पाठक विचार
अब चाहिँ साँच्चै परिवर्तन आउँछ कि!


आज धरानमा हर्क साम्पाङले जित हासिल गर्दै गर्दा अनि काठमाडौंमा बालेनले फराकिलो अग्रता लिइरहँदा देशभित्र र देश बाहिर रहेका सारा नेपालीहरूमा उत्साह जागेर आएको छ। जुन आशा पलाएको छ, भरोसा देखिएको छ, अब चाहिँ साँच्चै परिवर्तन आउँछ कि साँच्चै विकासले गति लिन्छ कि, यी हर्क र बालेनले आ-आफ्ना बाचा प्रतिबद्धताहरू पूरा गर्छन् कि भन्ने लागेको छ। यो सब भइरहँदा, सुनिरहँदा र देखिरहँदा म पनि मन भित्रबाटै खुसी छु, धेरै आशावादी छु कि अब चाहिँ केही राम्रो पक्कै हुन्छ कि देशमा भनेर।
तर मलाई पोख्न र सबैलाई सोध्न मन लागेको कुरा हर्कले वर्षौं अगाडिबाट एक्लै संघर्ष गरिरहँदा बालेनले पाँच वर्षअगाडि नै घोषणा गरेर तयारी गर्दै गर्दा हामी कहाँ थियौं? हाम्रो साथ समर्थन कहाँ थियो? आज हर्क र बालेनलाई भगवानजत्तिकै मानिरहँदा उनीहरूकै गीत गाइरहँदा उनीहरूको सुरुवाती संघर्षका दिनहरूमा चाहिँ किन हामीले यतिको साथ, सयोग, माया, विश्वास र समर्थन गर्न सकेनौं या खासै चासो दिएनौं? भोलिको दिनमा बालेन र हर्कले पक्कै सेयर गर्लान् कति कठिन थियो आजको दिनसम्म आउँदाका दिनहरू भनेर। अनि हामी सुनेर बुझेर इमोसनल हुँदै सामाजिक सञ्जालामा मीठो क्याप्सन लेखेर सेयर गर्ने होला होइन?
यी प्रसंग गरिरहँदा मैले यो भन्न खोजेको हैन कि हर्क र बालेन कसैको साथ र सयोगबिनानै आज यहाँसम्म आएका हुन्। होलान्, अदृश्य पात्रहरू औंलामा गन्न सकिने। तर आज लाखौं-करोडौंले सहयोग गरिरहेका छन्। ढिलै भए नि जे भइरहेको छ, देखिरहेको छ यो एकदम सकारात्मक छ।
म यो भन्न खोजिरहेको छु कि हर्क र बालेनजस्ता र यिनीहरूभन्दा नि अझै अब्बल र सब्बल धेरै युवाहरू छन्। तर सबैको आत्मबल बालेन र हर्कको जस्तै नहुन सक्छ। क्षमता दक्षता भए पनि सबैको कथा, व्यथा परिस्थिति एउटै नहुन सक्छ। सबैले जोखिम उठाउने आँट गर्न नसेका हुन सक्छन्। त्यसैले, हामीले सुरुवाती दिनहरूबाटै यस्ता योग्य दक्ष जोकोहीलाई पनि साथ, सहयोग र हौसला दिनसके धेरै बालेन र हर्क आउन सक्थे।
हर्क र बालेनलाई आजको दिनसम्म आउनलाई यतिका वर्ष लाग्यो पक्कै पनि धेरैभन्दा पनि धेरै बिघ्न बाधाहरू, अनेकौं चुनौतीहरूका साथसाथै हजारौं लाखौं कठिन परिस्थितिहरू फेस गर्दै यहाँसम्मको यात्रा तय गरेका छन्।
एकचोटि सोचौं त यस्ता व्यक्तिहरू धेरै समय अगाडि आएका भए आजको मितिसम्म पक्कै पनि अहिलेको भन्दा धेरै राम्रो भइसकेको हुने थियो नि हैन?
के यस्ता व्यक्तित्वहरूलाई निर्वाचनमा उठेपछि मात्र साथ दिने, सहयोग गर्ने हो? कि हामीलाई काठमाडौं र धरानमा असल मेयर मात्र भए पुग्ने हो?
अनि सबैभन्दा ठूलो कुरा काम र काम गर्ने व्यक्तिलाई सम्मान गर्न सिकौं। यो देशमा एउटा रिक्सा-ठेला चालाउने, जुत्ता-चप्पल सिलाउने, बाटोमा मकै पोलेर बेच्ने, आलुचप र प्याजी बेच्ने, ढल तथा नाला सफा गर्ने, होटलमा भाडा माझ्ने, ज्याला-मजदुरी गर्ने, भारी बोक्ने, कृषि गर्ने र कामलाई ठूलो-सानो नभनी आफ्नो क्षमता, दक्षता, बल बुद्धिले सकेसम्मको काम गरी आफ्नो जीवन चलाउने सबैले उचित सम्मान/इज्जत र काम गर्ने वातावरण पाउनुपर्छ।
त्यसैले तपाईं हामी आ–आफ्नो ठाउँबाट आ–आफ्नो फरक-फरक भूमिकामार्फत राम्रो काम गरौं। आ–आफ्नो जिम्मेवारीलाई पालना गरौं। नीति नियमलाई पालना गरौं, अनुशासनमा बसौं। नकारात्मक कुराहरूको पछि नलागी एकदम सकारात्मक भएर अगाडि बढौं। सुरूमा आफू परिवर्तन भएर देखाउँ, अरूको आलोचना विलोचना गरेर आफू चाहिँ असल छु भन्ने नसोचौं।