विचार/ब्लग

घुर ताप्ने भुइँ तहका जनताको सरोकार

सत्येन्द्र लाल कर्ण।

जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ।

मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ। अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्य आम मधेसीहरूको जीवनको एउटा प्रमुख हिस्सा र मुद्दा बनेको छ। कोही-कोही महिला र पुरूष, बालबालिका बृद्धबृद्धा र युवायुवतीहरूले मैलो झुत्रे, च्यातिएको, जिउसमेत छोप्न नसक्ने तथा शीतलहर र जाडो छल्न नसक्ने खालका मलिन पहिरनमा जब घुरासामू बस्दछन् र आफ्नो जिउलाई तताएर जिउधनलाई संरक्षण गर्न खोज्दछन्, तब तिनीहरूको भविष्यको बारेमा चिन्ता गर्ने कुनै सरोकारवालाहरूले तिनीहरुको बारेमा के सोच्दछन् र के गर्दैछन् भन्ने कुरातिर ध्यानाकर्षण हुनुलाई मानवीय स्वभाव नै मान्न सकिन्छ।

घुरा ताप्दै बस्दै गरेका र आफ्नो ढाड सेक्दै गरेका समूहहरूले जिउ तताउने, तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका ज्ञान र गुणलाई घुरा वरिपरि बसिरहेका सहभागीहरूसँग सहजीकरण गरिरहेको भेट्टाउन सकिन्छ। जीवनका सुख-दु:खहरू एक-अर्कासँग साट्ने ठाउँका ‘घुर’निर बसेका सेवाग्राही पात्रहरू अनौठो किसिमबाट आफ्नो मनको पीडा र दु:ख-सुखहरू साटासाट गरिरहेका भेटिन्छन्। विपन्न र सम्पन्न सहभागीहरूले त्यसबारे आ-आफ्नो प्रतिक्रियाहरू जनाउँदछन्। कसैको घरको भान्सामा कसले भात पकाउँछ, कसले गाई चराउँछ, कसले भैंसी चराउँछ, कसलाई हलो जोत्न आउँछ, कसका छोराछोरीहरू विदेश गएका छन् आदि इत्यादि प्रसंगहरूमा खुलस्त रूपमा बहस हुन्छ। त्यति मात्र हैन, घुर ताप्नेहरूले ठाउँका ठाउँ घर झगडा मिलाउने, घर झगडा लगाउने, अंशबण्डा गर्न लगाउने, सासु-बुहारीको कुरा मिलाउने, छरछिमेकमा कोही बिरामी भए त्यसलाई उपचार गराउने लगायतका सामाजिक कार्यहरुको बाँडफाँट गर्ने उत्तरदायित्व पनि घुरा ओगटेर बस्ने त्यहाँका ठूलाबडाहरूकै सरोकारको विषय हुन्छ।

घुरा नजिक बस्दै नबस्ने र घुर सल्काउन नजान्ने व्यक्तिहरू घुरा प्रेमी समाजको आँखाको कसिङ्गर बन्न बेर लाग्दैन। संसदभित्र जसरी शून्य समयमा सांसदहरूले देश र जनताका समस्याहरू उठाउन चासो लिएका हुन्छन्, त्यसरी नै घुर छेउमा दोसल्ला ओढेर घोसे मुन्टे लागाएर कठ्याङग्रिँदो जाडोबाट बच्न ओत लागेका झुर गरिबहरूले पनि हाकाहाकी घुरा ताप्ने सामन्तहरूसँग सवाल-जवाफ गर्न पाउँछन्। घूरा ताप्नेहरूले कुनै किसिमको हडबड नगरी फुर्सदिलो मनले घुराभित्रको ताप त उर्जालाई आफ्नो जिउको रगत त नशा-नशामा महसुस गर्दछन् र मनभित्रका उकुसमुकुस र समाजभित्रका थिचोमिचोलाई बडो निडर मनले उठाउँदछन्। घुरा फुक्दै र खोतल्दै बडो आनन्दसँग सबै उमेर, तह त तप्काका उर्जाशील प्राणी समूह र समुदायसँग भलाकुसारी गरेर रमाउँदछन् तथा प्रशिक्षण प्राप्त गर्दछन्। समाजको भावी घटना र भवितव्यहरूलाई पर्दाफास गर्दछन्। सरकार नालायक भएकोमा दुखेसो र आक्रोश पोख्दछन्। घुर दन्किरहँदासम्म घुरा ताप्नेहरूको धित मर्दैन तर घुराको आगो निभ्नेवित्तिकै सबै घुरा प्रेमीहरू आ-आफ्नो ठाउँमा फर्किन्छन्। यो एउटा नियमित प्रक्रियाझैं जाडोयामभरि सधैं चलिरहन्छ।

कहिलेकाहीँ घुरबाट सल्केको आगोले घुरा ताप्नेहरुको लुगाफाटो पनि जल्न सक्छ। घर र गाई गोठमा आगलागीका घटनाहरू हुने जोखिम पनि रहन्छ। सतर्कता नगरे ठूलो धनजनको हानी पनि हुन सक्ने घटनाहरू घटिरहन्छन्। तर, प्राय:जसो घुरा ताप्ने कार्यलाई निरन्तरता दिइरहनेहरूले कुनै किसीमको आर्थिक नाफा नोक्सान हुन्छ भन्ने ठान्दैनन्। घुरा ताप्नु निरर्थक कार्य हो, यसले मानिसलाई निष्कृय र अल्छी बनाउँछ। यसले अरूको डाहा गर्ने, खेदो गर्ने र कुरा काट्ने कार्य मात्र गर्दछ। घुरा ताप्नेहरूको संगत गर्दा असल संस्कारको विकास हुन सक्दैन भन्ने किसिमबाट तर्कहरू पनि गर्न सकिने धेरै ठाउँहरू हुन्छन्। तर, त्यस्ता कुराहरुमा घुरा ताप्नेहरूको कुनै चासो हुँदैन। गंगाजीमा मरेको भ्यागुत्ताहरू, बकुल्लाहरू र कुकुर-बिरालाहरू पानीमा बगिरहँदा पनि त्यसले गंगाजीको पानीलाई अलिकति पनि दोष लगाउन भन्न मिल्दैन।

नेपालको संविधानमा लेखिएको ‘समाजवाद’बाट घुरा ताप्ने वर्गहरू बन्चित रहे पनि घुरा ताप्ने अक्षरजीवी र श्रमजीवीहरूको अज्ञता र विज्ञता दुबै समाजको लागि प्रत्युत्पादक र घातक रहेको कुराहरूबारे यिनीहरूले सजिलै ठम्याउन सक्दछन्। सरकारले घुर ताप्ने समाजलाई फुकेर फुलाउन नसक्ने र थिचेर सिध्याउन नसक्ने हुनाले घुरा ताप्नेहरूले सरकारलाई ठूलो चुनौती दिन सक्छन् भन्ने कुराहरूबारे अनुमान लगाउन सक्ने प्रशस्त ठाउँहरू छन्। सरकारले के गर्दैछ, मन्त्रीहरू कहाँ बस्छन्? आफ्ना छोराछोरीलाई कहाँ लगेर पढाउँदैछन्? बैंक ब्यालेन्स र घर घडेरीहरू कसरी जोड्दैछन्? ठेक्का पट्टा र लाभदायक पदहरूमा आफ्ना नातागोता र बफादारहरूलाई कसरी छिराउँदै छन् भन्ने कुराहरूमा यिनीहरू पनि बुझ्ने हुन्छन्।

घुर ताप्नेहरू पुस्तौं पुस्तादेखि बञ्चितीकतणमा परेका छन्। यिनीहरू साँच्चिकै अर्थमा सर्वहारा हुन्छन्। यिनीहरू कांग्रेसको संङगतमा परेपछि कांग्रेस र कम्युनिस्टको संगतमा परेपछि कम्युनिस्ट बन्दछन्।  यिनीहरू व्यर्थको राजनितिमा कुनै चासो राख्दैनन्। डाँडाकाँडा चहारेर देशको समग्र वस्तुस्थिति बुझ्ने बारेमा पनि यिनीहरूसँग जुक्ति हुँदैन। दुनियाँले यिनिहरूलाई सुद्धिबुद्धि नभएको मानिस ठान्दछन् तर यथार्थमा उनिहरू पनि आ-आफ्नो ठाउँमा सर्वज्ञ र शक्तिशाली नै हुन्छन्। उनीहरू पनि आ-आफ्नो ठाउँको जल, जमिन, जंङगल र प्राकृतिक स्रोत साधनका विशेषज्ञ हुन्छन्। खेतबारी र पशुपालन कसरी गर्ने भन्ने सम्बन्धमा यिनीहरूसँग धेरै ज्ञान र जानकारी हुन्छ। सरकारले यिनीहरूलाई नहेरे पनि सरकारको हरेक गतिविधि र क्रियाकलापहरूबारे यिनीहरूले आफ्नो राय-सुझाव दिन सक्छन्।

घुर ताप्ने समाजमा हुनुपर्ने समता, समानता तथा समावेशीताको खाँचोलाई कसैले पनि नजरअन्दाज गरेर अगाडि बढ्दछ भने देशमा जनआन्दोलनको देशव्यापी घुर बल्न सक्छ र देश अझ अस्थिर बन्न सक्छ भन्ने कुरोमा सबैले विचार पुर्‍याउनु जरुरी छ।

मधेस-तराईतिरको घुर संस्कृति एक किसिमबाट चार वर्ण र छत्तीस जातको फूलबारी नै हुन्छ। सरकारलाई समेत गाली गर्न, प्रतिवाद गर्न तथा सराप्ने कार्यमा यिनीहरू कुनै नेताभन्दा कम आफूलाई ठान्दैनन्। तर, सरकारले यिनीहरूलाई नटेरे पनि यिनीहरूको मनभित्र हार्दिकता र संवेदनशीलताको संगम हुन्छ। सरकारका मन्त्रीहरू तथा राजनीतिक दलहरूसँग यिनीहरूको राम्रो सहकार्य हुन सक्दछ। घुर ताप्ने समाज र संस्कृतिभित्र मानवताको महासागर भेट्टाउन सकिन्छ। घुरा ताप्ने असल घुरा प्रेमीहरू जति महान् हुन्छन् त्यति नै उनको घरअगाडि सल्काइएको घुरको आकार तथा बनोट ठूलो हुन्छ।

सरकारको कुनै किसिमको सरसहयोग र अनुदानबिना पनि घुरहरू निर्वाध रूपमा बाल्न सकिन्छ। सरकारी अनुदानको कम्बल र दाउरा पाउन यिनीहरूले मरिहत्ते पनि गर्दैनन्। सरकारले जनकल्याणकारी कार्य गरेन भने आगामी चुनावमा सरकार पक्कै हार्छ भन्ने कुरामा यिनीहरू विश्वस्त हुन्छन्। घुर ताप्ने समाजमा हुनुपर्ने समता, समानता तथा समावेशीताको खाँचोलाई कसैले पनि नजरअन्दाज गरेर अगाडि बढ्दछ भने देशमा जनआन्दोलनको देशव्यापी घुर बल्न सक्छ र देश अझ अस्थिर बन्न सक्छ भन्ने कुरोमा सबैले विचार पुर्‍याउनु जरुरी छ। रामवरण यादवदेखि लिएर सिके राउतसम्म र रामसहाय यादवदेखि अमरेशकुमार सिंहसम्मका राजनीतिक धुरन्धर र कुशल खेलाडीहरू यही घुरा ताप्ने समाजका अभियन्ता र अगुवा हुन्। लोकतन्त्रलाई जनताको दलानसम्म पुर्‍याउन सबैले होस्टेमा हैंसे गर्नु जरूरी छ।    

(सहप्राधापक, अर्थशास्त्र, ग्रामीण विकास अध्ययन उर्लाबारी बहुमुखी क्याम्पस, मोरङ

Contact :-9842098869

Email :- [email protected])

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०

प्रतिक्रिया दिनुहोस्