विचार/ब्लग
बाँकी… दलीय ‘महाराज’हरूको जो हुकुम!


प्रतिनिधिसभाका रिक्त स्थानहरूमा उपनिर्वाचन सम्पन्न भई परिणाम प्राप्त भइसकेको छ। परिणाम कसको पक्षमा गयो या गएन त्यसमा अल्मलिनु जरुरी छैन। तर, उपनिर्वाचनले गम्भीर समीक्षा र आमूल सुधारको संकेत भने अवश्य गरेको छ। आम निर्वाचनदेखि उपनिर्वाचनसम्म आइपुग्दा मूलधारका राजनीतिक दलहरूको खस्कँदो जनविश्वास र आवेशी जनादेशले राम्रो संकेत गरिरहेको देखिँदैन। मूलधारका राजनीतिक दलहरूलाई ‘गर या मर’को नाजुक संकेतले सम्बद्ध दलका शीर्षस्तहरूलाई झस्काएको छ या छैन? त्यो उनीहरू नै जानुन्। तर, अवस्था भने गम्भीर देखिँदैछ।
राजनीति अविचलपत यात्रामा यात्रारत् नि:स्वार्थ समाजसेवा हो। राजनीतिक रूपका विजय र पराजयहरू सामान्य प्रक्रिया मात्र हुन्। राजनीतिक पराजयले विगत सम्झाउँछ। आगत दर्शाउँछ। पराजय भोग्दैमा सबै कुरा समाप्तै भयो भनेर बुझियो भने त्यो राजनीतिक बुझाई हैन। राजनीतिलाई व्यापार ठान्ने जमातको लागि मात्र विजय र पराजयको महत्व रहला। तर, राजनीतिलाई समाजसेवाको रूपमा लिनेहरूको लागि यसले खासै महत्व राख्दैन। विजयले कर्तव्यबोध गराउँछ भने पराजयले आत्मसमीक्षा। फरक यत्ति मात्र हो। तर, आम निर्वाचनदेखि उपनिर्वाचनसम्मको अवस्थाले उल्लेखित कुरा दर्शाउन सकेको देखिएन।
राजनिितक रूपमा असचेत सहरिया मध्यम वर्ग र रूपान्तरण हेर्न नचाहाने कुलिन वर्गको भावावेशी निर्णयलाई सामान्य मान्न सकिँदैन।
‘बुझे श्रीखण्ड, नबुझे खुर्पाको बिँड’- यो नेपाली उखान हो। यो उखान मात्र नभएर हाम्रा मूलधारका राजनीतिक दलका शीर्षस्तको लागि शिक्षा पनि हो। निर्वाचन परिणामले दलहरूलाई चुनौती दिएको छ। साथै चुनौतीलाई सामना गर्ने अवसर पनि दिको छ। खासमा मूलधारका दलहरूमा आएको सैद्धान्तिक विचलन र कार्यभारप्रतिको उदासिनता नै आजको परिणम हो। ठूला र परिपक्क भनिएका दलीय जिम्मेवारहरूले कहिल्यै पछाडि फर्केर हेर्न जानेनन्। जनपुज्य नेतृत्व नातावाद, कृपावाद र परिवारवादको दलदलबाट माथि उठ्न सकेन। छोरी, ज्वाइँ भाइ, भतिजालगायतको युवराज र युवराज्ञी शैलीको परेड हेर्न जनता विवश बने। युगको आवश्यकता र जनभावना नै सम्बोधन हुन सकेन।
दलीय अन्तरजीवन पथभ्रष्टपूर्ण बन्यो। निष्ठावानहरूको आवाज सुन्ने काम कहिल्यै भएन। ताली बनाउने दाषरुपी कार्यकर्ता मात्र नेताका प्यारा भए। जनप्रतिनिधिहरू सेवकभन्दा शासकको रूपमा उदय भए। राज्यका तहगत संरचनाहरूमा भ्रष्टाचारको सञ्जाल खडा भयो। स्थानीय पालिकाहरू लाभ आर्जनका आकर्षक गन्तव्य बने। भ्रष्ट, तस्कर, डन, माफिया र तिनका आसेपासेको संरक्षण राजनीतिको मूल उद्देश्य बन्यो।
नेतृत्वको जीवनशैली राजा-महाराजाभन्दा कुनै मानेमा फरक देखिएन। नेतृत्वको ध्यान सुध्रिनभन्दा बिग्रनतिर मात्र गयो। नैराश्यताका उल्लेखित अनेकौं दृष्टान्तभित्र काठमाडौंकेन्द्रित रुपान्तरणविरोधी कुलिन वर्गले खेल्ने मौका पायो। परिणाम कतै घण्टी बज्यो, कतै शंख बज्यो, कसैले अनौ समाए भने कसैले हलो समाए। मूलधारका दलहरूको कन्तबिजोगको कारण यस्तै हो।
समाज विकासको चरण पार गर्दै जाँदा वर्तमान अवस्थामा हाम्रो समाजमा अनेक खाले अन्तरविरोधहरू देखा परेका छन्। हुँदा खाने र हुने खानेबीचको वर्गीय अन्तरविरोध त छँदै थियो। त्योभन्दा खतरनाक रूपमा पश्चगामी र अग्रगामी अनि भ्रष्टीकरण र सुद्धीकरण चाहने शक्तिहरूबीचको अन्तरविरोध झन् खतरनाक रूपमा देखा परेको छ। मूलधारका राजनीतिक दलहरूले उल्लेखित अन्तरविरोध र गन्तव्य पहिचान गरेर पनि बुझ पचाए। जसरी पनि जित्नैपर्ने मानसिकताले जोसँग पनि हात मिलाउने काम भयो। सत्तालिप्साको मुसा प्रवृत्तिले जनतालाई आजित बनायो। आजित जनताबीचमा जसले खेल्नुपर्ने थियो खेल्यो। परिणाम जगजाहेर नै छ।
यसपटकको निर्वाचन अग्रगमन र पश्चगमनबीचको भिडन्त थियो। पश्चगामी शक्तिहरूको विरुद्धमा अग्रगामी बाल तथा लोकतान्त्रिक गठबन्धन थियो। आपराधीकरण र सुद्धीकरणबीचको अन्तरसंघर्ष थियो। समृद्धिमार्फतको समाजवादी मूलधारका राजनीतिक दलहरू निर्वाचनमा पछारिँदै जानुको अर्को कारण राजनीतिक रूपमा असचेत सहरिया मध्यम वर्ग तथा सामाजिक सञ्जालको गलत हौवाका पछाडि दौडने युवा जमात पनि कारक बन्यो। राजनीतिलाई उमेरले हैन विचारले निर्देश गर्छ। तर, मूलधारका राजनीतिक दलहरूको गुटीय र पदीय स्वार्थले युवा तथा महिलाहरूलाई ढाल बनाएर अनावश्यक रूपमा गिजोल्ने काम गरियो। बुढाजति सबै ‘आउट’ भन्नेजस्ता अत्यन्तै गैरराजनीतिक नारालाई मूलधारकै राजनीतिक दलहरूले प्रोत्साहन गराए। यसैमा टेकेर अतिवाद तथा अस्थिरतावादी शक्तिले खेल्ने काम गर्यो।
निर्वाचनमा गैरराजनीतिक तथा पश्चगामी शक्तिले जनविश्वास पाउनुको अर्को कारण कुशासन र भ्रष्टाचारको चरमता हो। जनताले दिएको दुई तिहाइ बाँदरको हातमा नरिवल भयो। अदालती ‘कू’मार्फत् दलको विभाजनलाई बत्ती बालेर स्वागत गर्ने काम भयो। आपराधीकरण संस्थागत भयो। नीतिभन्दा नेतृत्वको देवत्वकरणलाई महानता ठानियो। विकृतिका चंगुलहरूको जनआक्रोश घण्टी, हलो र जुवामा बजारियो।
बुढी मरी भन्दा पनि काल पल्केकोमा भने चिन्तित हुनुपर्ने अवस्था छ। घण्टीको उदय त्यसै भएको छैन। यसको पछाडि पर्दापछिको अदृश्य खेलले पहिल्यै घर जमाइसकेको थियो। बाहिरबाट चल्ने सामाजिक सञ्जालका रिमोटहरूले आम जनमानसमा भ्रम छर्ने काम पहिल्यै गरिसकेको थियो। अभाव र कुशासनभित्र खेलेर सस्तो लोकप्रियताको नाभो खेतीले एउटा वर्गलाई आकर्षित तुल्याइसकेको थियो। जिम्मेवारहरूले त्यतातिर ध्यान दिनु जरुरत देखेनन्। सुध्रन पनि चाहेनन्। लुट र गुटको संरक्षण नै दैनिकी बन्यो।
आवेगले रामायण पढिँदैन। लोकतन्त्र स्थापनाको यतिको समयसम्म पनि जनचाहना सम्बोधन हुन सकेन। भद्धा प्रशासनिक संरचनाले राष्ट्रिय ढिकुटीलाई स्वाहा बनायो। सेवा सुविधाको लिप्तता र राजस्व दोहन कर्मचारीतन्त्रको विशेषता बन्यो। मानव संशाधनको विकास र समृद्धिका बाटाहरू बन्द गरियो। औचित्यविहीन प्रादेशिक संरचनाप्रति पुन:विचार गर्न आवश्यक ठानिएन। निर्वाचन प्रणालीमा सुधार गर्नतर्फ ध्यान जान सकेन। अनि जनताले घण्टी र हलो नसमाएर के समाउँछन्? मूलधारका राजनीतिक दललाई जनताले चुनौती मात्र दिएका हुन्। निष्कर्ष दिएका हैनन्। सुध्रिएमा जनविश्वासलाई पुन:स्थापित गर्न सकिन्छ। बाँकी दलीय महाराजहरूको जो हुकुम।