पाठक विचार

नेपाल वायुसेवा निगममा युवा पाइलट नियुक्त हुँदा यत्रो महाभारत?

हामी सुन्छौं - नेपाल वायुसेवा निगम सधैं घाटामा छ।

नेपाल वायुसेवा निगम घाटामा जाँदा अरू वायुसेवा कम्पनीहरू मौलाइरहेका छन्। नेपाल वायुसेवा निगमलाई कहिल्यै मौलाउन दिइएको छैन। त्यो पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगममा नियुक्त हुने व्यक्तिहरूको निहित स्वार्थले हो भन्ने लाग्छ।

भ्रष्ट राजनीतिक नेतृत्वबीच ३५ वर्षीय वरिष्ठ पाइलट क्याप्टेन दीपुराज ज्वारचन नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्त भएको खबरले निकै उत्साह जागेको थियो।

उनको नियुक्तिलगत्तै कार्यकारी अध्यक्ष युवराज अधिकारीको पद खोसिएको भनिएको थियो। निगमको आधिकारिक वेबसाइटमा अहिले पनि अधिकारीको नाम हटाइएको छैन। ज्वारचन नियुक्त भएसँगै अधिकारी स्वत: पदमुक्त भएको ठानिएको थियो।

अहिले सुनिँदैछ - अधिकारी आफ्नो पद जोगाउन ज्वारचनविरूद्ध मुद्दामा छन्। उनले आफ्नो पद जोगाउनका निम्ति अदालतको ढोका ढकढकाइरहेका छन्। स्वाभाविक हो- उनले पूर्ण रूपमा आफ्नो पदमा बस्न पाउनुपर्छ, पर्थ्यो पनि।

तर, अधिकारी अत्यन्तै विवादित व्यक्ति हुन् भन्नेतर्फ हामीले सुनेका बुझेका छौं। तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको उनको अडिओ टेप सुरक्षित नै छ।

त्यो प्रकरणमा मन्त्री जति दोषी हुन्, अधिकारी उति नै दोषी छन्। पदमा पुग्नका लागि सौदाबाजी गरेकै कारण अधिकारीसँग आलेले अनपेक्षित लाभ लिन खोजेका थिए र अधिकारीले त्यो लाभका निम्ति तल्लो निकायबाट उठाउन खोजेका थिए भन्ने त अडिओबाट छर्लंग छ।

विवाद उत्कर्षमा पुगेपछि मन्त्री आलेले अधिकारीलाई हटाए, ज्वारचनलाई नियुक्त गरे। आले र अधिकारीको अडिओ टेप बाहिर आएपछि छानबिन हुनुपर्थ्यो, त्यो हुन सकेन। यसमा सत्तारुढ गठबन्धनका दलहरूको आफ्नै स्वार्थ र योजना होलान्।

स्मरणीय चाहिँ यो छ कि ज्वारचनजस्ता वरिष्ठ पाइलट अहिलेसम्म वायुसेवा निगमको महाप्रवन्धक भएकै थिएनन्। मन्त्री पदबाट हट्नुअघि आलेले उनलाई नियुक्ति गरेका थिए।   आलेले ज्वारचनसँग पनि अधिकारीसँग जस्तै लाभको मौका खोज्न सक्थे होला। तर, पाएनन्।

मेरो व्यक्तिगत बुझाइमा ज्वारचन कसैलाई रिझाएर आफ्नो भविष्य बनाउने व्यक्ति होइनन्। अहिलेसम्म अविवाहित रहेका ज्वारचनका अघिल्तिर स्वाभाविक रूपमै बग्रेल्ती अवसर छन्, उनले कसैलाई रिझाएर आफ्नो भविष्य बनाउने प्रश्न नै हुन्न। आफ्नो करिअरमा निगमभित्रै उनले थुप्रै अवसर पाएका छन्, कर्म गरेर भविष्यमा हासिल गर्ने अवसर छँदैछन्।

एउटा वरिष्ठ पाइलट वायुसेवा निगमको महाप्रवन्धक बन्ने कुराले निगमको बृहत्तर हित हुने भयो भनेर उत्साहित भइरहेका हामीलाई भने उनलाई हटाउने प्रपञ्च चलिरहेको छ भन्ने सुन्दा हतोत्साहित बनाएको छ। आम युवाहरू नेतृत्वमा पुग्न नपाइरहेको वर्तमान राजनीतिक परिदृश्यमा ज्वारचन युवाका प्रतिनिधि बनेर निगमको नेतृत्व गर्दैथिए। उनलाई अहिले वायुसेवा निगमको सर्वोच्च पदबाट हटाउन भइरहेको मुद्दामामिलाको जन्जिर खेदजनक छ।

एक जना युवा नेतृत्वमा पुग्ने कुराले कति फरक पर्दो रहेछ भन्ने दृष्टान्त यो प्रकरणमा देखिन्छ। उनी अयोग्य थिए भने उनको अयोग्यताको प्रमाण पेश गर्नु जरुरी थियो। अन्यथा, अधिकारीजस्ता मन्त्रीसँग मोलमोलाई गर्ने व्यक्ति हटाउँदा यत्रो महाभारत किन?

आम युवा चाहन्छन् - युवाहरू नेतृत्वमा पुगुन्, उनीहरूले देश निर्माणमा योगदान पुर्‍याउन्। आज ज्वारचनको परीक्षा नेपाल वायुसेवा निगममा भइरहेको छ। कृपया उनलाई काम गर्ने मौका दिएर परीक्षा लिऔं, यदि उनले कर्तव्य निर्वाह गरेनन् वा निगमको बृहत्तर उन्नयन गरेनन् भने उनी आफैं अयोग्य साबित भइहाल्ने छन्।

ज्वारचनलाई काम गर्न दिने हो भने पहिले उनलाई घेराबन्दी गरेर होइन, सहयोग गरेर मौका दिनुपर्छ। उनलाई कर्तव्यको डोरीमा बाँध्न सक्नुपर्छ। परीक्षा नै नलिइकन नेतृत्वलाई पाखा लगाउने तानाबाना रच्ने हो भने भोलि वायुसेवा निगममा जो आए पनि मनोबलले काम गर्ने वातावरण हुँदैन। कम्तीमा युवराज अधिकारीजस्तो मन्त्रीसँग बार्गेनिङ गर्ने, तल्लो निकायबाट उठाउने सोच उनले राख्नुहुन्न भन्नेतर्फ सचेत गराउनै पर्छ।

एउटा वरिष्ठ पाइलट निगमको नेतृत्वमा पुग्नु आफैंमा सौभाग्य हो। कम्तीमा उनलाई काम गर्ने अवसर दिएर आलोचना र समर्थन गर्न सकौं।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९

प्रतिक्रिया दिनुहोस्