कला
पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’


लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन्।
पब्लिकेशन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’ पुस्तक पसलमा उपलब्ध छ।
एक सय ८ वटा लघुकथाहरूको यो संग्रहका अधिकांश कथाहरु एउटा पानामै सकिएका छन्। अझ कतिपय त एक दुई अनुच्छेदमै अभिव्यक्त भएका यी कथाहरूको सिंगो संग्रह एक बसाइमै पढिसकिने हिसाबले तयार भएको छ। डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।
नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो। साढे पाँच दसकअघि नेपालमा केही तन्नेरीहरू मिलेर सांगीतिक समूह ‘लेकाली’ जन्माएका थिए। त्यसमा विशेषगरी भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती उर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो।
भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ। उनीहरूले विशेषगरी लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए।
भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरू भएको थियो। त्यसको शब्द थियोः
मलाइ प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारि पारि हिमालमा उडिरहने
बादलुको केश, मेरो देश
आफैंले संगीत दिएर गाएको भोजपुरेको यो गीत राष्ट्रिय भावनाका नेपाली गीतहरूमाझ अजम्बरी मानिन्छ।
यसरी नेपाली साहित्यमा गीतकारका रुपमा उदाएका भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन्। यसपटक भने उनी लघुकथाकारका रूपमा पाठकमाझ उपस्थित भएका हुन्।
‘बाइरोडको बाटोमा धुलो उडाउँदै’का यी सर्जक आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन्। उमेरको उत्तरार्धमा पनि साथी-संगतबीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यही गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइहरूबाट निस्कने भावलाई यी लघुकथाहरूमा अभिव्यक्त गरेका छन्। आख्यान भइकन पनि पढिरहँदा कतिपय भोगाइ उनको आफ्नै हुन् भनेर बुझ्न पनि सकिन्छ।
‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ भोजपुरे यी लघुकथाहरुको रचना बारेमा भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यही कुरा आफुलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयार भएको हो।’
दुई विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामा पनि संलग्न रहे। तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ।
भोजपुरेले यी लघुकथाहरू छ वर्षयता सिर्जना गरेका हुन्।
‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरे भन्छन्, ‘त्यो कालखण्डमा म छोरी-ज्वाइँ , छोरा-बुहारी र नाति-नातिना समिप अमेरिकातिर रहेकोले, प्रवासिँदाका नेपाली भोगाइहरू पनि यी कथाहरूमा समेटिन पुगेका छन्।’
भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन्। ईबुकको प्रतिलिपि र अडियो बुक thuprai.com बाट किन्न सकिन्छ। मास्केका अनुसार यो पुस्तक संसारभरिका पाठकले अमेजनबाट पनि खरीद गर्न सक्नेछन्।