सूचना/प्रविधि

काठमाडौं महानगरमा पूर्ण रूपमा डिजिटल नक्सापास प्रणाली लागू, कार्यालय धाउनु नपर्ने शाहको दाबी

काठमाडौं महानगरपालिकाले अनलाइन नक्सापास प्रणाली कार्यान्वयनमा ल्याएको छ।

शुक्रबार सामाजिक सञ्जालमा भिडिओ राख्दै महानगरका प्रमुख बालेन्द्र शाहले अनलाइन नक्सापास प्रणाली सुरुवात भएको जानकारी दिएका छन्।

शाहले नयाँ अनलाइन नक्सापास प्रणालीका माध्यमबाट विगतमा दुईदेखि तीन महिना लाग्ने प्रक्रियालाई छोट्याएर बढीमा २५ दिनमै सेवा दिन सकिने बताए।

नक्सापासमा पहिले विद्युतीय प्रणाली भएतापनि ट्रयाकिङ मात्र हुने गर्दथियो, तर अहिले अनलाइन नक्सापास प्रणालीलाई छिटो र स्वचालित बनाइएको उनले बताए।

शाहले भने, 'अब तपाईंले नक्सा किताब धाइराख्नु पर्दैन। तपाईंको नक्सा अब प्रिन्ट गरिराख्नु पर्दैन। तपाईंले इन्जिनियरलाई नक्सा बनाउन दिनुभयो भने डिजिटल फर्ममा नै काठमाडौं महानगरपालिकाको सिस्टममा प्रवेश गर्छ। र त्यही सिस्टमबाट स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्ट कहाँ गएर कर तिरेर २५ दिनभित्र डिजिटल रुपमा नक्सा तयार भइसक्छ'।

घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिने उनले बताए।

यस्तै, राजस्व तिर्ने, सँधियारको सूचना, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, चैत २८