विचार/ब्लग
यस्तो हुन्छ अन्यायको दुष्चक्र


जब आममानिस घर वा जग्गाको हालसाबिक नभएको कारणले घरमा खानेपानीको पाइप जोड्न नसकिरहेको अवस्थाको विकास हुन्छ। आममानिस आफ्नो मोटरसाइकलमा चढेर काममा जान हतारिएर हिँडेका बेला थुप्रै स्थानमा बीच सडकमा ट्राफिक प्रहरी लाइसेन्स खोजेर बसेको थुप्रै स्थानमा देख्छ तर त्यही आममानिसको रूपमा तपाईंले ट्राफिक प्रहरीले महंगा गाडी चढेर हिँड्ने, चिल्ला र महंगा गाडीहरूलाई आजसम्म कतिपटक रोकेर चेक जाँच गरेको भेट्नुभएको छ?
के तपाईंले चढेको मोटरसाइकल र कार किन्दा तपाईंले तिरेको मूल्य वास्तवमा कति हो भनेर थाहा पाउनुभएको छ? के तपाईंका सन्तान पढ्ने सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्केको कारण तपाईंले अपारदर्शी ढंगले शुल्क लिने निजी विद्यालयहरूमा सन्तान पढाउनु भएको छ?
के तपाईं बिरामी हुँदा सरकारी अस्पतालमा जान निर्धक्क सक्नुहुन्छ? सरकारी अस्पतालका बेथिति र अस्तव्यस्तताको कारण तपाईंले महंगा अस्पतालमा गएर पानीसरह पैसा लुटाउनुपरेको छ? के तपाईंले सवारी साधनको कर बुझाउँदा या सवारी साधन किन्दा सडक मर्मत कर तिरेर पनि तपाईंले प्रयोग गर्ने बाटो अस्तव्यस्त पाउनुहुन्छ? के तपाईंलाई थाहा छ यो देशमा २०४६ सालदेखि सडक पिच गर्ने नाममा प्रत्येक वर्ष कति पैसा भ्रष्ट सरकारी अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता, दलाल, ठग, ठेकेदारहरूले कुम्ल्याएका छन् (ठेकेदारहरूबीच चर्चित पिसी के हो?)?
के तपाईंको घर छेउको महंगो जमीन छेउमा महंगो मूल्य तिरेर कुनै काम नगर्ने, गुन्डागर्दी गर्ने, तस्करी गर्ने, नेताको पैसा चलाउने, मानिसले महंगो महल ठड्याएको छ? के तपाईं आफ्नो कामको सिलसिलामा कुनै सरकारी कार्यालय (मालपोत, नापी, कर, राजस्व, भन्सार, जिल्ला प्रशासन कार्यालय, प्रहरी आदि) मा गएको बेला तपाईंको हुने काम नगरीकन झुलाएर कुनै दलाल या दलको नेताको साथ लागेर गई दाम बुझाएर आफ्नो काम गराउनु परेको छ?
के तपाईंले बनाएको मन्दिर भित्र तपाईंको जातको कारण मन्दिर प्रवेश गर्नबाट बञ्चित हुनुभएको छ? के तपाईंले खनेको इनारको पानी खानबाट तपाईं बञ्चित हुनुपरेको छ? के तपाईंले सिलाएको लुगा लगाउने साहुले तपाईंलाई घरको तुलसी मोठ छुन नदिएको छ? के तपाईंले देख्दादेख्दै हिजो सडकमा हिँड्ने कुनै उल्लेखनीय काम नगर्ने सामान्य मानिस करोडौंको मालिक बनेको छ? के तपाईंले देख्दा देख्दै तीसौं वर्ष सरकारी जागिर खाँदा केही नगरी अवकाश गएको मानिस चाकरी, चाप्लुसी, नातावाद, कृपावाद, झोले भएकै भरमा राज्यका संवैधानिक नियुक्ति पाएर तपाईंको अगाडि फुर्ती लगाउँछ?
के तपाईंको परिवारसँग सम्बन्धित कोही व्यक्ति कुनै फौजदारी अपराधको सिकार भएको छ र त्यसको मुद्दा अहिलेसम्म अनुसन्धान नै नभएको पाँच वर्षभन्दा बढी नाघेको छ र अन्यायी तपाईंकै आँखा अगाडि तुजुक देखाउँदै हिँड्छ? के तपाईंको जानकारीमा रहेको कुनै महिला करणीजस्तो जघन्य अपराधको शिकार भएर पनि अपराधी पक्राउ गर्न प्रहरी लागेको जस्तो लाग्दैन? के तपाईं कोही नजिकको मानिसबाट ठगिनु भएको छ र ठग्ने मानिसले तपाईंलाई दिएको चेकमा मुद्दा दर्ता गर्न प्रहरी नमानेको अवस्था छ र तपाईंबाट ठगी गरेको रकमलाई उपयोग गरेर तपाईंकै आँखाले देख्ने गरी त्यो ठग चाहिँ सम्भ्रान्त जीवन जिइरहेको छ? के तपाईंले स्कुल पढ्दाखेरी स्कुलमा पढाउने शिक्षकले तपाईंलाई पढाएको कुरा बुझाउन नसकेर तपाईंलाई ट्यूसन पढ्न बाध्य बनाएको परिस्थिति भोग्नुभएको छ?
के तपाईं आफ्नो घर चलाउन र साहुको ऋण तिर्न श्रीमतीका गहना बेचेर या एक मेलो बारी बन्धकी राखेर वैदेशिक रोजगारिमा गएर फर्किँदा तपाईंले ल्याएको एउटा मोबाइल या एउटा टेलिभिजन भन्सार कार्यालयले भन्सार नतिरिकन विमानस्थलबाट निस्किन नदिएको परिस्थिति भोग्नु भएको छ? के तपाईं आफू योग्य हुँदा हुँदै योग्यताका कसीहरूलाई पाखा लगाएर तपाईंको मानमर्दन गरिएको परिस्थिति भोग्नुभएको छ?
के तपाईंको परिवारका सबै सदस्यहरूलाई मलाई अन्याय पर्यो भने मैले बिना कुनै खर्च न्याय पाउँछु र त्यसको लागि मेरो सम्मानित अदालत छ भन्ने विश्वास बलियो छ? के तपाईंलाई मुलकभित्र बिस्कुन लागेका समस्याहरूको जड यो देशको राजनिति होइन भन्ने विश्वास छ? के तपाईंलाई हरेक आवधिक निर्वाचनको समयमा मतदान गर्ने बेला राजनीतिक दलहरू ठिक छन् भन्ने आदरार्थी भावना आउँछ? के तपाईंको घरको कसैले लिएको ऋण मिटर ब्याज बनेर आधुनिक खुर्माने बुढाहरूको शिकार बनेर तपाईंको घरजग्गा निलेको छ? के तपाईंलाई मिटर ब्याजको चक्रब्युहमा फसाएर कोही तारे होटलमा यो देशका ठूला नेता र कर्मचारीहरूसँग भोज खाने गरेको यथार्थ तपाईंलाई थाहा छ?
के तपाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्तहरू नै नैतिक चरित्र नभएको भनेर र भ्रष्टाचारमा संलग्न भएकोमा देशको न्यायालयले दण्डित गरेको सत्यता जानकारी छ? के तपाईंले तिरेको करले तीसौं वर्ष जागिर खाएर अकुत कमाएकाहरू फेरि चाकरी गरेर विभिन्न नियुक्ति पाएको व्यक्ति एकदमै योग्य हो भन्ने विश्वास छ? देशका दुरदराजमा पर्ने विकट भूगोलमा रहेका नागरिकहरूको कुरा छौडौं।
काठमाडौं, पोखरा, विराटनगरजस्ता सहरमा बस्ने सचेत नागरिकहरूले प्रहरी कार्यालयमा जानु अगाडि कोही चिनेको मानिस खोज्ने गर्नुभएको छ या छैन?
के आज देश आर्थिक मन्दीमा परेको छ भन्ने जानकार नेपाली नागरिकहरूलाई तस्करी, हुण्डी, मिटरब्याजी, अबैध जुवा खेलाउने, भ्रष्ट राजनीतिज्ञ र कर्मचारीहरूको भ्रष्टाचार आर्जित अकुत सम्पत्ति जुन बैंकिङ कारोबारमा अँटाएका छैनन्, कतै गाडिएको अवस्थामा, कतै बन्द कोठाभित्र लुकाइएको अवस्थामा, कतै गोदाममा लुकाइएको अवस्थामा लुकाइएका नोटका बोराहरूले गर्दा यो परिस्थिति आएको हो भन्ने जानकारी छैन र?
के गरीब नेपालीको छोरो या छोरीले विदेशी भूमिमा कठिन परिश्रम गरेर आफूले पठाएको रेमिट्यान्समार्फत चलेको यो मुलुकमा छाडा राजनीति र त्यसको आडमा मौलाएको भ्रष्ट कर्मचारीतन्त्रले यो मुलुक दिनानुदिन जर्जर बन्दै गएको कुराको जानकारी छैन र? हाम्रो सर्वोच्च अदालत नेतृत्वविहीन बन्नुपरेको कारणको रूपमा संविधानले देखाएको बाटोलाई छलेर अध्यादेशमार्फत् नियुक्त भएका मुठ्ठीभर निकायका शक्ति पुजकहरूको निदहराम हुनु होइन र? यी त केही उदाहरण मात्र हुन्। यस्ता कैयन धेरै घटनाहरू छन्।
सबैलाई जानकारी छ कि यहाँ अन्यायको बिज अंकुरित मात्रै होइन अन्यायको त्यो बिज विषवृक्षको रूपमा झांगिइसकेको छ। झांगिन पनि यति झांगिइसकेको छ कि यसले न्यायको मन्दिरलाई समेत यसको विषाक्त छायाको शिकार बनाउने दुश्प्रयास गरिसकेको छ। हामी यति निराशावादी भइसकेका छौं कि हामी नेपालीको आस्थाको केन्द्र, न्यायको मन्दिरलाई यो अन्यायको विषवृक्षले आफ्नो ग्रहणले निल्न लागेको बेलामा हामी सबै मिलेर त्यो विषवृक्षलाई समुल उखाल्नुपर्ने कुरामा सचेत छैनौं। किनकि हामी अन्यायको भूमरीमा यति परिसकेका छौं कि हामीलाई न्याय के हो? अन्यायबिनाको पनि कुनै समाज र संसार हुन सक्ला र भन्ने विश्वास छैन। अन्यायको विषवृक्षलाई राजनीतिले राजनीतिको आडमा मौलाएको विशाक्त र भ्रष्ट कर्मचारीतन्त्रले, दलाल, माफिया, तस्कर र सफेदपोष अपराधीहरूले, त्यसपछि बिचौलियाहरूले मलजल गर्दै सामान्य किसान परिवारलाई समेत गाँजिसकेको अवस्था छ।
कर्मवीरहरूले आत्महत्या गर्नुपर्छ, अपमानित हुनुपर्छ, भ्रष्टहरू पुरस्कृत हुन्छन् अहिलेको प्रणालीमा। किसानले पाउने अनुदान व्यापारी अनि राजनीति गर्नेले कुम्ल्याउँछन् यहाँ। किसानले दु:ख गरेर उब्जाएको तरकारी र फलफूल बाटोमा मिल्काउनुपर्छ, किसानले उत्पादन गरेको दुध बाटोमा पोख्नुपर्छ यहाँ, पसिनाको भरमा दुई छाक खाने मजदुर वर्गले बाँच्न पुग्ने ज्याला पाउँदैन यहाँ।
योग्यताको मापन हुन छाडेको धेरै भइसकेको छ। पढेर, बुद्धि बेचेर केही गर्छु भन्नेहरू बेलायत, अमेरिका अष्ट्रेलिया भासिएका छन्। सिप र श्रमको उचित मूल्य लिएर जीवन चलाउँछु भन्नेहरू कोरिया, जापान, इजरायल, मलेसिया, खाडी मुलुक भासिएका छन्। सिप नभएका तर पाखुरा र तिघ्रा दह्रा हुनेहरू कालापानीमा गएर पहाड फोरिरहेका छन्। अर्काको युद्ध लडेर भए पनि परिवारलाई मिठो खुवाउँछु भन्नेहरू बेलायती, भारतीय सेना, सिंगापुर, अबुधावी प्रहरी, अफगानिस्तान र इराकमा गएर लडिरहेका छन्। अनि केही गर्न नसक्नेहरू राजनीतिमा लागेका छन्, पुरानो इतिहास भजाउँदैछन्।
हो, यही हो अन्यायको दुश्चक्र। यो विस्तारै विस्तारै हुर्किन्छ। स्वार्थ समूहको दबाबमा पहिले राजनिति बिटुलिन्छ। राजनीति बिटुलिना साथ व्यवस्थापिकामा दलाल, तस्कर, अपराधी, गुण्डा, व्यापारी, लोभी लालचीहरू हावी हुन्छन्। कार्यपालिकामा राजनीतिभित्र हुर्किएका भीमकाय महिसासुरहरू हावी हुन्छन्। तर पनि ती महिसासुरहरूलाई न्यायपालिकाको त्रास हुन्छ।
तसर्थ, व्यवस्थापिकाभित्रका कमजोरीहरूलाई प्रयोग गरेर र निकम्मा कर्मचारीतन्त्रलाई प्रयोग गरेर छिद्रहरूले भरिएको कानुन बनाइन्छ। बिटुलिएको राजनितिले आफूसँगै हिँड्ने कर्मचारीतन्त्रका निकम्माहरूलाई योग्य बनाउँदै माथि उचाल्छ। अनि निकम्मा कर्मचारीतन्त्रबाट कानुन बमोजिम भनेर गराइएका निर्णयहरूका आधारमा न्यायपालिकालाई निर्णय गर्न बाध्य बनाइन्छ।
न्यायालयलाई कमजोर बनाइने कार्यको शुभारम्भसहित संवैधानिक निकायहरूलाई कठपुतली बनाउने उद्देश्यले स्वार्थी राजनीतिक समूहसमक्ष आत्मसमर्पण गरेका निकम्माहरूलाई संवैधानिक नियुक्तिको जामा पहिर्याइन्छ। कर्मचारीतन्त्र निकम्मा, पदलोलुप, भ्रष्ट, नैतिकताविहीन भएपश्चात् विस्तारै जनतामा व्यवस्थाप्रति वितृष्णा पैदा हुन थाल्छ।
त्यही क्रममा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक अंगहरूलाई कमजोर बनाइँदै गर्दा राज्यको चौथो अंगलाई समेत विस्तारै प्रभावमा पार्दै गएर गलत सूचना प्रवाहको माध्यम बनाइन्छ, जसले गर्दा कानुनी राज्य र न्यायिक सर्वोच्चतामा ह्रास आउन गई नागरिक आत्मविश्वासमा समेत ह्रास आउँछ। जसले विद्रोहको वातावरण निर्माण गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्दछ।
तेस्रो चरणको सुरुवात भनेको विद्रोहको वातावरण निर्माणको परिस्थिति निर्माण हुनु हो। विद्रोहले आमूल परिवर्तन ल्याउन सक्छ या सम्झौतामा विद्रोह अन्त्य हुन्छ। आमूल परिवर्तनबाट विद्रोहको अन्त्य भयो भने समाजमा स्थिरता उत्पन्न हुन्छ र समाज समृद्धितर्फ अगाडि बढ्छ। नत्र सम्झौतामा विद्रोहलाई बाँधियो भने फेरि अर्को अन्यायको दुष्चक्रको निर्माणको तयारी सुरू हुन्छ।
(२०८० वैशाख १७ गते प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएका आभुषण तिम्सिनाले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको लेख।)