विचार/ब्लग

भुइँ तहमा घुर क्रान्तिको आवश्यकता

सत्येन्द्र लाल कर्ण।

‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसैले ताप्दैन’ भन्ने नेपाली उखान पुस-माघ महिनातिर शितलहर चल्दा छर्लङ्ग हुन्छ। बलियाहरूको शक्तिको अगाडि सबै झुक्छन्, कमजोरहरूलाई कसैले गन्दै गन्दैनन्। शक्ति र सत्ताको पछाडि लाग्ने मानिसहरु जहाँ पनि पाइन्छ। तर, घुर देख्नेवित्तिकै घुरको पछि लाग्ने र घुर वरिपरि बसेर शितलहरको आक्रमणलाई छल्दै भलाकुसारी गर्दै बहुसंख्यक मानिसहरूलाई मधेसमा मात्र देख्‍न र भेट्न सकिन्छ।

मधेस-तराईतिर मधेसी जनजीवनको रजगजले जाडोयाममा घुरा ताप्ने स्वयमसेवालाई जुन आर्थिक, सामाजिक र सांस्कृतिक आयाम प्रदान गरेको छ, त्यसले मधेस-तराईलाई परजीवी शक्तिको रूपमा नभई आत्मनिर्भर र स्वयमजीवी नागरिकहरू बस्ने ठाउँको रूपमा पहिचान दिलाउन सफल भएको छ। मधेसको विकास अर्थशास्त्रमा मधेस-तराईका गाउँहरूलाई नदेखेझैं गरेर माथिबाट तलसम्म चुहिएर आउने सरकारी योजना र विकास रणनीतिको भुइँ तहमा कुन औचित्य र सान्दर्भिकता रहेन भन्ने कुरालाई अब प्रष्ट रूपमा बुझ्न सकिन्छ। फेददेखि टुप्पोसम्म जाने विकास रणनीतिलाई आत्मसात गर्ने हो भने मात्र मधेस-तराईको ग्रामीण जनजीवनमा विकास र नयाँ परिवर्तनको जीवनरेखा कोर्न सकिन्छ।

मधेस-तराईमा भुइँ तहका समुदायहरूप्रति लेखिएको विभेद कथाले दुनियाँको अगाडि कठोर सत्य उजागर गरिरहेको देखिन्छ। नेपालका शासकहरू जनताका नजरबाट गिर्न थालेपछि स्थानीय जनतालाई नै जनार्दन बनाउने लोकतान्त्रिक अभ्यासहरूको थालनी पनि पटक-पटक हुँदै गएको राजनीतिक परिवर्तन र शासकीय अभ्यासबाट थाहा हुन्छ। देशका कुना-कुनामा छरिएर रहेका कथित राजा, सामन्त र दलालहरू तथा उनाका आसेपासेहरूको पुर्ख्यौली अधिकारहरू ओरालो लागेपछि मधेस-तराईको मधेसी बहुल गाउँहरूमा पनि बिहानीको सूर्योदयसँगै झुल्किने घाममा जनताको उज्यालो भविष्य झन्-झन् उज्यालो हुँदै जाने र सप्रिँदै जाने आशा पलाउँदै गएको थियो। आम जनताहरूको सपना खेतदेखि खलिहानसम्म समृद्धि, विकास र खुसियाली आउँछ भन्ने नै थियो।

तर, क्रमिक रूपमै सरकार छिटो-छिटो बन्ने र बदलिँदै जाने राजनीतिक दलहरूको सत्तामुखी अभ्यासले गर्दा नियत र नियतिबीचको विरोधाभासलाई पन्छाउन सकिएन। शासकहरू बरालिन थालेदेखि नै बहुलवादी समाजभित्रै विषमताका ठूला-ठूला खाडलहरू झन्-झन् गहिरो हुँदै गइरहेको आभास हुन थाल्यो। घुर ताप्ने समाजभित्र पनि उही रौनक र ठाँट-बाँट रहन सकेन। पछिल्लो चरणमा अनागरिकबाट नागरिक बानाइएकाहरू पनि ‘चिहानमाथि उम्रेको हरिया घाँस’जस्ता नै भए।

यथार्थमा मधेसका गाउँहरूमा न कतै सिप छ, न इलम छ, न साधन छ, न शिक्षा छ, न त सामर्थ्य नै छ। सरकारमा जाने राजनीतिक धुरन्धरहरूले पनि बुझ पचाउन थालेका छन्। नागरिकहरूको दैनिकी र जीवनयापन अकल्पनीय रूपमा संघर्षपूर्ण हुँदै गइरहेको छ। मधेस मात्र हैन, अरू पनि प्रादेशिक र भौगोलिक प्रदेशहरूभित्र जनसरोकारका विषयहरूमा आशातित प्रगति भएको देखिँदैन। संघ, प्रदेश र स्थानीय निकायहरूमा ‘जसको लाठी, उसको भैंसी’ भन्ने सिद्धान्तबाट चल्न थालेको छ। बुद्ध र बुद्धिमाथि बन्दुकले निर्णायक भूमिका खेल्न थालेपछि अभावले गाँजिएका गरिबहरू भौंतारिएर हिँड्ने क्रम अझै रोक्न सकिएको छैन। मधेसको ऊर्जा, मधेसको राप र ताप, वातावरण र परिस्थितिअनुरूप बहुलवादी समुदायहरूको हितमा रूपान्तरण गर्न सकिएको छैन।

यथार्थमा मधेसका गाउँहरूमा न कतै सिप छ, न इलम छ, न साधन छ, न शिक्षा छ, न त सामर्थ्य नै छ। सरकारमा जाने राजनीतिक धुरन्धरहरूले पनि बुझ पचाउन थालेका छन्। नागरिकहरूको दैनिकी र जीवनयापन अकल्पनीय रूपमा संघर्षपूर्ण हुँदै गइरहेको छ।

आन्तरिक औपनिवेशिकरणबाट थिचिएका मधेसी बहुल गाउँहरूमा लोकतन्त्रलाई चिलिम च्वाट्ट पार्ने खेल प्रारम्भ भइसकेको लाग्न थालेको छ। नयाँ प्रशासक, नयाँ हाकिम, नयाँ नेताहरू गाउँ-गाउँ पुगेर जनताको सेवा गर्ने सोच राखे पनि विकासको खेती गर्ने सवालमा तिनीहरू असफल भइरहेका छन्। तिनीहरूले जनतालाई समता र समानता दिने कुरा परै जाओस्, सामान्य मानवअधिकार र सामाजिक न्याय दिने लगायतका कुराहरूमा पनि आँखा चिम्लिन थालेका छन्।

मधेस बस्तीभित्रका घुरहरूमा अचेल घुरा ताप्नेहरूको आकर्षण घट्दै छ। गाउँ-घरतिरका युवा जमातहरू सुरक्षित रोजगारी र जीवनस्तरको खोजी गर्दै खाडी मुलुकतिर जान थालेपछि घरको दैलो अगाडिका दलानहरूमा अचेल घुर लगाउने ठाउँहरू सुनसान देखिन थालेको छ। सरकारसँग जाडोयाममा जनतालाई बाँड्ने काठपात र दाउरा घट्न थालेपछि गाउँघरका गरिबहरू प्राकृतिक संकटको विभिषिका झेल्न बाध्य भएका छन्। सरकारको विरोधमा ठूलो आवाज नउठे पनि भित्रै-भित्रै खुम्चिएर घुरा ताप्ने अभ्यासमा सीमित हुन थालेको अनुभव हुन्छ। गरिबीमा जेलिएका समुदायहरू, कुपोषणबाट ग्रसित बालबालिकाहरू, उपचारसमेत पाउन नसकेका बृद्धबृद्धाहरू, रोजगारी पाउन नसकेका ग्रामीण उच्च शिक्षितहरू, कुण्ठा त्रास र निराशाको वातावरणमा घुर तापिरहेका भेटिन सकिन्छन्।

सरकारका नयाँ-नयाँ मन्त्रीहरू पनि पुराना शासकहरूकै लयमा नाच्न थालेपछि राम्रो बाटो-घाटो, राम्रो विद्यालय, राम्रो अस्पताल, रोजगारी दिने ठाउँहरू, गाउँघरका अति सामान्य परिवारका सदस्यहरूको लागि फलामको चिउरा साबित हुन पुगेको छ। देशको कानुनमा गुलियो भाषामा विधिको शासन लेख्दैमा देशमा कानुनी राज्यको अवस्था बहाल होला भन्ने कुरामा जनताको विश्वास घट्दै गइरहेको छ। चरम दमन, उत्पात र शोषणको बिउबाट उम्रिन पुगेको सम्भ्रान्तवाद, निजीकरण, नवउदारवाद र नवसामन्तवादले आम जनतालाई सहुलियत दिने कुरो गरे पनि उनीहरूलाई जल, जमिन र जङगलमाथि भोगचलन गर्ने अधिकार दिने लगायतका कुराहरू असम्भवजस्तो बनेको छ।

मधेसको भाषा, संस्कृति र सामाजिक जनजीवनलाई घुरबाट नयाँ काम गर्ने उत्प्रेरणा हुन्छ भन्ने कुरामा सबैलाई विश्वास नलाग्न सक्छ तर सत्य के हो भने घुरअगाडि बसेर सुख-दु:ख बाँडेर पनि बाँच्न सकिन्छ भन्ने कुरामा भुइँ तहका भुइँ मान्छेहरूको अटल विश्वास हुन्छ। उहिले अमेरिका र युरोपतिर औधोगिक क्रान्ति भइरहँदा मधेस-तराईतिर घुर ताप्ने संस्कृतिको प्रचलन बढ्दै गइरहेको थियो। आज अमरिकाली समाजशास्त्रीहरूले पनि घुर ताप्ने कार्यबाट सामाजिक सद्भाव र सहकार्य र सहयोग कसरी प्राप्त गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न किसिमबाट अनुसन्धान र प्रयोग गरिरहेका भेटिन्छन्। घुरलाई गरिबी निवारणको उपायको रूपमा प्रयोग गर्दै गरेको देखेर अमेरिकाली समाजशास्त्रीहरू छक्क परेका छन्।  

घुर संस्कृतिले महत्वपूर्ण सामाजिक प्रचलनहरू र संस्कारहरुलाई निरन्तरता र पुनर्जीवन दिइरहेको छ। आज पश्चिमेली देशहरूको संस्कृति र समाज पूर्णरूपमा नष्ट भइसकेको छ। व्यक्तिगत स्वतन्त्रता छाडापनमा रूपान्तरण भइसकेको छ, परम्पराहरू छताछुल्ल भइसकेको छ। उनीहरूसँग सुख र आनन्द प्राप्त गर्न सबै थोक उपलब्ध छ तर उनीहरूको मनमा शान्ति र सन्तोष छैन। उनीहरू अनेकौं किसिमबाट विकृति र विसंगति तथा कुलतमा फस्दै गइरहेका छन्। उनीहरूमा व्यक्तिवाद र चरम स्वार्थीपनाको संस्कृति निर्माण हुँदै छ तर पूर्वीय दर्शनमा नेपाल र भारततिरका ग्रामीण क्षेत्रहरूमा सनातन धर्म, सनातन संस्कृति र परम्पराहरू आज पनि सुरक्षित छ। समाजका मानवतावादी विचार र नियमहरूलाई सबैले मानेका छन्। व्यक्तिगत स्वतन्त्रतामाथि सामाजिक अनुशासनको नियन्त्रण छ। यिनीहरू गरिबीबाट सताइएका छन् तर मानवताका पक्षधर छन्।

अहिले पनि गाउँ-घरतिर सुविधाविहीन ठाउँहरूमा, जहाँ सूचना/प्रविधि घर-घर पुग्न सकेको छैन, त्यहाँ घुर संस्कृतिप्रति अदम्य उत्साह र आकर्षण देख्न सकिन्छ। पाको उमेरका मानिसहरूको लागि हरेक रोगको रामवाण दबाई घुरा ताप्नु र घुर सेवन गर्ने कार्य नै रहेको छ। घुर ताप्ने समाज नेपालभित्रकै नागरिकहरूका लालाबालाहरू हुन्। यिनीहरू शितलहर चल्दा होस् वा लू चल्दा होस्, काम गर्नबाट अलिकति पनि डराउँदैनन्। सहरिया संस्कृतिलाई पूर्णरूपमा आत्मसात गर्न नसकेका गाउँलेहरू रात-रातभरि जाग्राम बस्न सक्दछन्। भविष्यका योजनाहरू बनाउन सक्दछन्। यिनीहरूलाई समावेशी नबनाउँदासम्म देशमा ठूलो खैलाबैला र हलचल पैदा हुने पूरै सम्भावना रहन्छ।

त्यसैले, कम्तीमा पनि सरकार सञ्चालन गर्ने सरोकारवाला निकायहरूले घुरा दनदनी बलिरहेको ठाउँमा पुगेर घुर ताप्नेहरूको अनुगमन गर्नु पर्दछ। नि:शुल्क घुर सेवाग्राहीहरुको खोजखबर लिइरहनु जरुरी छ। आधारभूत रूपमा भए पनि समाजमा देखिने गरिबीका आयामहरूलाई विचार गरेर घुरा संस्कृतिलाई जीवन्त राख्न उदार नागरिक समाजले पहल गरिदिनुपर्ने आवश्यकता टड्कारो रुपमा देख्न सकिन्छ।

लेखक कर्णका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्