर्न पाउने हैन? किन फेरि टुरिष्ट उम्मेदवारको आरोप? के निर्वाचन क्षेत्रहरू पुराना पार्टीहरूका जमिनदारी अर्थात्  बपौती  हुन्? मेरो  र तेरो  निर्वाचन क्षेत्र भन्ने हक कसैलाई  नेपालको वर्तमान संविधानले कहाँ  दिएको छ? नयाँ दृष्टिकोणलाई जब स्वीकार गर्ने चरित्र छैन  भने अब नेपाली जनता पुराना पार्टीका नेताहरूले गर्दै आएको भ्रष्टाचार, विधिविहीनता, नातावाद, कृपावादको बिगबिगीलाई अब सहन तयार छैनन् भन्ने मनोविज्ञानलाई बुझ्ने कि उल्टै  प्रतिकार गर्ने?

अहिलेको उपनिर्वाचनमा कांग्रेसले उम्केको माछोलाई किन उपनिर्वाचनको मुख्य विषयवस्तु बनाएको? पार्टीभित्रका अब बाँकी स्वर्णिमहरूलाई पार्टीमा क्रियाशील हुने वातावरणबारे सोच्ने कि एउटा स्वर्णिमको उछितो काढ्न पार्टीको पूरै शक्ति प्रयोग गर्ने? पोइल गएकी श्रीमतीको सम्बन्धमा पूर्वलोग्नेले उसलाई लगाएको आरोप र पोइल जाने श्रीमतीले पूर्वलोग्नेलाई लगाइएका आरोपहरू तथ्यमा आधारित नभएजस्तै कांग्रेसले र स्वर्णिमले एक-अर्कालाई लगाउने आरोपमा तथ्यहरू छैनन्। अब न्याय दिने विषय उक्त निर्वाचन क्षेत्रका जनताको हो।

स्वर्णिमलाई स्वर्णिम हामीले बनाएका हौं भन्ने  कांग्रेसका नेताहरूको तर्कसँग आम जनता सहमत  छैनन्। यदि शेरबहादुरले र कांग्रेसका अन्य कसैले पनि स्वर्णिमलाई स्वर्णिम  बनाएको भए स्वर्णिमको जस्तै बौद्धिक क्षमता किन शेरबहादुर, रामचन्द्र पौडेलहरूका छोराहरूमा नभएको? स्वर्गजस्तो देशलाई  नर्क बनाउने यी नेताहरूले स्वर्णिमलाई स्वर्णिम हामीले बनाएका हौं भन्नु भ्रम सिर्जना गर्ने दुस्साहस हो। त्यसैले, कांग्रेसका नेताहरूले स्वर्णिमलाई स्वर्णिम हामीले नै बनाएका हौं भन्ने तर्क गर्नेहरू कांग्रेसलाई सपार्ने हैनन्। यिनीहरू झन बिगार्नमा उद्धत छन् भन्ने प्रमाणित गर्छ। स्वर्णिम स्वयंले आफ्नो मिहेनत परिश्रम, साधना, तपस्या  र भाग्यले स्वर्णिम बनाएको हो।

ऊ स्वर्णिम बन्नुमा बाबु-आमा, परिवार र देशको योगदान नभएको हैन। तर मैले नै बनाएको हुँ र मेरै मात्रै मिहेनतबाट बनेको हुँ भन्ने दुबै तर्कहरूमा कुनै आधार छैन। यो नितान्त: उसकै निजी मेहनत र साधनाको प्रतिफल हो न कि देशलाई रसातलतिर लैजाने नेताहरूको। यो आरोप-प्रत्यारोपको विषयवस्तु मात्रै हो। आरोप-प्रत्यारोपले राष्ट्रका समस्याहरू समाधान हुने भए खड्गप्रसाद ओली र पुष्पकमल दाहालले एक-अर्कालाई लगाएका लिखित, फेरि पार्टीका कार्यालयहरूमा नै दस्तावेजका रूपमा सुरक्षित आरोप-प्रत्यारोपहरुलाई अख्तियारले छानबिन गर्ने हिम्मत राखेको भए देशले अर्कै अनुकूल बाटो तय गरिसकेको हुन्थ्यो। उल्टै नेपालीहरूलाई बुद्धु  प्रमाणित गर्न र आफू प्रखर छट्टु स्याल बन्न पुष्पकमल दाहालले नयाँ समीकरणका माध्यमले  अर्को देश लुट्ने योजना बनाए। त्यसैलाई निरन्तरता दिने  घटनाक्रमहरूले अब जनता यी पुराना पार्टीहरूका देश लुटने र जनता ठग्ने योजना र कार्यक्रमहरूसँग वाक्क दिक्क भएको  विषयलाई हृदयङ्गम गरेर नै अहिले नयाँ पार्टीहरू जन्मिए।

नयाँ पार्टीहरूको जन्म र  शृंखलाबद्ध पार्टी परित्यागका विषयहरू रहर नभएर बाध्यता बन्यो। यी घटनाक्रमहरूको विकास त पुराना पार्टीहरूका नेताहरूको भ्रष्ट र स्वार्थी  प्रवृत्तिको उपज हो। यसलाई  रहरको रूपमा भन्दा बाध्यताको रूपमा व्याख्या  र परिभाषित गर्नुपर्छ। नयाँ पार्टीहरूको उदयसँगै पुराना पार्टीहरूको गतिविधिबाट वाक्क दिक्क भएका अझै देश र समाजको पक्षमा काम गर्न सकिन्छ कि भन्नेहरूको जमातको नेतृत्व गर्ने काम स्वर्णिमले गर्दा कांग्रेसभित्र मात्रै हैन, सबै पार्टीहरूमा भुइँचालो जाने सम्भावनाका कारण सबै पार्टीहरू प्रत्यक्ष वा परोक्ष रूपमा स्वर्णिमको योजना, भावना र विचारको विरोधी बनेका छन्।

पुराना पार्टीका नेताहरू र तिनका पिछलग्गुहरू सबैमा भ्रष्टाचार, अनियमितता, विधिविहीनता, नातावाद र कृपावादको दीर्घ रोगहरूबाट संक्रमित हुँदा जनता अहिले पुराना पार्टीका नेताहरूबाट जनताको पक्षमा काम हुन्छ भन्ने कुरामा विश्वास छैन। विगतको संसदीय निर्वाचनमा चितवनका दुई वटा निर्वाचन क्षेत्रका जनताले जबर्जस्त जनाउ दिँदा पनि किन यिनीहरूको मति सुध्रेन? सरकारले कार्यक्रमका माध्यमले आफूलाई परिवर्तन गरेको आभास  दिनुको सट्टा  बकम्फुसे भाषण, उद्घाटन र कार्यकर्ता भेटघाटमा नै सीमित राख्दा नै परिस्थिति झन् नकारात्मक रूपमा विकसित भएको  हो।

जहाँ तीन दसकसम्म एउटै व्यक्ति सांसद सदस्यमा निर्वाचित हुन्छ, एउटै व्यक्ति पाँच छ पटकसम्म  प्रधानमन्त्री हुन्छ, जहाँ एउटै व्यक्ति १७-१८ पटक मन्त्री हुन्छ र जनताको पक्षमा हैन आफ्नो  र आफ्नाका पक्षमा मात्रै काम गर्छन् भने ती पार्टीमा रहेका इमानदार  कार्यकर्ताहरूले आत्मसमर्पणमा  चित्त बुझाउने कि वैकल्पिक बाटो खोज्ने? नेपाली जनताको मुख्य चासो र चिन्ता के हो भने स्वार्थको कालो  बादलमा रुमल्लिएको राजनीति स्वार्थकै गर्तमा नजाओस्!

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०

प्रतिक्रिया दिनुहोस्