विचार/ब्लग

लैंगिक हिंसा अन्त्य भएपछि श्रीमान्-श्रीमती आत्मनिर्भर बन्न थाले

विराटनगर महानगरपालिका-६ मंगलुवा टोलकी २४ वर्षीया रेखा पासवान र २६ वर्षीय उनका श्रीमान सुरज पासवान अनि २६ वर्षीया तुलसी पासवान र २९ वर्षीय श्रीमान चन्दन पासवानको पहिले सधैं झगडा परिरहन्थ्यो। सधैं हुने घरेलु झगडाले गर्दा रेखा र तुलसी हिँसा सहन बाध्य थिए भने  उनीहरूका श्रीमानको रोजगार पनि भर्दो हुन सकेको थिएन।

तर, आजकल उनीहरूको घर झगडा हुन छाडेको छ। श्रीमानहरूले  भरपर्दो रोजगार पनि थालेका छन्। रेखा मासु पसल चलाउँछिन् भने उनका श्रीमान सिटी रिक्सा कुदाउँछन्। श्रीमतीलाई सघाउँछन्। यस्तै, तुलसीले कपडा व्यापार गर्न थालेकी छन्।

विराटनगर भट्टाचोककी २८ वर्षीया पुनम साह आजकल ब्युटीपार्लर चलाउँछिन्। उनका श्रीमान जयप्रकाश नास्ता पसल गर्छन्। सोही ठाउँकी २५ वर्षीया माला खातुनले पसल खोल्ने तयारी गरिरहेकी छन्। पहिले बेराजगार बस्न रुचाउने उनका श्रीमान ३२ वर्षीय सिकन्दर मियाले  सिटी चलाउन थालेका छ। पहिले सधैं आपसमा झगडा गरिरहने यी दुबै दम्पतीहरू आजकल छोराछोरीलाई पालो-पालो स्कुल लाने-ल्याउने पनि गर्छन्।

माथि प्रस्तुत भएका रेखा र सुरज, तुलसी र चन्दन अनि पुनम, जयकाश, माला र सिकान्दरको जोडी प्रतिनिधिमुलक मात्र हुन्। उनीहरूजस्तै सधैं झगडा गरिरहने तर पछि आपसी विश्वास बढेर रोजगारमा उत्प्रेरित भएका र भइसकेका  युवा दम्पतीहरू अरू पनि धेरै छन्।

तर, यो सबै त्यतिकै भएको होइन। यसमा विराटनगरमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले समुदायमा हुने हिंसा अन्त्य गर्न सञ्चालन गरिरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गर्दा सम्भव भएको हो। कोकनले विराटनगर महानगरको ६ र १५ नम्बर वडामा विगत डेढ वर्षदेखि २९ वर्षसम्मका युवा जोडीहरूलाई सहभागी गराएर  भइरहेको घरेलु हिंसा अन्त्य गराउने अभियान सञ्चालन गरिरहेको छ। जसले गर्दा विवाहित जोडीहरूमा हुने झै-झगडा कम भएपछि महिलाहरूले पनि सामाजिक र शारीरिक हिंसा भोग्नुपर्ने बाध्यता हटेको छ।

आफ्ना समस्याहरूमा निरन्तर सामुहिक रूपमा छलफल गर्न थालेपछि उनीहरूमा आत्मविश्वास बढेर रोजगारतर्फ अग्रसर हुन थालेको र सेवा प्रदायक सरोकारवालाहरूकोमा पनि जान सुरू गरेको सामुदायिक स्वयंसेवकहरू  उदीप मण्डल र ईश्वरी खड्का बताउँछन्।

अभियानमा सहभागी हुन थालेपछि श्रीमानहरूमा झुठो बोल्ने बानी हटन थालेको र आपसमा समझदारी बढेको विराटनगर-६ की २६ वर्षीया रविना पासवान बताउँछिन्। पहिले सधैं शंका गरेर गालीगलौज गर्ने र घरबाट कतै जान नदिने रविना आजकल घरबाहिर निस्केर हाटबजारमा व्यापार गर्न थालेकी छन्।

सुकुम्बासी टोलका सञ्जिता साह र दीपक साह अनि सुरज पोद्दार र सरिता पोद्दार पनि घरेलु हिंसा अन्त्यबारेको छलफलमा सहभागी छन्। आफूहरूले पनि धेरै कुरा बुझ्न-जान्न पाएकोले अन्याय सहनु हुँदैन र आफैं आत्मनिर्भर बन्नुपर्छ भन्ने आत्मविश्वास बढाएको उनीहरू बताउँछन्। उनीहरूका अनुसार लैंगिक हिंसा अन्त्य गर्ने छलफल अभियानले जोडीहरूमा  काममा साभेदारी गर्नुपर्छ भन्ने भावना पनि बढेको छ। साथै महिलाले घरमा बसेर छोराछोरीको हेरचाह गर्दै घरधन्दा मात्र गर्नुपर्छ भन्ने गलत सामाजिक मान्यता पनि हट्दै गएको छ।

यति मात्र हैन, छलफलमा सहभागी भएका २० जोडीहरूले आफ्नो समाजमा हुने घरेलु हिँसा, बालविवाह र जातीय विभेद अन्त्य गराउन पनि सहयोग गर्न थालेका छन्। घरछिमेकमा घरेलु हिंसा भयो भने प्रहरी र सेवाप्रदायक निकायहरूलाई उनीहरूले सूचना पनि दिने गरेका छन्। 

स्वयंसेवक मण्डलका अनुसार विराटनगर ६ र १५ मा रहेका २९ वर्षसम्मका विवाहित २० जोडीहरू नजिकै रहेको विद्यालय, मन्दिर वा सामुदायिक केन्द्रमा हरेक हप्ता बिहान ६ देखि ८ बजेसम्म भेला गर्छन्। छलफलमा सहभागी हुँदा केही रकम पनि प्राप्त हुने भएकोले दुई घण्टाका लागि जोडीहरू खुसी हुँदै आउँछन्। जोडीहरू भेला भइसकेपछि पहिले महिला र पुरुष स्वयंसेवकहरूले महिला र पुरुषसँग अलग-अलग कुराकानी गरेर समस्या बुझ्छन्। त्यसपछि  विभिन्न अतिरिक्त्त क्रियाकलाप र चित्रहरूबाट घरेलु हिंसाका बेफाइदाबारे बुझाउँदै जीवनउपयोगी शिक्षा पढाउँछन्। जसले गर्दा विस्तारै पहिले हिंसामा संलग्न जोडीहरूमा परिवर्तन आउन थाल्छ र नेतृत्व पनि  विकास हुन थाल्छ।

खराब सामाजिक मूल्य-मान्यताले गर्दा समुदायमा हुँदै आएको लैंगिक हिंसालाई अन्त्य गराउन अभियान सफल हुँदै गएको फिल्ड संयोजक अशोक थापा बताउँछन्। उनका अनुसार जबसम्म समुदायभित्रै छिरेर समस्या पहिचान गरी समाधानको पहल गरिँदैन, तबसम्म समाजमा भित्री रूपमा हुँदै आएको लैंगिक हिंसा अन्त्य गर्न सम्भव छैन। उनी लैङगिक हिंसा अन्त्य गराउनका लागि सबै पालिकाहरूले वडा कार्यालयहरूमार्फत् टोल-टोलमा अभियानहरू सञ्चालन गर्नुपर्नेमा जोड पनि दिन्छन्। भन्छन्, ‘लैंगिक हिंसा बाहिरी रूपमा न्यूनीकरण भए पनि सीमान्तकृत समुदाय र गरिबहरूमा कायमै छ। यसैले पनि समुदायभित्रै छिरेर हिंसा अन्त्य गराउने अभियान प्रभावकारी हुन्छ।’  

अभियानका संयोजक कृष्णकुमार राईका अनुसार समुदायमा हुँदै आएको हिंसा अन्त्य गराउन संयुक्त्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना सञ्चालनमा आएको हो। यो परियोजना अनुसार सञ्चालन भएको अभियानले लैंगिक विभेद र हिंसाले पीडित महिला र पुरुष मात्र नभएर उनीहरूको परिवार अनि सेवा प्रदायकहरूसँग संवाद गरेर समस्या समाधान गराउने गर्दछ। यसका लागि संस्थाबाट खटिएका सामुदायिक स्वयंसेवकहरूले सहजीकरण गरिदिन्छन्। जसले गर्दा महिला र युवा जोडीहरूले न्याय दिने निकायहरू न्यायिक समिति, वडा कार्यालय, जनप्रतिनिधि, प्रहरी, स्वास्थ्य स्वयंसेविका, शिक्षक, स्वास्थ्यकर्मी, अस्पताल, संकट व्यवस्थापन केन्द्र, पुन:स्थापना गृह,लैंगिक हिंसा कोषदेखि भएका आधारभूत कानुनहरूबारे पनि जानकारी पनि प्राप्त गर्दछन्। यसैले, उनीहरूले गाउँघरमा हिंसा भएमा सूचना दिने मात्र हैन, आफैं अघि सरेर सहजीकरण पनि गरिदिने गरेका छन्।

जनसंख्या स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा १५ देखि ४९ वर्षका ५ जना मध्ये १ जना महिलाले प्रत्यक्ष हिंसा भोग्छन्। ४ जनामध्ये १ जनाले श्रीमानबाट कुटाई खान्छन्। एक सयमा ३१ जना पुरुष श्रीमती कुटनुपर्छ भन्ने चाहन्छन्। हिंसा भोगिरहेका ६६ प्रतिशत महिलाहरूले प्रतिरोध नै गर्दैनन्।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०

प्रतिक्रिया दिनुहोस्