विचार/ब्लग

प्यारा राजारानीको पार्थिव शरीर टुलुटुलु हेर्दै रात काटें

२०५० सालमा वडा प्रहरी कार्यालय दरबारमार्गको इन्स्पेक्टर हुँदा युवराज दीपेन्द्रसँग दसैंको टीका ग्रहण गर्दै।

त्यतिबेला म अपराध महाशाखा हनुमानढोकामा डिएसपीको रूपमा कार्यरत् थिएँ। ठमेलको मुस्ताङ होटलमा एउटा कार्यक्रम थियो।

कार्यक्रमपश्चात् हामी जिल्ला प्रहरी कर्यालय हनुमानढोका र अपराध महाशाखाका १५/२० जनाजति सिनियर अफिसरहरूको खाना खाने तर्खर हुँदै थियो। राति अन्दाजी ८:३० बजेको समयतिर हुनुपर्छ पूर्वतिरबाट गोली चलेको जस्तो मधुरो ड्याम्म … ड्याम्म…  आवाज आयो।

एक जना साथीले भन्नुभयो - गोली चलेको जस्तो आवाज आयो। सबैको कानमा पनि उक्त अवाज गुन्जियो। सबैले गाडीको टायर पडकेको होला भन्ने अनुमान गरे।

सायद मुस्ताङ होटलबाट नारायणहिटी राजदरबारको एरियल दुरी त्यस्तै २०० सय मिटरजति होला। टायर पड्केको भन्ने सबैको अनुमान फेल खायो। त्यसको पाँच मिनेटमै दरबारमा गोली चलेको खबर आइहाल्यो। तर, वास्तविकता के हो बुझ्नु जरुरी थियो।

मेरो एक जना साथी दरबारको नजिकको नातेदार हुनुहुन्थ्यो। मैले उहाँलाई तुरुन्तै फोन गरें। उनले भाव-विवहल हुँदै दरबार घटनाको पुष्टि गरिदिनु भयो। हामी सबैजना खानै नखाई त्यहाँबाट उठेर अफिसतिर लाग्यौं।

मलाई डिआइजी साबले त्यहीँबाट आर्मी हस्पिटल छाउनी जाने र त्यहाँको सबै अवस्था जानकारी गराउने आदेश भयो। म अफिसकै गाडीमा बीचबाटै तुरुन्तै आर्मी हस्पिटल छाउनीतिर लागें। अस्पतालभित्र पुगेर हेर्दा त्यहाँ भयावहको स्थिति थियो। सबैको आँखामा आँशुको बलिन्द्र धाराबाहेक केही थिएन।

राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई राखेको कोठामा डाक्टरहरूको बाक्लो उपस्थिति थियो। तर सब व्यर्थ हुँदैछ भन्ने डाक्टरहरूको भावबाट झल्कन्थयो। युवराज दीपेन्द्रलाई राखेको कोठामा डाक्टरहरूबाहेक अरू कसैलाई छिर्न दिइएको थिएन। त्यसैले, त्यतिबेला युवराज दीपेन्द्रको अवस्था कस्तो छ डाक्टरहरूबाहेक कसैलाई थाहा थिएन।

अधिराजकुमारी श्रुतिको तिघ्राबाट धेरै रगत बगेको देखिन्थ्यो। यसबाट उनको तिघ्रामा गोली लागेको स्पष्ट हुन्थ्यो। तर राजा, रानी र युवराजको तुलनामा अधिराजकुमारिको उपचारमा धेरै कम डाक्टरहरू खटिएको देखिन्थ्यो।

पछि यो कुरा पनि सबैतिरबाट आयो कि केवल तिघ्रामा मात्र गोली लागेको श्रुतिको उपचारमा कम ध्यान दिएकोले धेरै रक्तस्राव भएर मृत्यु भएको भनेर। अस्पतालको यी सबै अवस्थाहरू हेरेर मैले मेरो चेन अफ कमान्डमा सबै कुराको हुबहु रिपोर्टिङ गरें।

राति १० बजे तत्कालीन प्रधानमन्त्री स्व: गिरिजाप्रसाद कोइराला हस्पिटलबाट सबैलाई हेरेर फर्केपछि हस्पिटलभित्र रहेका कसैलाई पनि बाहिर निस्कन दिइएन। त्यसैले, त्यो रातभर मेरो बसाई पनि छाउनीस्थित आर्मी हस्पिटलभित्रै नै भयो। प्यारा राजारानीको पार्थिव शरीरलाई टुलुटुलु हेर्दै।

त्यहाँभित्र राजा-रानीलगायत राजपरिवारका अन्य सदस्यहरूको पार्थिव शरीरलाई पनि हेर्न दिइएको थियो। तर, युवराज दीपेन्द्रको उपचार भइरहेकोले त्यहाँभित्र कसैलाई पस्न दिएको थिएन। भोलिपल्ट एकैचोटि अपरान्ह २/३ बजेतिर जस्तो लाग्छ राजा-रानीको पार्थिव शरीरलाई हस्पिटलबाट पशुपति आर्यघाट ल्याउँदा त्यतिबेला नै एकैपटक सँगै निस्केर आर्यघाट पुगेको आज २२ वर्ष पुगेछ।

तर, अस्तिजस्तो लाग्छ। अझै पनि मेरो मानसपटलमा त्यो घटना घुमिरहन्छ र आँखामा झ-झल्को आइरहन्छ।

(खनाल नेपाल प्रहरीका भूतपूर्व प्रहरी वरिष्ठ उपरीक्षक हुन्।)

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०

प्रतिक्रिया दिनुहोस्