पाठक विचार
ज्यानभन्दा बढी किताबको भारी!


शरीर रहे जिन्दगी रहन्छ, शरीर नरहे जिन्दगीको अस्तित्व रहन्न।
मानिसको धन सम्पत्ति भनेको नै आफ्नो शरीर स्वस्थ रहनु हो। अझ भन्ने हो भने स-साना केटाकेटीहरूको शरीर स्वस्थ राख्न हामी ठूला मान्छेहरूकै दायित्व हुन जान्छ। छोराछोरीको उज्जवल भविष्य देखाउने पनि उसको अविभावक नै हुन्।
छोराछोरीको शरीरको चिन्ता गर्ने पनि उसकै अविभावक नै हुन्। आफ्ना छोराछोरीहरूलाई राम्रो विद्यालयमा भर्ना गर्ने पनि अविभावक नै हुन्छन्।
छोराछोरीहरूलाई शिक्षित बनाउन विद्यालय पठाउने हो। विद्यालयमा ज्ञान प्राप्त हुन्छ भनेर पठाउने हो। जसको पनि अविभावक आफ्नो छोराछोरी ज्ञानी होस्, पढेर असल व्यक्ति बनोस् भनेर नै आफ्नो घरको खर्च कटौती गरेर भए पनि राम्रो गुणस्तरीय विद्यालयमा भर्ना गर्ने चलन छ, जुन अविभावकको पनि मन हुन्छ। जस्तो आफू अरुको घरमा जुठो भाँडा माझेर भए पनि आफ्ना छोराछोरीहरूलाई शिक्षित बनाउन चाहन्छन्।
कोही मजदुरी गरेर पनि राम्रै विद्यालय पठाउँछन्। सम्पत्ति हुनेले होस् या नहुने जोसुकैले पनि आफ्ना छोराछोरीहरूलाई विद्यालयमा भर्ना गरिदिएकै हुन्छन्।
तर हिजोआजका विद्यालयहरू खाली पैसा थुत्ने खालका मात्र छन्। के प्रत्येक साल किताब बदल्नु पर्छ? जस्तो कि दाजुले पढेको कक्षा पाँचको कक्षाको किताब के भाइलाई काम दिँदैन? एकै वर्षमा च्यातच्युत हुन्छ र? ल च्यातच्युत भएमा बाध्यताले अर्को किन्छ, त्यो त विद्यालयले कर लगाउनु पर्दैन नि! आफैं जानेर किनिहाल्छन् नि। यो विद्यालयको दायित्व पनि होइन र कर्तव्य पनि होइन नि।
च्यातेको किताब त को पढ्छन् त! जब पढ्न लायकको किताब नै छैन भने अविभावकले पनि जबरजस्ती पढ्न त कर लगाउँदैनन्।
यदि किताब नफेरिदिएमा एउटै घरको दाजुले त्यो विषय पढेको हुन्छ अनि त्यही कुरा भाइलाई सिकाउन कति सजिलो हुन्छ। जसले पनि आफू पढेको विषय न पढाउन सजिलो हुन्छ। आफू नपढेको कुरा कसरी अरूलाई पढाइन्छ त! अविभावकसँग पैसा होस् नहोस् जबरजस्ती खाइनखाई विद्यालयको करले किनिदिनै पर्यो। किताब लगेन भने पिटाइ खान्छन्, डराउँछन्। डराउने त भइहाल्यो नि! गुरु-गुरुआमाको डर भएन भने पनि भएन केटाकेटीहरू बदमास हुन्छन्।
सात कक्षाका बालबालिकाहरूले नौ किलो किताबको झोला बोक्नुपर्छ। त्यसमा फेरि पानीको बोतल, टिफिन गर्दा दस किलो भयो। अनि त्यो बालबालिकाहरूको काँध कस्तो हुन्छ होला!
कतिको त काँध दुख्यो भनेर आफ्ना अभिभावकलाई बोक्न लगाएर विद्यालय जान्छन्। के गर्नु उनीहरू पनि बाध्य छन्। बच्चाहरूले बोक्नै नसक्ने भारी छ हौ किताबको। बिचराहरू तीन थुप्रो किताबको झोलाले लखतरान हुन्छन्। विद्यालय पुग्दा नपुग्दै गलिसक्छन्। गलेको दिमागले के गरी पढ्छन्?
कृपया विद्यालयहरूले अलि किताब थोरै गर्न सक्दैनन् कि अलि पातलो सानो साइजको गरे केटाकेटीहरूलाई सहज हुन्थ्यो। आजका बालबालिका भोलिका देशको कर्णधार हुन्। आज ती बालबालिकाहरूको शारीरिक अवस्थासँग खेलवाड गर्यो भने भोलि बालबालिकाहरूले के गर्न सक्छन्?