पाठक विचार

साथीहरूले ‘इन्टरनेशनल मार्केटिङ डाइरेक्टर’ लेखिदिए, हटाइदिन भुले

डिपी अर्याल।

म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दाबढी पेशा र व्यवसायमा लड्दै, उठ्दै, आबद्ध, संलग्न, सक्रिय, निष्कृय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ। म गाँउको सामान्य परिवारको मान्छे। थोरै-थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामूहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे।

देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै-थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन। म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु।

नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेशन कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल व्यवसायमा छु, क्याटरिङ व्यवसायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु। गरिखाने मान्छे हुँ, थोरै-थोरै धेरैमा छु।

तर, म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर ‘इन्टरनेशनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए। तर, हटाइदिन भुले।

तर, त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी। समाचार बनाउनेहरूले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो? मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन।

राजनीतिमा संलग्न भएपछि त झन् कतै पनि प्रत्यक्ष आवद्ध छैन। वेबसाइटहरू अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणित गर्दैनन्। तैपनि मेरो चुनौती छ, ल भन्नुस् म बाट कहिले कुन-कुन गैरकानुनी काम भयो? मन्त्रीका रुपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेरथोर जानेको विषयको मन्त्रालयमध्ये एक हो। म बाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैरकानुनी काम गरेको भए जानकारी गराउनु होला।

म यो पदको मर्यादा र गरिमा जान्दछु। समाचार बनाउनेहरूले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेसले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्। बाई द वे म तेल उद्योगमा पनि संलग्न थिए। खैर जे होस्, मलाई प्रेस जगतसँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ।

र, मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरू हुनेछन्। कृपया, अहिलेजस्तै तपाईंहरूका सञ्चारमाध्यमको स्पेस ती कामहरूका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिनँ भने म कुर्सी खाली गरिदिउँला। यो मेरो बाचा र चुनौती भयो।

यो लामो स्प्स्टोक्तिबाट आफूलाई स्वाद लागेको हेडलाइन हालेर ‘पेल्ने’ अधिकार यहाँहरूलाई नै दिन्छु। म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन, जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु। हवस्, अब काममा लाग्छु।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९

प्रतिक्रिया दिनुहोस्