विचार/ब्लग

आँखा पाक्ने रोगले सतायो? यस्तो विधि अपनाउनुस्

डा. मीना कुँवर।

अहिले नेपालमा आँखा पाक्ने रोगले धेरै मानिसहरूलाई सताएको छ। यो भाइरलको रूपमा फैलिइरहेको छ।

कतिपय ठाउँमा आँखा पाक्ने रोगको महामारी फैलिने त्रासले विद्यालयहरू बन्द गरिएको अवस्था पनि छ।

आँखा पाक्ने रोग धेरै कारणले हुन्छ। साधारणतया यो भाइरस ब्याक्टेरियाले गर्दा हुन्छ। क्लिनिकल्ली हेर्दा अहिले नेपालमा फैलिएको आँखा पाक्ने रोग कन्जन्टीभाइटिसले गर्दा हो। कन्जन्टीभाइटिसको साथमा ब्याक्टेरिया पनि जोडिएर आएको देखिन्छ।

यसले सबै उमेर समूहका मानिसहरूमा आँखा पाक्ने रोग देखिएको छ। बच्चा-बृद्धबृख्धा सबैमा उमेर समूहमा आँखा पाक्ने रोग छ।

आँखा पाक्ने रोगको लक्षण सुरूमा आँखामा अफ्ठ्यारो हुन्छ। आँखा चिलाउँछ। आँशु बग्न थाल्छ र आँखा बिझाउन थाल्छ।

त्यसपछि विस्तारै रातो हुन्छ र आँखाको नशा सुन्निन्छ। यसपछि आँखाको ढकनी चलाउँदा बिझाउँछ, आँशु आउँछ।

बिहान उठ्दा आँखा उघार्न गाह्रो हुन्छ। चिप्राले गर्दा परेला टाँसिने भयो।

आँखा सुन्निने, ढकनी सुन्निने र कसैकसैलाई यो भाइरल धेरै छ भने रुघाखोकी र ज्वरोसम्म आउने हुन्छ। तर, आजसम्म हामीले त्यस्तो भेटेका छैनौं। आँखामा मात्रै सीमित देखिएका छौं।

जनमानसमा हल्ला छ- आँखा पाकेको व्यक्तिको आँखामा हेरें भने सर्छ। त्यो हैन, गलत हो। यसको सर्ने दुई वटा प्रक्रिया छन्।

पहिलो, आँखा पाकेको व्यक्तिले आँखा छोएर हातले अर्को ठाउँमा छोइदियो र त्यो ठाउँमा अर्को व्यक्तिले छोएर आँखामा छोयो भने सर्छ।

अर्को, रुघा वा खोकी लागेको छ भने हाच्छुँ गर्दा बोल्दा कण निस्किन्छ त्यसबाट सर्ने हो।

यति दुई वटा माध्यममा सावधान हुन सकियो भने मात्रै पनि आँखा पाक्ने रोग रोकथाम हुन्छ।

यसका लागि बिरामीले एकदमै हात धोइरहने गर्नुपर्छ। आँखामा छुन हुँदैन। छोएपछि हात धुनुपर्छ। घरका मानिसहरूले साबुन पानीले बेला-बेला हात धोइरहने गर्नुपर्छ।

बिरामीले प्रयोग गरेको रुमाल, ओछ्यान प्रयोग गर्न हुँदैन। आँखालाई बरफले सेक्नुपर्छ। दिनमा दुई-तीन पटक बरफले सेके आँखामा हुने रातो भागको मात्रा कम हुँदै जान्छ।

एकदमै गाह्रो भयो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ।  

आँखा पाक्ने रोगलाई नियन्त्रण गर्न झोल चिजहरू खाने गर्नुपर्छ। कागती पानीको साथै अन्य झोल चिजहरू खायो भने विस्तारै हट्दै जान्छ।

घरपरिवारमा सावधानी अपनाउन जरुरी छ। धेरै प्रयोगमा चिजहरूलाई कपडाले पुस्ने, सेनिटाइज गर्नेलगायतका सफाइ गर्ने उपाय अवलम्बन गर्नुपर्छ। जस्तो, ढोका उघार्ने-बन्द गर्ने गरिरहनुपर्ने हुन्छ, त्यसमा बिरामी पनि सक्रिय भइरहने हुनाले सरसफाइ गर्ने, सेनिटाइज गर्ने गरिरहनुपर्छ।

आँखा पाक्ने भाइरसको समय हुन्छ। यो पाँच-सात दिनपछि आफैं हट्दै जान्छ। तर, केही समस्या भयो र गाह्रो पारेको छ भने चिकित्सककहाँ आउनुपर्छ। नानीमा स-साना घाउ हुनसक्छ। माथि र तलको ढकनीमा सेतो लेयर बस्न सक्छ। त्यसलाई निकाल्नुपर्ने र औषधी गर्नुपर्ने हुन्छ।

भाइरसको औषधी छैन। ड्रपहरू हाले निको हुन्छ भनी एन्टी ब्याक्टेरिया प्रयोग गरेको पाइन्छ। औषधी हाल्दैमा निको हुन्छ भन्ने छैन।

कुँवर एपिएफ नेपाल अस्पताल बलम्बुमा कार्यरत् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हुन्।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०

प्रतिक्रिया दिनुहोस्