कला

चर्चित राजनीतिक घटना कोतपर्वमाथि फिल्म बनाउँदै रिमेश अधिकारी

ऐतिहासिक फिल्म निर्माणमा जुटेका निर्देशक रिमेश अधिकारीले ‘कोतपर्व’ निर्माण गर्ने भएका छन्।

यसअघि इतिहाससँग जोडिएको ‘नालापानी’ फिल्म निर्माण गरिसकेका उनले नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वको कथावस्तुमा आधारित रहेर फिल्म ‘कोतपर्व’ निर्माण गर्न लागेका हुन्।

अधिकारीले निर्देशन गर्न लागेको यो फिल्मको छायांकन आगामी माघ २१ गतेदेखि सुरू हुने भएको छ। अधिकारीका अनुसार फिल्मको पटकथा लेखन सकिएकाले टिम छायांकनको तयारीमा जुटेको छ।

राणा प्रधानमन्त्री जंगबहादुरको उदयको रूपमा हेरिने उक्त घटनाबारे अनुसन्धान गर्न तीन वर्ष लागेको उनले जानकारी दिए। फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्। अधिकारीका अनुसार फिल्ममा अहिले चलेका कुनै सुपरस्टार अभिनेतालाई जंगबहादुरको भूमिकामा अभिनय गराइने छ।

उनले यो फिल्म पनि ‘नालापानी’ जस्तै इतिहासको नजिक रहेर बनाइने बताए। उनी भन्छन्, ‘यो फिल्म काल्पनिक हुँदैन। नालापानी फिल्मजस्तै इतिहासको नजिक रहेर यो फिल्म बन्नेछ।’

काठमाडौं र चितवनमा छायांकन हुने यो फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने अधिकारीले जानकारी दिए।

फिल्म निर्माणका लागि इतिहासविद्सँग छलफल गरेर तथ्यहरू तयार पारिएको उनले बताए। चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशले जानकारी दिए। फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी रहेको उनले बताए।

उनी भन्छन्, ‘नालापानीमा भएको कमी-कमजोरीलाई सुधार्दै यसपटक उत्कृष्ट र स्तरीय फिल्म बनाउने तयारीमा छौँ।’

विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए। त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १०
नवपथ संवाददाता
काठमाडौं, वैशाख २५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, वैशाख २५ (एजेन्सी)