पाठक विचार
मिलेर फालौं भ्रष्टाचारको जालो : सुशासन प्रवर्द्धनमा गरौं हातेमालो


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको (३२ औं स्थापना दिवस)को अवसरमा ‘मिलेर फालौं भ्रष्टाचारको जालो : सुशासन प्रवर्द्वनमा गरौं हातेमालो’ भन्ने मूल नारा दिइएको छ। सबै नागरिकले आ-आफ्नो ठाउँबाट सचेत भएर सानोभन्दा सानो कुराको मूल्याङ्कन गरी भ्रष्टचार न्यूनीकरणमा सरकारलाई सहयोग गर्न सकिन्छ।
स्थापना दिवसको अवसरमा अहिलेसम्म कति राम्रा काम भए होला, कति अलपत्रै परेका होलान्। नेपाल हो यहाँ जे पनि हुन सक्छ। किनकि आफैं भूपारिबेष्ठित छ हाम्रो देश। त्यहीमाथि दुई ढुंगाबीचको तरुलको उपनाम त छँदैछ।
यता छल्कियो इन्डियाको टक्कर उता छल्कियो चीनको टक्कर। आयोगले राम्रै थुप्रै काम गर्न खोजे पनि राजनीतिक हस्तक्षेपको कारणले फैसला हुन नसकिरहेको अवस्था छ। नियम कानुन सबै राजनीतिक दलको मुठ्ठीमा रहने एक खालको परम्परा नै बसिसकेको यो अवस्थामा अब हामी नेपाली आफ्नो आफ्नो ठाउँबाट विकृति र विसंगति अनि भ्रष्टचारको विषयमा आवाज उठाउन पहल गरौं।
विश्वको इतिहासमा नेपालको नाममा लागेको कालो भ्रष्टाचारको दाग मेटाउन अब जनता आफैं अघि बढ्नुपर्ने बेला आएको छ। सरकार त कुर्सीको लडाइँमै व्यस्त देखिन्छ।
विभिन्न स्थानीय निकायदेखि लिएर आफ्नै समुदायमा विभिन्न बहानामा हुने गरेका कुरा र कामको स्पष्ट विवरण जनताले खोजेर यसको सही तरिकाबाट खबरदारी गर्न सकिन्छ। हाम्रो सानो-सानो कोसिसले पूरै राष्ट्र बन्छ भने किन नगर्ने सरकारलाई सहयोग? जनताले जस्तोसुकै परिस्थितिमा पनि सरकारको सहयोग गरेकै हुन् र गर्छन् पनि। तर, सरकार भने त्यही जनताको मतको आडम्बरमा रहेर अराजक अनि भ्रष्ट हुँदै जाने प्रवृत्तिले गर्दा आज देशको हालत यहाँसम्म आइसक्यो। सबै निकायहरू राजनीतिको चंगुलमा फसेका छन्। जसको शक्ति छ उसको केही पनि बिग्रिँदैन। जो निमुखा र निरीह छन् उनीहरूको सबै सर्वनाश हुन्छ यस देशमा।
सियो पनि बन्न नसक्ने देशमा एउटा सियो किन्दा पनि भ्रष्टाचार हुन्छ अनि कसरी विकास हुन्छ हाम्रो देशको?
पाइला-पाइलामा छ भ्रष्टाचार। निर्मूलको त कुरै छोडौं अलिकति घटे पनि देश १० वर्ष अगाडि बढ्ने थियो। प्रशासनमा नयाँ जोस भएको कर्मचारी नियुक्ति हुन्छ तर त्यहाँ सही तरिकाबाट काम गर्ने वातावरण नै हुँदैन, अनि ऊ त्हीँ भ्रष्ट हुन पुग्छ। हाम्रो राजनीतिक नेतृत्वले सही र गलत लाई गलत भन्न सकोस्, अनि मात्र हाम्रो देशको विश्वसामु लागेको भ्रष्टचारको कालो दाग मेटिन सक्छ।
गरीबको सरकार कहिले बन्छ नेपालमा?
नेपाली जनताले विभिन्न कालखण्डमा नेपालको राजनीतिक व्यवस्थाका कारण विभिन्न कठिनाइहरूको सामना गर्दै आएको इतिहास सर्वविदितै छ।
देशको उतारचढावका कारण देशमा उचित रोजगारीको व्यवस्था नहुँदा लाखौं युवा शक्ति खाडीको मरूभूमिमा खुनको पसिना बगाउन बाध्य छन्।
यता सरकार रेमिट्यान्सको भरमा दादागिरी गरिरहेको अवस्था छ। जनताको न्यूनतम् आवश्कता पूरा गर्न पनि असक्षम छ। यहाँ सरकारले नीति पनि राम्रै ल्याउँछ तर नीति ल्याएर मात्र पुग्दैन। त्यसको निरन्तर अनुगमन तथा मूल्याङ्कन हुन जरुरी छ। किनकि के उद्देश्यले ल्याएको नीति हो त्यसको पक्षमा कति के प्रगति भयो भन्ने कुराको कुनै आँकडा सरकारसँग नहुने गरेको कुराले नि जान्न सकिन्छ।
नीतिको नाममा सरकार लोकप्रिय बन्नको लागि मात्र न्यूनतम् कार्यक्रम ल्याउने गरेको पाइन्छ आजका दिनसम्म आउँदा। देशमा विद्यमान विभिन्न समस्याको समाधान छैन। न त कुनै पहल नै छ। विभिन्न विकास निर्माणका टेन्डर परेका कम्पनीहरू ६० प्रतिशत भुक्तानी लिएको आँकडा सरकारसंग छ। तर काम भने बीस प्रतिशत पनि भएको देखिँदैन। कति कम्पनीहरूले त काम नि नगरी भुक्तानी लिएको पनि समाचारहरूमा पढ्न सुन्न पाइन्छ। सतीले सरापेको देश।
अबका दिनमा हाम्रो वरपर कहीँ कतै पनि कुनै सेवा लिँदा अनि दिँदा त्यसको नियममा नभएको कुरा भए र कुनै पनि बहानामा कतै कसैले पैसा लिएर गरिदिने कुरा गरेमा त्यसको सिधा उजुरी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निम्न टोल फ्रि नम्बर तथा उजुरीका माध्यम उपलब्ध गराएको छ।
१) आयोगको वेबसाइट - www.ciaa.gov.np
२) हट लाइन नम्बर - १०७
३) टोल फ्री नम्बर - १६१००१२२२३३
४) इमेल - [email protected]
५) भाइबर - ९८६३३३३१११ (उजुरी SMS गरेर)
६) फेसबुक - /NepalCIAA
७) ट्वीटर - @ciaa_nepal
८) हुलाकमार्फत वा आयोगमा आफैं उपस्थित भएर।
अब कोही कुनै पनि ठगीमा परेमा निर्धक भएर आफ्नो गुनासो आयोगसमक्ष राख्नु होला। सबैमा चेतना भया ‘घुस लिन्या र दिन्या दुबै भ्रष्ट हुन्।’