विचार/ब्लग

आजको पुस्ताले बुझ्नै पर्ने उर्मिला

कविता कार्की।

रामायणमा चित्रित एक ओझेलमा परेकी पात्र हुन् उर्मिला। उनी मिथिलाका राजा जनक र रानी सुनयनाकी छोरी हुन्। सीता, हामी सबैको आस्था र पतिव्रता धर्मकी प्रतिमूर्ति, हामीले पढ्दै सुन्दै आएको रामायणको महिला नायिका, उर्मिलाकी जेठी धर्मपुत्री दिदी हुन्। यस अर्थमा पनि सीता र उर्मिलाको पृष्ठभूमि एकै थियो भन्ने बुझ्न सकिन्छ।

उर्मिलालाई रामका भाइ लक्ष्मणकी पत्नी भनेर मात्रै चिनाउने हो भने त्यस पात्रमाथि अन्याय हुन पुग्छ।

खास विषयवस्तुलाई थप पृष्ठपोषण गर्नुअगावै मेरो एउटा प्रश्न आजको समाजलाई : यदि तपाईं स्त्री हुनुहुन्छ र तपाईंको श्रीमान १४ वर्षको लागि घरभन्दा टाढा जाँदै हुनुहुन्छ भने के तपाईं १४ वर्षको अवधिसम्म आफ्नी श्रीमानसँगै बसेर संघर्षमा सहभागी बन्नुहुन्छ कि आफ्ना श्रीमानका तिन सासुहरूको हेरचाह गरेर घरमा बस्न रुचाउनु हुन्छ?

उर्मिला देवी सीताकी कान्छी बहिनी थिइन्। दिदीबहिनीले सानै उमेरमा आमा सुनैना गुमाइन्। तिनीहरूका पिता राजा जनक एक आध्यात्मिक पुरुष थिए। आफ्नी श्रीमतीको मृत्युपछि उनले आफूलाई धार्मिक ग्रन्थहरूमा डुबाए। उर्मिलाको जिम्मेवारी सीताले लिइन्। उनी उनका लागि आमाजस्तै थिइन्।

सीता बहिर्गमन र साहसी हुँदा उर्मिलाको कोमल हृदय थियो। दुवैको बाल्यकाल एकअर्काको साथमै बित्यो। सीताले घोडा चढ्ने र धनुर्विद्याको सिप सिकिन् भने उर्मिलाले खाना पकाउने र औषधिमुलो सिकिन्। सीताले आफ्नो पिताको आधिकारिक व्यक्तित्वको अनुपस्थितिमा सैन्य र विदेशी सम्बन्ध जस्ता बाह्य मोर्चाको नेतृत्व गरिन्। अर्कोतर्फ उर्मिलाले भित्रबाट राज्यको व्यवस्थापन गरिन्, मानिसहरू र उनीहरूका आवश्यकताहरू व्यवस्थापन गरिन्। यसरी दुवैले आ-आफ्नो सिप र विवेकको भरपुर सदुपयोग गरेर आफूलाई अब्बल साबित गरिरहेका थिए।

पछि सीताको रामसँग विवाह भयो। तिनीहरूको विवाहको अवसरमा राजा दशरथले आफ्ना अन्य छोराहरूको पनि विवाह गर्ने उद्देश्य राखेका थिए। उनी जानकका राज्यको मूल्य मान्यता र संस्कृतिबाट धेरै प्रभावित थिए। भनिन्छ यसैकारण उर्मिलाको विवाह लक्ष्मणसँग भयो।

विवाहको सुरूवाती वर्षहरू उर्मिलाले हर्षोल्लास साथ बिताइन्। बाल्यकालमा उनले आमाको मायाको अभाव महसुस गरिन्। तर अयोध्यामा उनको तीन सासुहरू थिए र तिनै जनाले उनलाई छोरीजस्तै व्यवहार गर्थे। मातृत्वको स्नेहबाट बन्चित उर्मिलाले आमाको माया चाहन्थिन् र त्यो माया उनले आफ्ना तिन सासुहरूबाट पाइन्।

यसरी रमाइला दिनहरू बितिरहेको थिए। तर एकदिन रामको वनबासको खबरले अयोध्याको राजपरिवारलाई छिन्नभिन्न बनायो। आँखाभरि आँशु लिएर जब लक्ष्मणले उर्मिलालाई घटनाबारे जानकारी गराएका थिए र आफू पनि रामसँगै जाने योजना बनाएको भन्दै माफी मागेका थिए। उर्मिला स्तब्ध भइन्।

अन्ततः त्यो दिन आयो जब राम, सीता र लक्ष्मणसँगै वनबास जान तयार भए। उर्मिलाका आँखा सुकेका थिए र उनको अनुहार दृढ देखिन्थ्यो। उनले लक्ष्मणलाई राम र सीताको हेरचाह गरेजस्तै उनको आमाबाबुको हेरचाह गर्ने बाचा पनि गरिन्।

यसरी लक्ष्मणले आफ्नी आमाहरूलाई उर्मिलाको हेरचाहमा छोडेर गए भने उर्मिलाले पनि आफ्नी आमाजस्ती सीतालाई उनको हेरचाहमा छाडिन्।

अन्ततः दुवैले आ-आफ्नो कर्तव्य रोजे र इमानदारीतापूर्वक निर्वाह पनि गरे।

भनिन्छ, लक्ष्मणले राम-सीताको सधैं नसुतेरै रक्षा गर्ने बाचा गरेका थिए। तर प्रकृतिको नियम विपरीत कोही चल्न सक्दैनन्। त्यसकारण लक्ष्मणको वनवासको केही दिनपछि निद्रा देवीले उर्मिलालाई लक्ष्मणले लिएको प्रतिज्ञाको बारेमा जानकारी गराउँदै  निद्राले कोही जागा रहन कोही सुत्नुपर्ने भन्दै उर्मिलाले पनि लक्ष्मणको तर्फबाट सुत्नुपर्ने भयो। उर्मिलाले कर्तव्यबोध गर्दै  आफ्ना पति लक्ष्मणको प्रतिज्ञामा उनको साट्टो पनि आफैं सुत्ने कुरा सहर्ष स्वीकार गरिन्।

शास्त्रमा जानकारी भएअनुसार सीतासँग तीन वटा काम एकै पटक गर्नसक्ने बरदान प्राप्त थियो र वनबास जाने क्रममा सीताले त्यो बरदान उर्मिलालाई सुम्पिएकी हुन्छिन्। जसले गर्दा उनलाई एक पटकमा तीन वटा काम गर्न सक्ने शक्ति प्राप्त हुन्छ। उनी एकै समयमा सुतिने, आफ्ना सासुहरूको सेवा गर्ने र आफ्नो दैनिकी पुजाआजा समेत गर्ने गर्थिन्। यसरी उनी १४ वर्षसम्म रातदिन आफ्ना श्रीमान् लक्ष्मणको पनि निन्द्रा पूरा गर्न सुतिरहेकी थिइन् भन्ने जानकारी प्रष्ट दिइएको छ।

इतिहासमा उल्लेखित रामायणका अर्का शक्तिशाली पात्र मेघनाथलाई मार्न रावणलाई मार्न भन्दा मुस्किल थियो भनिन्छ। जब लक्ष्मण र मेघनाथबीच युद्धको आरम्भ भएको थियो त्यतिबेला मेघनाथलाई मार्न असम्भव जस्तै देखिन्थ्यो।

इन्द्रलाई समेत जितेको हुनाले मेघनाथलाई इन्द्रजित पनि भनिन्थ्यो। त्यस्ता वीर पराक्रमी योद्धा मेघनाथलाई मार्न १४ वर्षसम्म कुनै पनि स्त्रीलाई नदेखेको ब्रम्हचार्य १४ वर्षसम्म भोजन नगरेको अनि नसुतेकोले मात्र मार्न सक्थ्यो। अन्ततः लक्ष्मणले सो कार्य गरेको हुनाले मात्रै शक्तिशाली मेघनाथलाई मार्न सकेका थिए।

यसरी मेघनाथको हारपछि उनकी पत्नी सुलोभना उनको टाउको लिन आइन्। उनले लक्ष्मणलाई यो जितमा धेरै गर्व नगर्न भनिन् किनभने उर्मिलाको बलिदान नभएको भए उनले मेघनाथलाई छुन सक्ने थिएनन्। यसबाट पनि प्रष्ट हुन्छ, यदि उर्मिलाले आफ्नो धर्म कर्तव्यबोध नगरिदिएको भए आज रामायणको कथा अन्यत्रै मोडिन्थ्यो होला।

यसरी रामायणको कथामा उर्मिलाको सानो भूमिका भए तापनि  उनको बलिदान अतुलनीय थियो। सोही दिन उनले श्रीमान् लक्ष्मण र आमातुल्य दिदी सीता दुवैको साथ गुमाइन्। यद्यपि, विपत्तिको समयमा मात्र साँचो नायकहरू उठ्छन् भने झैं उनले समयको आवश्यकता बुझिन् र सोही अनुसार निर्णय गरिन्।

रामायणमा उर्मिलाको योगदान साँच्चै प्रशंसा योग्य र अतुलनीय छ जसलाई ऋषि वाल्मिकीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। आफ्नो पति र परिवारप्रति उनको भक्ति प्रशंसा योग्य मात्र होइन तर उदाहरणीय छ। यही कारणले गर्दा उनलाई रामायणको 'उत्कृष्ट नारी' भनेर सम्बोधन गरिन्छ।

यसरी अहिलेको पुस्ताबीच जति लोकप्रिय सीता-रामको कहानी बनेको छ, त्यति नै उर्मिलाको समर्पण र बलिदानको कदर पनि अहिलेको पुस्ताले गर्नुपर्छ।

समष्टिमा उर्मिलाको भूमिकाले एउटी महिलाको सहनशीलताको दायरा कति फराकिलो हुन्छ र आफ्नो सहयात्रीको सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष उनको कति ठूलो भूमिका रहन्छ भन्ने कुराको पाठ सिक्न सकिन्छ। यस अर्थमा पनि अहिलेको पुस्ताले बुझ्नै पर्ने योगदान उर्मिलाको देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०

प्रतिक्रिया दिनुहोस्