कला

जापानको तीन सहरमा नेपथ्य

श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ।

यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरूमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ।

त्यसैगरी, ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक ब्याण्डले आफूलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो। अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुन पाउनु आफैंमा नेपथ्यका लागि कोसेढुंगा थियो।

‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसँग जोडिएका मिठा यादहरूमध्ये केही वर्षअघि टोक्यो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ।’

आफूहरू जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरूले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृत सुनाउँछन्।

लामो समयदेखि नेपाली तन्नेरीहरूका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तव्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ।

यसरी आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरूलाई मन पराउँदै आएका छन्।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रस्तुत गरेको थियो।

कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो। त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहत कोषमा बुझाएको थियो।

सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृंखलाको रूपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालिको नेपथ्य जापान शृंखला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्ने छ।

आफूहरूले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी सहरमा शृंखलावद्ध कन्सर्ट आयोजना गर्न लागेको यो पहिलोपटक भएको नेपालयले बताएको छ।

‘प्राविधिक हिसाबले व्यवस्थापन गर्न नेपालबाटै प्राविधिकहरूको टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैले यसपाला मञ्चमा प्रस्तुत हुने छ जना कलाकारका अलावा आठ जना थप सदस्यसहितको हाम्रो ठूलो टोली जापान पुग्दैछ।’

नेपालयले स्थानीय आयोजकको सहकार्यमा कार्यक्रम आयोजनाको लागि प्रतिष्ठित हलको छनौट गर्नुका साथै, टिकटको बिक्री व्यवथापनको लागि अनलाइन माध्यममा जोड दिंदै आएको छ। ‘जापानमा पनि अग्रिम अनलाइन बिक्रीको संख्याले हामी सन्तुष्ट छौँ,’ नेपालयका किरण थप्छन्।

सधैं झैं जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, असोज ६
नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)
चन्द्रकुबेर खापुङ
भदौ १६