सूचना/प्रविधि
नेपाल टेलिकमको आय र मुनाफामा करोडौं घाटा, यस्तो छ त्रैमासिक रिपोर्ट कार्ड


नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक आय घटेको छ।
गत वर्षको तुलनामा टेलिकमको त्रैमासिक आयमा ३९ करोड १२ लाख ९७ हजारले कमी आएको हो।
यस आवमा असोज असान्तसम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार छ। गत आवको असोज मसान्तसम्मको त्रैमासिक आम्दानी ११ अर्ब ४ करोड ९० हजार थियो।
टेलिकमका अनुसार यस आवको त्रैमासिक कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको।
गत आवको त्रैमासिक कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार थियो। यस आवमा गत वर्षको तुलनामा ४९ करोड २५ लाख २१ हजार (अर्थात् ५.४३ प्रतिशत)ले सञ्चालन खर्चमा कमी आएको छ।
चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको टेलिकमले जनाएको छ।
उक्त रकम गत आवको सोही अवधि (२०७९आश्विन मसान्त) को खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँ थियो। गत आवको तुलनामा १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत)ले टेलिकमको मुनाफा घटेको छ।
गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालू आवमा सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका केही कारणहरू छन्।
टेलिकमका अनुसार मुनाफा घट्नुमा ओटिटी सेवाको बढ्दो प्रयोग कारण हो।
यसका कारण अन्तरआबद्धता आयमा गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब ४९ करोड १४ लाख ८५ हजारले कमी आएको टेलिकमले जनाएको छ।
आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको टेलिकमले जनाएको छ।
विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण ५ करोड ९९ लाख ‘फरेन एक्सचेन्ज गेन’ भएको टेलिकमले जनाएको छ।
प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेकोले पनि राजश्व र नाफा घटेको टेलिकमले जनाएको छ।
विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवम् नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको उसको भनाइ छ।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको टेलिकमको भनाइ छ।
सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको टेलिकमले जनाएको छ।
बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १४ करोड ८१ लाखले कमी भएको टेलिकमले जनाएको छ।