पाठक विचार
कता जाँदैछ हाम्रो समाज?


हाम्रो देश नेपाल एउटा धर्म, संस्कृति, संस्कार र परम्पराहरूको थलोको रूपमा चिनिने गर्छ। विश्वका सामु त्यहीँमाथि विदेशीले त मन्दिर नै मन्दिरको देश भनेर पनि उपनाम दिने गरेको पाइन्छ।
हाम्रो देश सबैको मुखमा त्यही छ। जति सेवा सुविधा छन् त्यसैमा रमाउन जान्ने हामी महान्। आफ्नो भाषा, धर्म परम्परा के हो र कसरी यसको उत्पत्ति भयो, किन आजसम्म सबैभन्दा अलग छ हाम्रो देश? भन्ने कुरा कसैले सोच विचार गर्न पाएका छैनन्।
हुन त यहाँ हामीलाई हातमुख जोर्न नै धौ-धौ छ। देशको नीति निर्माण तहमा रहेका राजनेताको त दिमागको बत्ती बलेको छैन आफ्नो संस्कति र संस्कारप्रति। जति सबल, समृद्ध बन्न चाहेको थियो हाम्रो देश प्राचीन समयमै थियो। तर आज आएर सबै स्वार्थी र भ्रष्ट बनेर देशको हालत त छँदैछ देखिएको।
विश्वमा हिन्दुत्व र बुद्धको उद्गमस्थल रहेको नेपाल तर नेपालले आफ्नो बर्चस्व कायम राख्न नसक्दा र भारतीय नेताहरूको चतुर्याइँले गर्दा आज हाम्रो महान पुर्खाको देश नेपाल भारतको एक उपनिवेशजस्तो परिचय विश्वसामु उजागर गरिरहेको छ।
यस्तो दुर्दशा हामी हाम्रो आफ्नै कर्मले गर्दा भइरहेको छ। हामी आज हाम्रो देशलाई माया गर्ने नौटंकी मात्र गर्छौं। सच्चा देशप्रेम कसैमा पनि छैन किनकि आजको दुनियाँ नै देखावटी छ।
नेपालजस्तो प्राचीन मुलुकमा यहाँको प्राचीन भाषाहरू नै मासिएर गइसकेका छन्। कुनै समय मा संस्कृतिका विज्ञहरू बसेर भलाकुसारी गर्ने विद्वानहरूको पनि कमी नभएको हाम्रो मुलुक एकाएक संस्कृतिको सिकार बन्दै गइरहेको अवगत नै छ। भनिन्छ ‘अतिथिको सत्कार नेपाली संस्कृतिको आधार’। एकदमै उपयुक्त छ यो भनाइ। सबैले अतिथिको सत्कार नै गर्नुपर्छ। सबैको आफ्नै स्थानमा ठाउँ अनुसारको मान-सम्मान हुन्छ नै। तर एउटा कुरा हामी नेपालीको सत्कार प्रथममा ‘नमस्कार’बाट सुरू भएर अन्त्यमा ‘नमस्कार’मै सकिन्छ। आजको यो महामारीको जमानामा पनि हामीले नमस्कारको महत्त्व नबुझिरहेको र आफ्ना सन्ततिहरूलाई पनि बुझाउन नसकिरहेको अवस्था छ।
आजको पुस्ता कम्प्युटर र वैज्ञानिक युग रे! सबैको हातमा मोबाइल। तामझाम। तेरो उस्तो मेरो यस्तो होडबाजी र कम्पिटिसन् अनि तानातान हानाहान खै त हाम्रो नयाँ पुस्तामा हाम्रो संस्कार?
बिहान उठेदेखि नसुतुन्जेल मोबाइल हातमा, अझ आजका मोडर्न युवा रे! मुखमा गुटखा सुपारी बेस्सरी ठोस्यो हातमा सिगरेट च्याप्यो, हातमा मोबाइल, कानमा ठेडी ठोस्यो दुई इन्च तल पेन्ट लगायो त्यही पनि ठाउँ-ठाउँमा फाटेको अनि कुरा चाहिँ भुइँ न भाँडाका। भर्खर आठ कक्षामा पनि नपुगेका पूरै डिग्रीको जस्तो धाक लगाउने, कति राम्रो विकास हुँदैछ हाम्रो नयाँ समाजमा नयाँ पुस्ता?
पहिलेको जमानामा त हाम्रो संस्कार घरका ठूलाहरूप्रति आधरभाव अनि एउटा आशय र डर हुन्थो भने आजका पुस्तामा त्यसको उल्टो परिणाम देख्न सकिन्छ। के साच्चै कलियुग नै पल्टिन लाग्या हो त?
ठिकै छ कलियुग नै पल्टिन लाग्या भए पनि सकेसम्म आफ्ना बाल-बच्चाहरूमा नेपाली संस्कार र सभ्यताको विकास त गर्नैपर्छ। यसको पहिलो पठशाला नै घर हो र टिचर नै हामी अविभावक हो। किनकि घरबाट नै सबै कुराको सुरूवात हुन्छ र समय छँदै आफ्ना सन्ततिलाई हाम्रो आफ्नै संस्कार र संस्कृतमा घुलमिल हुँदै रमाउँदै अगाडि बढ्ने प्रेरणाको विकास गर्दै समाजमा सबै वर्ग जातिको उत्थान र सामाजिक भाइचाराको विकास गर्नु आजको सजग, सक्षम र प्रगतिशील नेपालीको कर्तव्य हो।
हामीले आफूबाट नै आफ्नो संस्कार र संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको विकासका लागि कदमहरू अगाडि बढाउनुपर्छ। अहिलेको युवापिढीलाई संस्कार, संस्कृति र पम्पराहरूको उचित कदर गर्दै धर्म के हो र कसरी परिपालन गर्ने भन्ने ज्ञान दिन जरुरी देखिन्छ।
गाउँ-गाउँमा, ठाउँ-ठाउँमा आफूले र आफ्नो समाजले सक्ने र गर्दा हुने विभिन्न सांस्कृतिक धार्मिक र आध्यात्मिक अनुष्ठान, गोष्ठी तथा विभिन्न कार्यक्रमहरूको माध्यमबाट समाजमा यसको जनचेतना विकास गर्नु नै हाम्रो कर्तव्य हुन आउँछ।
जतिसक्दो धेरै हाम्रा नयाँपुस्तालाई आफ्नो संस्कार, कर्तव्य र पुर्खाहरूको सम्मान कसरी गर्ने भन्ने कुराको विकास गर्नु अपरिहार्य देखिन्छ। हाम्रो समाजमा गर्न सिक्न खोज्ने युवाको कमी त छैन तर त्यसको उचित पहिचान गरी अघि बढाउनु हामी सबैको कर्तव्य हो।