पाठक विचार
राष्ट्र र जनताले सरकार भएको महसुस गर्न कहिले पाउने?


आर्थिक शिथिलता, बेरोजगारी, महंगी, भ्रष्टाचार र कुशासनले ग्रस्त भएको हाम्रो समाजमा मिति २०८०/०५/१६ देखि लागू हुने गरी पेट्रोल, डिजेलका साथै खाना पकाउने ग्यासको मूल्य चाडपर्वको मुखैमा एकै पटक प्रतिसिलिण्डर रु.२३५ ले बढाइनुले जनताको दैनन्दिनी जीवनयापन थप कष्टकर बन्न पुगेको छ।
अर्कोतर्फ, आफ्ना स्वार्थ समूहलाई भ्रष्टाचारबाट उन्मुक्ति दिन मुद्दा नै फिर्ता लिने वा उनीहरूविरूद्ध अनुसन्धान रोक्न अनुसन्धान गर्ने सम्बन्धित प्रहरी अधिकृतहरूलाई नै हठातमा सरुवा गरी प्रहरीको मनोबल गिराउने काम हुनु राष्ट्रको लागि दुर्भाग्यपूर्ण छ।
हाल आएर छिमेकी राष्ट्र भारतले जस्तै चीनले पनि आफ्नो देशको नक्सा सार्वजनिक गर्दा नेपालको भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत भारतमा पर्ने गरी देखाइनुले ठूला छिमेकीको मिचाहा प्रवृत्ति उदाङ्गो भएको छ भने नेपालको भू-भागको संरक्षणप्रति कुनै चासो नदेखाउनु सत्तासीनहरूको चरम राष्ट्रघाती कार्य रहेको देखिन्छ।
राष्ट्र अनेकन ज्वलन्त समस्याले ग्रसित हुँदासमेत तिनीहरूको सम्बोधनतर्फको प्रयास भने सत्तासीनहरूबाट अहिलेसम्म प्रदर्शित हुन नसक्नु आपत्तिजनक रहेको छ। राष्ट्रले भोग्नु परेका अफ्ठयारा, चुनौती र सवालप्रति कुनै चासो र चिन्ता नलिने, केवल आफू र आफ्नो स्वार्थ समूहको अवैधानिक तवरले अधिकतम् हित कसरी सुनिश्चित हुन्छ त्यसैप्रति दिनरात केन्द्रित हुनुले राज्य व्यवस्था सञ्चालनमा सत्तासीन तथा प्रतिपक्षहरू पूर्णरुपमा असक्षम, बेइमान र गैरजिम्मेवार रहेको अवस्था छ।
विद्यमान कानुनको परिपालना गरी समाजमा शान्ति, एकता र सद्भाव कायम गर्नुको साटो यसलाई बिथोल्ने हर्कतमा हाल राज्यका उच्च जिम्मेवार तह नै लाग्नुले राज्य व्यवस्था नै अस्थिरता र अनिश्चितताको भूमरीमा फसेको देखिएको छ।
सत्तासीनहरूको एक मात्र चासो र चिन्ता नै राज्य दोहन, भ्रष्टाचार र कुशासन भएकोले राष्ट्र र राष्ट्रियताप्रति छिमेकीहरुबाट निरन्तर प्रहार हुँदा पनि चुइँक्कसम्म नवोली भ्रष्टाचारको आहालमा डुबुल्की मार्ने प्रवृत्तिको सशक्त विरोध गर्दै उपरोक्त मूल्य वृद्धि फिर्ता गर्न तथा देशको सिमाना सुरक्षा र संरक्षणको विषयमा दबाब सिर्जना गर्न एवम् भ्रष्टहरूलाई विस्थापित गर्ने अभियानमा अग्रसर हुन जनता जनार्दनलाई अपिल गर्दै यस कार्यमा नेपाल सुशासन पार्टीको साथ, समर्थन, एकबद्धता र पहलकदमी रहने विश्वास दिलाउन चाहन्छौं।