विचार/ब्लग
दसैंमा ठिक्क खाऔं, शरीरलाई स्फूर्त राखौं (भिडिओ ब्लग)

दसैं सुरू भइसकेको छ। हाम्रो सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको चाड, यसमा मिठो-मिठो खानेकुराको जोरजाम हुन्छ। परिवार भेटघाट भएर खाने हुन्छ, आराम गर्ने हुन्छ।
कहिलेकाहीँ खानेकुरा अलि धेरै नै खाइन्छ र स्वास्थ्यको लागि त्यति राम्रो हुँदैन। तैपनि, हामी वर्षमा एकपटक आउने चाडमा हामी धेरै रमाइलो गरेर खान्छौं। कतिले धेरै मासु खान, कतिले धेरै गुलियो खान, कतिले धेरै मद्यपानमा पनि जोड दिन्छन्।
चिल्लो, गुलियो, मध्यपानजस्तो कुरा अत्याधिक सेवन गर्दा हाम्रो शरीरलाई राम्रो हुँदैन। त्यसमा पनि एकदमै धेरै आराम गर्ने वातावरणमा हामीले धेरै खानपान गर्नु राम्रो होइन। चार दिन मात्र खाएर धेरै असर नपर्ला तर यसको बानीजस्तैले चाहिँ अरूबेला पनि हामीलाई असर पर्न सक्छ। तसर्थ, यो बेलामा रमाइलो गरौं, परिवारसँग बसौं, राम्रो-राम्रो काम र कुरा गरौं, शारीरिक व्यायाममा ध्यान दिऔं। तर, खानेकुरा अत्याधिक मात्रामा मासु, चिल्लो पदार्थ, गुलियो, गुलियो पेय पदार्थ, मद्यपानलाई ध्यान कम दिऔं। अथवा, यसलाई ठिक्क मात्रामा खाऔं।
यो दसैंमा रमाइलो गर्न सकिने अरू पनि सायद होला। शारीरिक व्यायाममा हरेक दिन बिहान मन्दिर जाने निहुँमा होस् अथवा परिवारसँग हिँड्ने निहुँमा होस्। यस्तो रमाइलो वातावरणमा बिहान आधी-एक घन्टा हिँडेर आउँदा एकदम स्फूर्ति बढ्न सक्छ। कुनै शारीरिक खेलकुद हुन सक्ने खालको खेल खेल्यौं भने अझ राम्रो हुन सक्छ। केटाकेटीहरूसँग रमाउने बेलामा के-के कुराहरू शारीरिक व्यायाम हुने खेल हुन सक्छ? जस्तै भलिबल, फुटबल, ब्याडमिन्टन, टेबलटेनिस हुनसक्छ भने खेलौं। साइकल चलाउन सक्छौं भने चलाऔं। पौडी खेल्न सकिन्छ भने त्यो पनि गरौं।
र, अन्त्यमा दसैं उल्लासमय मनाउने बेलामा खानपानलाई अलि ध्यान पुर्याएर शारीरिक व्यायाममा जोड गर्यौं भने यो दसैं एकदमै रमाइलो हुन्छ। सँगसँगै पढ्न रुची हुनेले पढ्ने कुरा छ, लेख्न मन पर्नेले लेख्ने कुरा छ। सांस्कृतिक कार्यक्रममा भाग लिनेले सांस्कृतिक कुरामा भाग लिँदा हुन्छ। र, कसैले यो दसैंबाट म एउटा यस्तो स्वस्थ जीवनयापनको शैली अपनाउँछु भनेर निर्णय गरेर यहाँबाट शरीरलाई स्फूर्त राख्ने कोसिस गर्यौं भने सायद दसैंपछि हाम्रो स्वास्थ्य अझ राम्रो हुन सक्छ।
(कोजु काठमाडौं विश्वविद्यालयका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)