विचार/ब्लग

अन्यायको दुश्चक्र (भाग-२)

आभुषण तिम्सिना।

लोकतन्त्रको आवरणमा हुर्किएको तानाशाह खतरनाक हुन्छ। लोकतन्त्रको आडमा झांगिएको अन्यायको विषवृक्षले जीवनको अपरिहार्य तत्व अक्सिजन (वायु) र जललाई नै प्रदुषित गर्छ। लोकतन्त्रका मूल्य र मान्यतालाई देखावटी पहिरन पहिर्‍याएर नागरिकमाथि अन्यायको दुश्चक्रको विषाक्त वाण प्रयोग गर्नेहरू वास्तविक तानाशाहहरू भन्दा अराजक, असहिष्णु र आततायी हुन्छन्।

लोकतन्त्र प्राकृतिक न्यायको सिद्धान्तलाई प्राणवायु मानेर तयार भएको न्यायप्रेमी राज्य व्यवस्था हो। यस हिसाबले लोकतान्त्रिक राज्य व्यवस्थाको मुख्य न्यायको मन्दिर भनेको सार्वभौम संसद हो। तर, न्यायको मन्दिर नै अन्यायका संरक्षकहरूको मुठ्ठीमा पर्‍यो भने त्यहाँ स्वतन्त्र भएर बाँच्न कठिन मात्रै होइन, बाँच्ने आधार निर्माण गर्न नै असम्भव हुन्छ।

अन्यायको संरक्षकहरूले यसैलाई हतियार बनाएर अन्यायमा परेका जनताले न्याय माग्न जाने सर्वोच्च स्थान सर्वोच्च न्यायालयलाई लामो समय नेतृत्व प्रदान नगरेर न्यायका मुर्तीहरूलाई नै गलाउने प्रयत्न भएको कुरा सर्वविदितै छ। अन्यायको दुश्चक्रले राज गरेको समयमा आम नागरिकले केबल कसरी खाने, बाँच्ने भन्दाबाहेक सोच्न सक्ने परिस्थिति नै रहँदैन। अन्याय भइरहेको छ भन्ने जानकारी हुँदाहुँदै पनि सामान्य नागरिक त्यो अन्यायको विरुद्धमा आवाज उठाउन नसक्ने अवस्थामा पुग्छन्।

राष्ट्रबाट अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव, विभेद, मत्स्यन्यायको समूल अन्त्य गरेर जनताको सेवा गर्छु भनेर राजनीति गर्नेहरूले दानवको रूप लिन्छन्। दानव राज चल्छ। प्रजातन्त्रको आडमा हुर्किएका दानवहरूको सिङ, जुरो देखिँदैन। मुटु थर्काउने अट्टहास सुनिँदैन पौराणिककालका कथाहरूमा उल्लेखित दानवहरूको जस्तो। प्रजातन्त्रको आडमा हुर्किएका र बलवान बनेका दानवहरूको पहिचान भनेकै भ्रष्टाचार, बेथिति, अन्यायको दुश्चक्रको निर्माण, बेइमानी, पद विपरीतको आचरण हो।

हाम्रो समाज लोकतन्त्रले हुर्काएका नवराक्षसहरूको चंगुलमा फसिसकेको छ। नवराक्षसहरूले पैसाबाहेक अरू कसैलाई चिन्दैनन्। पैसाले पद प्राप्ति गराउँछ, पदोन्नति गराउँछ, योग्यतालाई अयोग्यतामा परिणत गर्छ र अयोग्यको राज्याभिषेक गराउँछ। नैतिकतामाथि अनैतिकताको जित सजाउँछ। ज्ञानको उज्यालोलाई अज्ञानको खग्रास ग्रहणद्वारा श्रापित गराउँछ। यो समाजमा लोकतन्त्रका नवराक्षसहरूको संरक्षणबिना कसैले प्राकृतिक रूपले हुर्किन पाउँदैन। नवराक्षसहरूको संरक्षणका लागि समाजका हरेक व्यक्तिले राक्षसी प्रवृत्ति धारण गर्नुपर्ने आवश्यकता नै भइसक्यो। नवराक्षसहरूको समूहमा छिर्नकै लागि पनि आम नागरिकहरूले राक्षसी प्रवृत्ति धारण गर्नुपर्ने आवश्यकता भइसक्यो।

आज हाम्रो समाजमा हुने अपराधहरूमा आपराधिक मनसाय देखिन थालेको छ र त्यो आपराधिक मनसाय प्राय: अपराधमा आर्थिक उपार्जनको रूपमा स्पष्ट तथ्यांकहरूले देखाउँछन्। पैसाको लागि मन्त्री, सचिव भएकाहरूले अपराध गर्ने हाम्रो समाजमा ठगीका घटना बृद्धि हुँदा के अचम्म मान्नु? नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यका सचिव, मन्त्री भएकाहरू पर्नु, अन्य संलग्न भएकाहरूलाई बचाउन राज्यका ठालु भनाउँदाहरू नाङ्गिएर लाग्नुले यसलाई प्रस्ट्याउँछ।

लोकतन्त्रका नवराक्षसहरूले यहाँका संयन्त्रहरूलाई नै हतियार बनाएर आफूविरुद्ध उठ्ने आवाजहरूलाई निष्प्रभावी बनाइदिन्छन्। लोकतन्त्रका महत्वपूर्ण खम्बा भनेको न्यायालय, संवैधानिक निकायहरू, स्वतन्त्र प्रेस, नागरिक समाज आदि हुन्। तर, लोकतन्त्रका तानाशाहहरूले लोकतन्त्रका खम्बा भनेका यी संवैधानिक खम्बाहरूलाई नै संक्रमित गरिदिन्छन्। न्याय प्राप्ति लामो र खर्चिलो हुन जान्छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूले सानातिना माछालाई समातेर सार्कलाई खुला छाडिदिन्छ। लोकतन्त्रमा जनताको अभिमत संकलन गर्ने जस्तो महत्वपूर्ण कार्य गर्ने निकाय राजनीतिक नेताको स्वार्थमा गठन हुन्छ। प्रेस स्वतन्त्रता समेत स्वार्थ समूहको कब्जामा परेर प्रेस व्यापारिक कारखानामा रुपान्तरित हुन्छ, जसले कालोबजारी, भ्रष्टाचार, अन्याय, सामाजिक कुरीति र बेथितिको विरुद्ध उठाउनुपर्ने तहमा आवाज उठाउन नसक्ने परिस्थिति निर्माण हुन्छ।

राष्ट्र सेवकहरू राष्ट्र दोहनका मतियार अनि विस्तारै जनताका मालिक बन्न पुग्छन्, नागरिक समाजसमेत तमाम विकृति विसंगतिका विरुद्ध आवाज उठाउँदा-उठाउँदा थाकेर ‘यस्तै रहेछ यहाँको चलन’ भनेर चुप लाग्न बाध्य हुन्छ। सबैतिर निराशा मात्रै छाउँछ। कसैले आफ्ना कुकृत्यका बारेमा बोल्न थाल्यो भने उसलाई चुप लगाउन कानुनका छिद्र र स-साना गल्तीहरूलाई देखाएर कारबाही सुरुवात गरिन्छ। जसरी हिजो रवि लामिछानेलाई आत्महत्या दुरुत्साहनको मुद्दा लगाइयो। नागरिकहरूको राज्यप्रतिको विश्वास हराउँदै जान्छ अनि नागरिकहरू लडेर जीवनलाई खतरामा पार्नुभन्दा डिभी, पिआर भरेर देशबाट बाहिरिने अबसरको पर्खाइमा बस्ने कार्यमा लाग्छन्। के आज हाम्रो समाजमा यही चलिरहेको छैन र? छातीमा हात राखेर सोचौं त।

अन्यायको दुश्चक्रले कहाँ गाँजेको छैन? कुन क्षेत्र अन्यायको दुश्चक्रबाट मुक्त भएको पाउँछौं हामी? राज्य संयन्त्रका कुन महत्वपूर्ण निकायले सही काम गरिरहेको पाउनुहुन्छ? कुनै काम सही हुन थाल्यो भने त्यो सही हुने काममा रोकावट तयार पार्न सुरू गरिने प्रचलन भइसकेको छ।

अन्यायीहरूको सिण्डिकेट यति बलियो भइसकेको छ कि आम नागरिक यो अन्यायको सिण्डिकेटपविरुद्ध बोल्यो भने सुरुवातमा उसलाई डर, त्रास देखाइन्छ भिजिलान्तेहरूबाट। त्यतिले पुगेन भने अख्तियारको छानबिनको प्रपञ्च सुरू गरिन्छ, त्यसपछि कानुनका छिद्र खोजेर उसको तेजोबध गरिन्छ। किनकि, यी सबै ठाउँहरूमा त राक्षसी प्रवृत्तिलाई स्वीकार गरेर त्यही आचरणमा ढलेर स्नातकोत्तर उपाधि प्राप्त, विदेशी तालिम अनि स्वदेशी मानपदवी र पदकले सुसज्जित भएर लामो जागिर अवधिमा राक्षसहरूका अवैध चाहनालाई मलजल गर्दै आएका अन्यायीका सम्पूर्ण परीक्षामा पास भएका चेसका गोटीहहरू नै छन्।

लोकतन्त्रले जन्माएका राक्षसहरू महाभारतमा जस्तै द्रोणाचार्यको चरित्रको सहयोग लिएर एकलव्यको बुढी औंला गुरुदक्षिणामा माग्न लगाउँछन्। अनि यी आत्मसमर्पण गरेका द्रोणहरू एकलव्यको बुढी औंला गुरुदक्षिणा माग्न कत्ति पनि हिचकिचाउँदैनन्। यहाँ एकलव्यहरूलाई बुढी औंलाविहीन बनाएर अर्जुनलाई वीर योद्धा बनाउनेहरूको कमी छैन। को कहाँ सहिद हुन्छ होस् तर यिनीहरूका स्वार्थ सहिद हुनु भएन। जनताको घरमा चुल्हो बलोस् कि नबलोस् यिनको घरमा तारे होटलका चौरासी व्यन्जनको लाइन लाग्नुपर्‍यो। यी अन्यायीहरूको अन्यायको विरुद्ध आवाज उठाउँदै एक जना रवि लामिछाने आए। रविलाई यिनले एकमत भएर ठिंगुरामा कस्न खोजे सुरुवातमै आत्महत्या दुरुत्साहनको मुद्दा लगाएर।

रवि लामिछानेले आत्महत्या दुरुत्साहन गरेको देख्ने यी राज्य संयन्त्रले प्रेमप्रकाश आचार्यको केसमा किन आत्महत्या दुरुत्साहन भएको देखेन? निर्वाचन आयोग छ, निर्वाचन आयोगमा करोडौं राज्यको बजेट खर्चेर प्रशासन चलेको छ। निर्वाचनको समयमा उम्मेदवारको नागरिकता सही छ या छैन भनेर जाँच गर्नुपर्ने कार्य कसको? जब रवि जनताको अभिमत लिएर चुनिन्छन्, जब सत्ताधारीहरूले रविले उनीहरूको सोच विपरीत लामो फड्को मारेको देख्छन्। उनीहरूको आँखा खुल्छ। अनि देख्छन् - रविको त नागरिकतै छैन। नागरिकता छ कि छैन भनेर हेर्नुपर्ने निकायले निर्वाचनको उम्मेदवारी दर्तापछि लगत्तै किन हेरेन?

किनकि, यिनीहरूलाई विश्वास थिएन कि रविले निर्वाचनमा उनीहरूलाई पछार्छन्। तर, जब जनताको अभिमत रविले जितेको देख्छन् रविलाई अपराधी सिद्ध गर्न राज्य संयन्त्र लगाइन्छ। तर, रविको जस्तै प्रकृतिका अन्य धेरै मुद्दाहरूमा फैसला रविको जस्तै तीब्र गतिमा किन आउँदैन? रविको मुद्दाको फैसला हुँदै गर्दा रविको नागरिकता रद्द भएको फैसला हुँदै गर्दा किन निर्वाचन आयोगजस्तो संवैधानिक आयोगको असक्षमता देखिँदैन र? किन उच्च नैतिकता र आचरणको अपेक्षा राखिएका आयुक्तहरू रवि प्रकरणपछि आफूहरूबाट कमजोरी भएको भनेर नैतिकताको आधारमा पदबाट राजीनामा दिँदैनन्?

नागरिकताको विषय र विदेशी नागरिकता (डिभी र पिआर) लिएकाहरूमाथि निषेधको राजनीति गरिनु सही हो। तर, किन त्यो रविमाथि मात्रै? किन नेपालका कति जना राजनीतिज्ञ र कर्मचारीहरूले विदेशी (डिभी/पिआर) लिएका छन् भनेर छानबिन गर्ने काम हुँदैन? कति उच्च पदस्थ नेता र कर्मचारीका सन्तानहरू विदेशमा पिआर लिएर बसेका छन् खोजबिन किन हुँदैन? नेपालमा राजनीति गर्ने, जागिर खाने अनि सन्ततीलाई विदेशी नागरिकता लिन लगाउनेलाई देशको माया कति हुन्छ? ऊ देशप्रति र नागरिकहरूप्रति कति जिम्मेवार हुन्छ? ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतलाई प्रमाणित गर्न यो भन्दा अरू के तथ्य आवश्यक छ र? रविमाथि छानबिन हुँदैगर्दा अरुहरूमाथि छानबिन किन हुँदैन?

अन्यायको दुश्चक्रले आफ्ना दाह्रा, नङ्ग्रा तिखारिसकेको छ, अन्यायको दुश्चक्रको खग्रास ग्रहणले हाम्रा सबै संयन्त्रहरूमा लोभीपापीको बर्चस्व कायम गराइसकेको छ। अख्तियारका प्रमुख आयुक्तलगायत सबैजसो आयुक्तहरू नै उच्च नैतिक चरित्र नभएको, भ्रष्टाचारको र अकुत सम्पत्ति कमाएको आरोपमा सजाय पाएको देश हो मेरो। तर, अख्तियार अहिले पनि सोझा निमुखा कर्मचारिलाई भ्रष्ट बनाएर ठूला माछालाई लालनपालन गरिरहेको परिस्थिति छर्लङ्ग देखिएको अवस्थामा यहाँ अन्यायको दुश्चक्रको प्रभाव कति होला भन्ने कुरा सहजै आँकलन गर्न सकिन्छ।

घुसलाई प्रसाद मान्ने प्रचलनको सुदृढीकरण कसरी भएको छ त्यो विस्तारै राखौंला। नेपालको संविधान २०७२ को भाग-२४ मा गरिएको निर्वाचन आयोग सम्बन्धी व्यवस्थामा धारा २४५ को उपधारा (६) को देहाय (घ) मा उच्च नैतिक चरित्र भएको भनेर उल्लेखित गरिएको छ। उच्च नैतिक चरित्र भनेको के हो? यसको व्याख्या नेपालको सर्वोच्च अदालतले लोकमान सिंह कार्कीविरुद्धको मुद्दामा गरिसकेको भए तापनि पुन: एक पटक सम्मानित सर्वोच्च अदालतले हाम्रो संविधानमा उल्लेखित उच्च नैतिक चरित्र भनेको के हो भनेर व्याख्या गर्नुपर्ने आवश्यकता देखेको छु।

विश्वस्त छु हामी नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदान गरेको न्यायिक सर्वोच्चता र कानुनी राज्यको संरक्षक हाम्रो सम्मानित सर्वोच्च अदालतले पुन: सबै नेपालीले बुझ्ने भाषामा व्याख्या गर्नेछ। गीता छोएर सपथ खाएका व्यक्तिहरूले मलाई लाग्छ पदमा रहँदा कसैलाई विभेद नगरी, नेपालको संविधानले उल्लेख गरेका प्रस्तावनामा उल्लेखित विषयहरू र समग्र नेपालको संविधानलाई पूर्ण रूपले ईश्वरलाई साक्षी मानेर पालना गर्नेछू भनेर लिएका हुन्छन्। नैतिक चरित्र भनेको संविधानले उल्लेख गरेजस्तै भेदभावरहित समाज निर्माण गर्ने कार्य, विभेदको अन्त्य गर्ने कार्य, अन्याय र अत्याचारको बर्खिलाप, अन्यायमा परेका नागरिकको हक र हितको संरक्षण गर्ने कार्यलाई मन, बचन र कर्मले पालना गर्नु हो कि होइन?

तर, सार्वजनिक पद धारण गर्नेहरू भुटानी शरणार्थी प्रकरणमा नाङ्गिएको हेर्दा, सरकारका उच्च पदस्थहरू दलाल र बिचौलियाको पछि लागेर नक्कली शरणार्थी बनाएर आफ्नो देश, संविधान र मुलुकलाई त निर्लज्जताको पराकाष्ठा नाघेर ठगे नै, हाम्रो शुभेच्छुक राष्ट्रलाई समेत ठगेर मुलुककै छवि ओझेलमा पारिसक्दा कोही आफ्नालाई जोगाउन लागेका छन् भने कोही आफू त परिने होइन भन्ने डरले आतंकित भएका छन्। जगजाहेर भइसकेको छ कि हाम्रो देशका स्थापित र प्रतिष्ठित भनाउँदाहरूले नै यो मानव बेचबिखनको धन्धा चलाएका हुन्। कोही ‘चोरको खुट्टा काट’ भन्दा तर्सेर बक्तव्यबाजीमा उत्रेका छन्। कोही लैङगिक आधारमा आम संघर्षशील, उत्पीडित, प्रताडित महिलाको नाममा आफूलाई चोख्याउने तानावाना बुन्दैछन्।

प्रजातन्त्रको नाममा यो लुटतन्त्र, जालझेल अनि कपटपूर्ण क्रियाकलापहरू कहिलेसम्म हामी नेपाली नागरिकहरूले चुप लागेर सहिदिनुपर्ने हो? यी आधुनिक राजाहरू नाङ्गै भइसकेको सत्य बोल्न कुन साइत पर्खिनुपर्ने हो? नागरिकहरुले थाहा पाइसकेका छन् कि अन्यायको दुश्चक्रका मतियारहरूले कुनै दिन नेपालीहरुको भागमा गरिबी, भोकमरी, विदेशी ऋण, अशान्ति, गृहयुद्ध छाडेर नेपालको समृद्धि लुटेर विदेशी भूमिमा पलायन हुन बेर लाउने छैनन्। अन्यायको दुश्चक्रका मतियारहरू यहाँ अशान्ति र दासता छाडेर कुनै शान्त, सभ्रान्त मुलुकमा हामीबाट लुटेको समृद्धिले आफ्ना सन्तान दर सन्तानका लागि आलिशान महल बनाई बाँकी रहेको जीवन त्यही महलको खोपीमा बिताउनेछन्।

त्यसैले, अन्यायको दुश्चक्रको कारण आवाजविहीन भएका, अन्यायबाट प्रताडित भएका, मत्स्यन्यायको लोकतान्त्रिक संस्करणको शिकार भएकाहरूको खपतको लागि र अन्यायको दुश्चक्रविरुद्धको नौलो लडाइँमा लाग्ने ऊर्जाको लागि कवि धरणीधर कोइरालाको कविताका केहि हरफहरू ‘जाग जाग अब जाग न जाग, लाग उन्नतिविषे अब लाग;  घोर निद अब त परित्याग, भो भयो अति सुत्यौ अब जाग’ पस्किँदैछु। नेपाल र नेपालीको जय होस्। क्रमश...।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०

प्रतिक्रिया दिनुहोस्