पाठक विचार
चुनावको माहोलले छोएन युवाहरूलाई


स्थानीय निकायको चुनावको दिन अर्थात वैशाख ३० गते सबै काम छोडी मत हाल्न जाऔं भन्दै फोनको कलरब्याक टोनमा सन्देश आइरहेको छ। चुनावकै दिन शुक्रबार दर्जनौं म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तर्वार्ता लिने मिति तय गरेका छन्।
मंगलबारसम्म छापिएका राष्ट्यि दैनिक पत्रिकाहरुमा वैशाख ३० गते विभिन्न देशमा रोजगारको लागि अन्तर्वार्ता लिइने जानकारीसहितका विज्ञापनहरू छापिएका हुन्।
वैशाख ३० गते निर्वाचन आयोगले सार्वजनिक गरेको निर्देशीका अनुसार अत्यावश्यक सुरक्षा निकाय सवारीहरू, खानेपानी, एम्बुलेन्स, उम्मेदवारले प्रयोग गर्ने सवारी र प्रेस पासबाहेक अन्य सवारी चलाउन नपाइने जनाएको छ।
म्यानपावरहरुले यसपटक मात्र हैन, यसअघि पनि चाडबाडहरुका मुखमा समय र परिस्थिति अनुसार परदेश जानुपर्ने बाध्यताका कारण विदेश पलायन हुन कहर नै छ। अझ हाम्रोजस्तो देशको लागि त झन् ठूलो बाध्यता नै भएको छ।
शासन गर्नेहरू फेरिए पनि देशले मुहार फेर्न सकेको छैन। बेरोजरार भएर कहिलेसम्म बस्ने? त्योभन्दा बरू खाडीकै बाटो तताउन बाध्य छन् युवाहरू। देशको आधा अर्थतन्त्र रेमिट्यान्सले धानेको अवस्था छ। परदेशमा कमाएर घरपरिवार र देशकै अर्थतन्त्र धान्न परदेशिले गरेको सङ्घर्ष र बलिदानको कुनै लेखाजोखा छैन।
परदेशतिर गएकाहरुको दुःख आफ्नो ठाउँमा छ। यता स्वदेशमा रहनेहरूले पनि परदेशीहरूबाट अनेक इच्छा र आकांक्षा राख्नु स्वाभाविक नै हुन्छ। उनीहरूले त्यहाँ जस्तै कठिनाइहरूको सामना गरेपनि हरसम्भव आफ्नोले चाहेको र मागेको कुरा पूरा गर्न कुनै कसर बाँकी राखेका हुँदैंनन्। तर चाहेर पनि सबैको इच्छा पूरा गर्न सम्भव हुँदैन।
एकातर्फ छट्पटिएको हुन्छ भने अर्कोतर्फ आफ्नो र आफ्नाको चाहना पूरा गर्न नसकिरहेको अवस्थामा मन दुःखी रहेका हुन्छ। तर त्यो मनको पीडा, व्यथा कसलाई सुनाउने, कसलाई भन्ने परदेशीहरूले?
यता देशको नेतृत्व तहमा रहका ती शीर्ष नेताहरूको हर्कत र कहिल्यै जनताले नामसमेत पनि नसुनेका नेताहरूलाई यतिबेला घर-घरमा गएर हात र खुट्टा ढोगेर फेरि पनि मिठा-मिठा सपना देखाउँदैछन्- नेपाल अब छिट्टै अमेरिकाजस्तै धनी बन्छ, नेपालीहरू अब विदेश रोजगारीका लागि हैन घुम्न र रोजगारदाता बनेर जाने छन्। आज चुनाव जितेर गए भोलि नै पूरा हुने, देश समृद्ध हुनेजस्ता खोक्रा आश्वासनहरू देखाएर घरदैलोमा भोटको मागिरहेका छन्।
यही बेला देशमा सामान्य रोजगारसमेत नपाएर परदेश जान आज पनि सयौं युवाहरू हातमा पासर्पोट लिएर विमानस्थल र म्यानपावरमा लामबद्ध छन्। अहिले चुनावमा उठेका नेता, उम्मेवारहरूले म्यानपावर र विमानस्थलको गेटमा पुगेर यी माथिका प्रतिवद्धताहरुको विश्वास दिलाउन सक्छन्? उनीहरुलाई पनि यो पाँच वर्षपछि आएको चुनावमा भोट हालेर योग्य नेतालाई जिताउने रहर नभएको हैन। तर, उनीहरू उम्मेदवारलाई जिताएर देश कसरी समृद्ध बनाउने भन्दा पनि परदेशमा पुगेर परिवारको खुसी कसरी किन्ने भन्ने पिरले रूमल्लिएका थिए।
यहाँ जुनै नेता आए पनि आफनै दुनो सोझ्याउने रहेछन् भन्ने युवा जमातमा नकारात्मक छाप बसेको छ। छाप बस्न नि किन नबसोस् त उनीहरूको पछिल्लो चुनावी घोषणापत्रमा देखाएका विकासमुखी योजना र उनीहरूको कार्यव्यवहारले नै सबै छर्लङ्ग पारिदिएको छ।
बुधबार हातमा हरियो पासर्पोट बोकेर बसेका एक युवाले सुनाए, ‘देशमा चुनाव आओस् वा सरकार फेरियोस् नेताहरू नसुध्रिएसम्म र व्यवस्था नफेरिएसम्म देशमा बसेर परिवार त के आफ्नै ज्यान पाल्नसक्ने वातावरण हुँदैन भन्ने।’
नेपालको राजनीतिमा युवा नेतृत्वलाई जिम्मेवारी दिने कुरामा राजनीति दल चुकेका छन्। युवा नेतालाई विश्वास गर्ने कुरामा नागरिक चुकेका छन्। तर, युवा वर्ग कहाँ चुकेका छन्? त्यो पनि विचार गरौं। युवा नेताको नाममा उही पुरानै प्रवृत्ति, पुरानै खेलमा पात्रमात्र नयाँ फेरिने हो भने उही तानाशाही र भ्रष्टहरूको फोटोकपट्ठले देशलाई निकास दिन्छ भनेर आशा गर्न सकिँदैन।
तसर्थ, नेपालको राजनीतिमा युवा नेतृत्व मात्र हैन सचेत युवा नेतृत्वको खाँचो छ। युवा चेतना प्रवर्द्धनको आवश्यकता छ। अध्ययनशील, वैचारिक, तार्किक र बौद्धिक युवाहरूको खाँचो छ। कुकृत्यविरूद्ध खुलेर बोल्न सकोस्, पदको होइन विचारको राजनीति गरोस्। राजनीतिमा आउन चाहनेलाई युवालाई राम्रो सन्देश दिन सकोस्।