पाठक विचार

प्रविधिको सदुपयोग गरौं

अनिश निरौला।

नेपालीका लागि प्रविधि भनेको कुनै समय आकाशमा फलेको फलजस्तै थियो। प्रविधिमा विशेषगरी हेर्दा मोबाइल,  ल्यापटप, डेक्सटप, आइप्याड, क्यामरालाई मान्न सकिन्छ।

कुनै बेला एउटा सिम कार्ड निकाल्नलाई घण्टौंसम्म लाइनमा बस्नु पर्दथ्यो अनि रकम पनि धेरै नै तिर्न बाध्य हुन्थे नेपालीहरू। विस्तारै समयले नयाँ प्रविधिसँग आत्मासात गर्दै गयो अहिले सामान्य नागरिकहरूको हात-हातमा समेत मोबाइल छ।

बरू घरमा एक छाक खानलाई खानेकुरा नहोस् तर मोबाइल हुनैपर्ने आवश्यक चिज बनेको छ। यो प्रविधिले दिएको उपहार हो। तर प्रविधि भने मानिसलाई अप्ठ्यारोमा सरल र सहज ढङ्‌गले कि प्रयोग गर्ने साधन भए तापनि अहिले यसलाई गलत रूपमा प्रयोग गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ।

अहिले प्रत्येक व्यक्तिको हातहातमा कम्तीमा पनि स्मार्ट फोन छ। प्रत्येक व्यक्ति सामाजिक सञ्जालको प्रयोग गर्ने भएका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ-नयाँ कुराको ज्ञान लिन पनि सकिन्छ। तर अहिलेको समयमा प्रविधिको तीव्र विकासले मानिसलाई नकारात्मक अवस्थातिर धकेलेको पाइन्छ। दिनदिनै सामाजिक सञ्जालबाट दुरुपयोगको साधन बन्दै गइरहेको छ। विभिन्न माध्यमबाट मानिसलाई झुटो प्रलोभन देखाएर मानिसलाई ठग्ने कार्य दिन प्रतिदिन बढ्दै छ। यसरी मानिसलाई ठग्ने र मार्नेसम्मको जोखिम पनि सामाजिक सञ्जालबाट हुन  सक्छ। सामाजिक सञ्जाल खासमा हामीले सही तरिकाले चलाउन सिक्नुपर्छ।

सामाजिक सञ्जाल उचित समयमा चलाउनु पर्छ। नचिनेको मान्छेलाई सामाजिक सञ्जालमा साथी बनाउनु हुँदैन। कुनै पनि प्रलोभन देखाए पनि पत्याउनु हुँदैन र चाँडै कसलाई विश्वास गरेर हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम गर्नुहुन्न।

नेपाल सरकार सूचना सञ्चार मन्त्रालय, साइबर ब्युरोलगायतले सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरू सामाजिक सञ्जालमा के छाप्ने के नछाप्ने, कस्ता मानिसले  सामाजिक सञ्जालमा के गतिविधि गरेका छन् त्यसको  निगरानी गर्नुपर्छ।

सरकारी निकायको कार्य त छँदैछ तर आफूले बढीभन्दा बढी सदुपयोग गर्न सक्नुपर्छ। त्यसबाट नै प्रविधिको  सदुपयोग हुन्छ। आजका बालबालिका भोलिको राष्ट्र निमार्णका गहना हुन्। अभिभावकले पनि आफ्ना बालबालिकाले प्रविधि कसरी प्रयोग गरिरहेका छन्, के-कस्ता तस्बिर तथा भिडिओ हेरिरहेका छन्, के कुरामा बढी समय दिइरहेका छन्, त्यसबाट कति फाइदा लिइरहेका छन् राम्रोसँग हेरिदिए प्रविधिको दुरुपयोगमा रोकथाम हुन्छ। प्रविधिको दुरुपयोग गरियो भने त्यसले आफैंलाई हानी गर्ने निश्चित छ र यस विषयमा आम नागरिकहरू सचेत बन्न आवश्यक छ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९

प्रतिक्रिया दिनुहोस्