पाठक विचार

कोशी प्रदेशका सांसद-मन्त्रीलाई २१ तोपको सलामी!

राम कार्की।

कोशी प्रदेशमा पनि ९७ जनाले जागिर जोगाएछन्। त्यो भन्दा गतिलो काम त केही पनि भएन जस्तो लाग्छ।

यो व्यवस्था ल्याउनका लागि लड्दा घाइते भएका योद्धाहरू उपचार खर्च अभावमा हरेक वर्ष ज्यान गुमाउँदै आएका छन्।

घाइतेको उपचार खर्च भनेर हरेक वर्ष दुई करोड छुट्टिन्थ्यो तर खर्च गर्ने कार्यविधि नबनेर बजेट फ्रिज हुन्थ्यो। पैसा छ कार्यविधि बनेन। बनाउन पहल पुगेन।

अर्को वर्ष त कार्यविधि बन्ला भनेर रातो किताबको रकम हेरेर भए पनि चित्त बुझाउँथियौं। यसपालि त हिक्मत कार्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट अध्यादेशबाट ल्याउँदा नै घाइतेको लागि छुट्टिने गरेको उपचार खर्च, घाइते योद्धा प्रतिष्ठानको भवन निर्माण, घाइतेलाई कृषिमा अनुदान, सहिद बेपत्ता परिवारका लागि आर्थिक सहायतालगायत सबै बजेट शीर्षक नै रातो किताबबाट हटाएर आफ्नो असली चरित्र देखाएका थिए नै। त्यसैलाई केदार कार्कीले पनि निरन्तरता दिएछन्।

मान्छेको नाम फरक, पार्टी फरक तर थर एउटै, काम एउटै, पात्र फरक तर प्रवृत्ति एउटै भएपछि माले र तारेमा के फरक पर्‍यो र व्यहोरा ब्वाँसाको परेपछि!

हामी त जननी हौं,बच्चा जन्माउँदा आमाले बगाएको रगतजस्तै। हामीले यो व्यवस्था ल्याउनका लागि बगाएको रगत हो। आफूले जन्माएको सन्ततीले दुत्कारे पनि आखिर आमाले त सन्ततीलाई माया गर्छिन् नै। सन्तान मरोस् भन्दिनन्। त्यस्तै हामीले पनि यो व्यवस्था रगत बगाएर ल्यायौं तर व्यवस्थाले जन्माएका मन्त्री-सांसदहरूले हामीलाई तिरस्कार नै गरे पनि यो व्यवस्था नै मासियोस् भन्दैनौं।

बरू सन्तान जोगाउन थप रगतको आवश्यकता पर्छ भने दिन तयार हुन्छौं। यी बाबु-आमालाई बृद्ध आश्रममा पुर्‍याउने कपुत सन्तानझैं बनेका मन्त्री र सांसदहरूलाई आशीर्वाद नै छ। हाम्रा रगतसरीका आँशु तिमीहरूलाई नलागोस्। हामी दुखेका र चहर्‍याएका घाउ का दुखाई सहँदै बाँचौंला।तिम्रो कुर्सीको फुर्ती फार्तीको चर्तिकला हेर्दै तिम्रै खुसीमा हाँसौंला। माननीयज्यूहरूको इज्जत-प्रतिष्ठा ढाकौंला।

तिम्रो कुर्सी कसैले हल्लाउन नसक्ने गरी कुर्सीका खुट्टा हामी समातिदिन्छौं। तिमी पालो गर्दै बस्नु। बजेट सर्वसम्मत पास भएकोमा हामी घाइते योद्धा,सहिद र बेपत्ता परिवारजनको तर्फबाट २१ तोपको सलामीसहितको शुभकामना छ सबै मन्त्री र सांसदहरूलाई।

(लेखक पूर्वमाओवादी सेना तथा घाइते योद्धा हुन्।)

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०

प्रतिक्रिया दिनुहोस्