पाठक विचार

यो कस्तो समृद्धिको संकल्प यात्रा हो कमरेड?

जनता पहाडमा बस्न नसकेर देशको सबैभन्दा सानो भूगोल तराईका केही जिल्लामा दिनानुदिन कैद भइरहेका छन्। जनताका लाखौं घर आज छोराछोरीविहीन भएका छन्। पहाडका ती नागबेली फाँटहरू आज झार, जंगल र पटेर झाडीमा परिणत भएका छन्। अपवाद छोडेर पूर्वी पहाडका अधिकांश जिल्लामा आज जनताले न गुणस्तरीय शिक्षा पाउँदछन्, न स्वास्थ उपचार, न बाटोघाटो न त आमसञ्चारको सुविधा नै छ त्यहाँ।

खेतबारीमा आधुनिक कृषिको त के कुरा भएका बाली र कृषक बाँदर आतंकबाट आजित भएका छन्। मानव अन्नबाली आज बाँदरले उठाइरहेका छन्। अनि आफ्नो परिवारलाई दुई छाक खानको जोहो गर्नकै लागि तस्बिरमा देखिएको तेह्रथुम वसन्तपुरको आसपासका नागरिकका हर घरबाट विदेशी भूमिमा पुगी युवाहरू रगत पसिमामा चुर्लुम्म डुबेर आफ्नो परिवार पाल्दैछन्। छोराछोरीको उचित शिक्षादीक्षाका लागि झापा मोरङ, सुनसरी र काठमाडौंसम्म कोठा डेरा गरी बस्दै त्यसको पनि उचित हेरचाह गरी आफ्ना बृद्दबाबुआमाको औषधि किन्ने जोहो मात्रै हैन, परदेश बसेर वसन्तपुरको तस्बिरमा पार्किङ गरेर राखिएका हजारौं सवारीसाधनका धनी ओली र यिनका खेताला-गोठालालाई भनेजस्तो जीवन दिन रेमिटेन्ससमेत तिनै युवाले पठाइरहेछन्।

अब भन्नोस् त, यो तस्बिर संकल्प यात्राको नाममा भएको लुटपाट हो कि सम्मृद्धि?

यी तस्बिरमा देखिएका सवारीसाधनले हिजो कति किलोमिटर गुडेर, कति रकमको इन्धन सके? त्यसको आउटपुट के? हिजै कति होटलमा झोलेको व्यवस्थापन हुँदा झोलेहरूले लफन्याएको रक्सी मासु र बिर्यानीको आउटपुट के? देशको चन्द्र सूर्य झन्डा बिर्सिएर पार्टीको झन्डा हल्लाउँदै केपी बा जिन्दावाद भन्दै कुर्लिएर सम्मृद्ध हुन्छ मुलुक भने विश्वका सम्मृद्ध देशहरूमा राजनीतिक कार्यक्रमका नाममा मलाइ यस्तो मनमोहक पार्किङ गरिएका उदाहरण र तस्बिर देखाउनोस् त  कसैले?

इतिहासमा पूर्वी जर्मनी र पश्चिमी जर्मनीबीचको दिवार बर्लिनको पर्खाल भत्कँदा समेत यो लेभलको सवारी आतंक आजसम्म भेटेको छैन भने ओलीको यो कार्यक्रम ल विशाल नै भएछ रे मान्दिम् तर यी सवारी साधनमा भएको खर्चको स्रोत के हो? 

ओलीको झुलाघाट-चिवाभन्ज्याङ यात्रा हुँदै गर्दा कुनै कार्यकर्ताले सिजन अनुसारको सुन्तला टिप्दै गरेको, काउली रोप्न बारी जोत्दै गरेको, पशु चौपायाको भकारो सोहोर्दै गरेको, दूध दोएर डेरी लाँदै गरेको, बाख्रालाई आधुनिक खोर र टाट्नोमा घाँस हाल्दै गरेको, भैंसी ब्याएर पाडो डोर्‍याउँदै गरेको, ढिलो पाक्ने मंसिरे धानको बिटा लगाउँदै वा दाइँ गर्दै गरेको, खेताला मेलापातमा अर्मपर्म गर्दै मेलो गर्दै गरेको, बेमौसमी तरकारी उत्पादनमा खेतहरूमा खनजोत र मलखाद पटाउँदै गरेको, सिँचाइका लागि कुलो, नहर र पैनी सफा गर्दै पानी ल्याउँदै गरेको, कुखुरा फार्ममा कुखुरालाई दाना दिँदै गरेको, कुखुरा बेच्न गाडी लोड गर्दै वा उचित क्यारियर मा बोकी बेच्न बजार लाँदै गरेको, झोलुङ्गे पुल निर्माणमा खटिरहेको, सडक पिच हुँदै पक्की पुलमा हजारौं युवा काम गर्दै गरेको, ठूला मेगा प्रोजेक्ट (हाइड्रो, इन्धन, खनिज) आदिमा लाखौं नागरिक क्याम्पसहित काम गर्दै गरेको, विद्युत प्रसारण लाइन विस्तारको लागि पोलपोलमा युवा विद्युत सामग्री र टुल्ससहित झुन्डिएर  धमाधम काम गरिरहेको, ठूला-ठूला माछापोखरीबाट लाखौं-करोडौं माछा निकाली बेच्न प्याकिङ गरिरहेको तपाईंले एमालेको यत्रो यात्रामा देख्नु भयो?

तस्बिरमा पार्क गरिरहेका हजारौं गाडी के माथि भनिएका उत्पादनसँग प्रत्यक्ष जोडिएका कामको लागि खटाएर पार्किङ गरिएको हो? होइन।

अनि प्रश्न फेरि उही हो, हजारौं गाडी कस्तो सम्मृद्धि लागि दौडाइएको हो? कुन संकल्प बोकेर?

वसन्तपुरले लाखौंको व्यापार गर्‍यो नि, पर्यटन प्रवर्द्धन भयो नि, मध्यपहाडी लोकमार्ग हेर त आहा आदि आदि भनेर भनोस् त! तर, प्रश्न केहो भने मध्यपहाडी लोकमार्गकै कुरा गर्ने हो भने ठेक्काको म्याद पटक-पटक बढाई त्यसबाट निर्धारित टेन्डर रकम कतिपट थपी र कति आफ्ना ठेकेदारका नाम्का झोलेहरूका देशका विभिन्न सहरहरूमा कत्रा-कत्रा बिल्डिङहरू बनेपछि र कति समयपछि मात्रै यत्तिको भयो, यसको क्याल्कुलेट छ तपाईंहरूसँग?

मैले माथि उठाएका तमाम सवाल भनेको उत्पादनसँग जोडिएका विषयहरू हुन्। आज लालीगुरासँको क्षेत्र भएर पनि वसन्तपुर, तीनजुरे, मिल्के जजललेले के पायो? कस्तो बन्यो? कति पर्यटक भित्र्यायो? त्यसले त्यो भूगोलको नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन ल्यायो? यी तमाम सवालमा कुनै एउटा अमुक झोले सांसदले पुन: भन्न सक्छ कि मेरो पालामा यति बजेट ल्याएँ, यति गरे, उति गरें भनेर? 

तर ती सबै कुरा भन्दैगर्दा तपाईं गएर हेर्नोस् आज विश्व सम्पदा सूचीमा समेटिन पर्ने पचासौं/ सयौं प्रजातिका गुराँस फुल्ने त्यो स्वर्गभूमि यिनै दलालहरूको चपेटामा पनि गुराँसको थुप्रै प्रजातिहरू संकटमा परिरहेछन। अनि, यो कस्तो समृद्धिको संकल्प यात्रा हो कमरेड?

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०

प्रतिक्रिया दिनुहोस्