विचार/ब्लग

‘रंगशाला काण्ड’ र नेपाली खेलकुदको वृत्तान्त

सानोमा ‘रंगशाला काण्ड’को विषयमा थुप्रै कुरा सुनेको थिएँ। घरमा काका-बुवाहरूले मात्र होइन, चोकमा चियाको चुस्कीसँगै ‘मण्डले’हरूले रंगशालाको ढोका थुन्दा सयौं नेपालीको ज्यान गयो भन्ने वाक्य मेरो कानमा परेको थियो। गाउँमा सुनेको यही कुरालाई मैले सत्य मान्दै आइरहेको थिएँ।

तर, अग्रज पत्रकार, कुनै बेला मेरो सम्पादकसमेत रहेका दाजु नवीन अर्याल नेपालकै पहिलो अनुसन्धानात्मक खेलकुदको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ लिएर केही महिनाअघि झुल्किनु भयो।

उहाँको अभूतपूर्व क्षमताको म मात्र होइन, मेरा समकालीन सबै पत्रकारहरू जानकार छन्। तर, यो किताब पढेपछि नवीन अर्यालको अर्को पक्ष पनि उजागर भएको छ। कुनै पनि विषयवस्तुको चुरोसम्म पुगेर लेख लेख्नु उहाँको विशेषता हो। फेरि, कुनै लोभ र प्रभावमा नपरी आफ्नो कुरा स्पष्ट राख्न सक्नु उहाँको अर्को परिचय हो।

‘नेपाली खेलकुदको वृत्तान्त’ पढ्दै जाँदा मेरो आँखा टक्क अडिएको ठाउँ पनि ‘रंगशाला काण्ड’ नै थियो। लेखकले पूरै अनुसन्धान गरेको यो शीर्षकको लेख पढेपछि करिब तीन दशकदेखि गाउँलेहरूको कुरा सुनेर मैले बनाएको धारणा परिर्वतन भएको छ।

भवित्वय त्यो घटना विश्वको छैटौं ठूलो दुर्घटना भएको थाहा पाएपछि मेरो मनमा एउटा कौतुहलता जागेर आएको थियो। सीमित स्रोत र साधन भएको पञ्चायतकालमा सरकारले कसरी यो घटनाको छानबिन गर्‍यो होला? तर किताब पढ्दै जाँदा सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको संयोजकत्वमा सरकारले छानबिन तथा सुझाव समिति गठन गरेको रहेछ। र, यही समितिले दिएको सुझावको आधारमा थुप्रै परिवर्तनका काम भएको र खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र फुटबल संघका अध्यक्षले राजीनामा गर्नु परेको तथ्यलाई उजागर गरिएको छ।

अझ, दुर्घटनामा ज्यान गुमाएका सबैको नाम सार्वजनिक गरेर लेखकले आफ्नो क्षमताको परिचय दिनुभएको छ।

नेपालमा खेलकुद नरुचाउने को व्यक्ति होला? म पनि खेलकुदको पारखी हुँ। कहिलेकाहीँ अखबारको पानामा न्यूज पढ्दै जाँदा त्यसको सुरुवात कसरी भएको होला? यो जान्ने कौतुहलता सधैं मेरो मनमा हुन्थ्यो। नवीन अर्यालको यो पुस्तकमा तिथि–मितिसहित घटनालाई प्रमुखताका साथ सिलसिलावद्ध रूपमा प्रकासित गरिएको छ। यो हामीजस्ता खेल पारखीका लागि ठूलो पूँजी हो।

लेखकले खेलकुदको प्राविधिक पक्षभन्दा पनि साहित्यलाई छानेको देखियो। यो लेखनको विशेषता पनि हो। यसले गर्दा खेलकुदमा रुची राख्ने तर खेलकुदको प्राविधिक पक्ष नबुझेका पाठकहरूका लागि पनि उत्तिकै उपयोगी छ। 

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भारतको नयाँदिल्लीमा भएको पहिलो एशियन गेम्सबाट सुरू गरेको रहेछ। २००७ सालको क्रान्तिपछि नेपाली जनताले विश्व रंगमञ्चमा पाइला टेकेको पहिलो घटना नै यही हो। सन् १९५१ मा नयाँ दिल्लीमा पहिलो एशियन गेम्समा सहभागी हुँदा नेपालमा प्रजातन्त्र स्थापना भएको १४ दिन मात्र बितेको थियो। यति थोरै समयमा कसरी नेपालले तयारी गर्‍यो र नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो? यी सबै कुरालाई लेखकले विस्तृत रूपमा व्याख्या गर्नुभएको छ। नेपालमा कुनै कुराको रेकर्ड नभएको अवस्थामा लेखकले भारतमै गएर अध्ययन गर्नुभएको रहेछ। यसले हामी पाठकलाई ठूलो गुण लगाएको छ।

नेपालले कस्तो अवस्थामा पहिलो ओलम्पिकको सुरुवात गर्‍यो? जापानसँग हाम्रो दौत्य सम्बन्ध स्थापित गर्न खेलकुद कसरी सहयोगी बन्यो? म्युनिख ओलम्पिकमा इजरायली खेलाडीको हत्या हुँदा नेपाली खेलाडीमा परेको मानसिक पीडालाई लेखकले मज्जाले प्रस्तुत गर्नुभएको छ।

अझ, जितबहादुर केसीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताउँदा के-के घटना भएको थियो, त्यसलाई पनि लेखकले राम्रोसँग व्याख्या गर्नुभएको छ। एशियन गेम्समा नेपालले पदक जित्न गरेको मेहनत वास्तवमै लोभ लाग्दो छ। किन शरदचन्द्र शाहको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णिम युग भनिन्छ? नेपाली खेलकुदको इतिहासलाई नजिकबाट नियाल्न खोज्ने व्यक्तिहरूका लागि वास्तवमै यो पुस्तक निकै उपयोगी छ।

किताबमा ‘फुटनोट’देखि पुरानो दस्ताबेज र फोटोहरू भरपुर छन्। यसले किताबलाई थप खँदिलो बनाएको छ। किताब जुन मेहनतका साथ लेखिएको छ, यसले यो किताब स्कुल तथा विश्वविद्यालयमा पढाइ गर्न योग्य भएको प्रमाणित गर्छ। यसैले हुनुपर्छ, नेपाली पत्रकारिताका गुरू पी खरेलले नवीन अर्यालको यो पुस्तकलाई नेपाली खेलकुदको कोशेढुंगा भन्नुभएको छ। उहाँले खेलकुदमा पिएचडी गर्नेहरूका लागि यो पुस्तक अनिवार्य सोधको विषय बन्ने बताउनुभएको छ।

र, अन्त्यमा लेखकले आफ्नो मन्तव्यमा भन्नुभएको छ, ‘मेरो यो पुस्तक राणाकालदेखि पञ्चायतकालसम्मका दस्तावेज हो।’ यसको अर्थ लेखक अर्को पुस्तकको पनि तयारीमा हुनुहुन्छ। शुभकामना छ, लेखकलाई। 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०

प्रतिक्रिया दिनुहोस्