पाठक विचार

अति भयो बन्द गर सत्ता र कुर्सीको खेल

विश्वका देश आर्थिक मन्दीको चपेटामा रुमल्लिँदा विभिन्न नयाँ माध्यम र तरिकाबाट अगाडि बढ्ने कोसिसमा लागि परेका छन्। हाम्रो देशका नेता भने त्यही कुर्सीको लडाइँमा व्यस्त छन्। हैन, के मति सकिएकै हो? किन यस्तो हुँदै छ देशमा? किन पटक-पटक चक्रब्यूह रचिन्छ? नेपाली आमाको छाती नै छिया-छिया हुने गरी पटक-पटक घात किन हुन्छ हाम्रो पवित्र माटोमा?

किन कहाँबाट कसको नजर र इशाराले यस्तो हुँदै छ आज? जब राजाले एकदम खुला रूपमा विद्रोह नगरी जनताको खुसी र देशको विकाशको लागि आफ्ना पुर्खाले चलाएको आफ्नो बागडोर सुम्पिनु भएको थियो। तर, त्यसको गलत फाइदा उठाउन पाइँदैन। गलत गर्न पनि हुँदैन।

हाम्रो स्वाबलम्बी देशमा सत्ताको मातमा नेताहरू रहँदा आज विदेशीको अखडा बन्न पुगेको छ भन्दा कुनै आपत्ति नहोला। किनकि एकपछि अर्को देशको विदेश विभागको नेपाल भ्रमणले नै देखाइरहेको छ कि नेपाल कता जाँदैछ, कसको इसारामा अगाडि बढ्दैछ भन्ने कुरा।

यता आफ्नै देशमा सरकारको नेतृत्व गरिरहेका दल र नेताको चटक हेर्दा सिर्फ कुर्सी र पदको लागि मरिहत्ते गरेको देखिन्छ। कानुन र न्यायालय राजनीतिक दलको मुठीभित्र छ। पुलिस-प्रशासन सबै दलको राजनीतिले घेरिएको देखिन्छ। दिनदहाडै अपराधी पुलिसको अघिपछि लागेर हिँड्छन्। फरारको लिस्ट भएका अपराधी गरिमामय संसदमा देखिन्छन्।

सरकार यहाँ सोझासादा जनतालाई मात्र कानुन लाग्छ। कस्तो खालको व्यवस्था छ हो?

अनि देश आर्थिक संकटले थलिन लागेको छ। नेता राजनेता भनौंदा चाहिँ एकले अर्कोको खुट्टा तान्ने प्रवृत्तिमा एकदम पोख्त खेलाडीजस्तो भएर प्रस्तुत भइरहँदा नेपाल आमाको चित्कार सुन्ने कसले नि?

यस्तै हुँदै जाने हो भने एकदिन हाम्रो देश नेपाल नै अर्काको पोल्टोमा नपुग्ला भन्न सकिन्न। देश र जनताले धेरै नै कष्ट सहेर आज यो दिनको पर्खाइमा त पक्कै बिताएको भने होइन। अब देशले मुहार फेर्छ, अब दिगो विकास हुन्छ भनेर ढुक्क भएर बस्ने बेलाको सिर्जना कहिल हुन्छ?

भ्रष्ट र लाचारीपनको अन्त्य गर्ने शासक र कानुन कहिले पाउने हो नेपालले? यो कसैलाई थाहा छैन। नेपाली जनताका सपना कहिले पूरा हुने हुन्, खाड़ीको मरूभूमिमा पसिना र खुन बगाउने दाजुभाइले कहिले आफ्नै परिवारसँग बसेर व्यवसाय चलाउन पाउँछन्?

विदेशका व्यापारीले कहिले निर्धक्क भएर आफ्नो लगानी नेपालमा गर्छन् होला। अहिले दुई सय प्रतिशति कर तिर्ने हामी नेपाली नेपालमै बनेका गाडी कहिले चढ्न पाउने? अहिले साइकलमा हिँड्ने पल्लाघरका काका कहिले कार चढेर हिँड्ने होला? सरकार यी सबै कुरा छोड चाहिँदैन। हामीलाई  न्यूनतम् गाँस, बाँस र कपासको उचित सर्वसुलभ मूल्य निर्धारण गर। अनि सबैमा शिक्षा र स्वास्थ्यको नि:शुल्क व्यवस्था गर।

यत्रो देशको ढुकुटी रित्तो भइसक्यो खै के ख्याँस्यौ तिमीहरूले? सरकार बनाउने-लडाउने कुर्सी तानातानमै बितिरहेको छ नेपाल। नेपालीको भविष्यसँग कहिलेसम्म खेल्दै जान्छौ? अब त अति भयो बन्द गर सत्ता र कुर्सीको खेल। देश र जनताको बारे मा सोच।

आफ्नो मुलुक कहाँ छ एक पटक फर्केर आफ्नो भूमिको माटोलाई हेर। छियाछिया भएको नेपाल आमाको सराप लाग्ने छ तिमीहरूलाई। अब पनि देशलाई चक्रब्यूहमा लैजाने काम नगरियोस्। देश र जनताको हित हुने काममा अगाडि बढौं। शासन र सत्ताको दुरुपयोग बन्द गरियोस्। नयाँ नीति-नियम र देशको दिगो विकासतर्फ अगाडि बढ्ने कोसिस गरौं।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९

प्रतिक्रिया दिनुहोस्