कला

विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने

विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ। विराटनगर-३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो।

आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ।

नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कट्टेलले जानकारी दिइन्।

‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शोका माध्यमबाट सबैमाझ देखाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं,’ सञ्चालकिका कट्टेललले भनिन्।

फेसन शोका लागि २ पुरुष र १६ जना महिला गरी १८ जना छनोट गरिएको छ। तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर उनीहरू र्‍याम्पमा उत्रनेछन्।

रनवेमा गरिने प्रदर्शनीका लागि साउनको पहिलो सातादेखि नै मोडेलहरू अभ्यासमा जुटिरहेका छन्। विराटनगर-३ गोग्राहा चोकस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा फेसन शो गर्ने तयारी भइरहेको छ।

कार्यक्रमलाई सफल पार्न स्टुडियोका सञ्चालक बनिसाको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ।

त्यस्तै, रोमन कट्टेलको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, रबिन कट्टेलको संयोजकत्वमा प्रचारप्रसार समिति, यसु बरालको संयोजकत्वमा अतिथि सत्कार समिति र राजीव रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू पनि तनस्काको पहिरन लगाएर प्रदर्शनीमा उत्रने फेसन शोका प्रचारप्रसार समिति संयोजक रविन कट्टेलले जानकारी दिए।

भारतको कोलकतास्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन्। यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो भएको दाबी गरिएको छ।

सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन्। सिटिइभिटीबाट मान्यता प्राप्त सो इन्स्टिच्यूटले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, असोज ६
नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)
चन्द्रकुबेर खापुङ
भदौ १६