कला
क्यानाडामा पहिलो पटक संगीत यात्रा गर्दै नेपथ्य

नेपथ्यले पहिलोपटक क्यानाडाको संगीत यात्रा गर्ने भएको छ।
निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा उभ्याउने छ। त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा हुनेछ।
यी दुबै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शकमाझ हुने छ। अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुने छ।
सन् १८९४ मा खुलेको क्यानाडाको म्यासी हल त्यसको सयवर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१मा मुलुककै ‘नेशनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक) मा सूचीकृत भएको थियो। त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरूले आफूलाई प्रस्तुत गरिसकेको इतिहास छ।
दुई महिनाअघि मात्र म्यासी हलले सामाजिक सञ्जालमार्फत् नेपथ्य कन्सर्टको तालिका घोषणा गर्दा क्यानाडामै बसोबास गर्दैआएकी लेखिका मन्जुश्री थापाले सामाजिक सञ्जालमार्फत खुशी प्रकट गरेकी थिइन्, ‘नेपथ्य आउने समाचारले केहि शितलता महशुस गराएको छ।’
उनले अगाडि थपेकी थिइन्, ‘माओवादी द्वन्द्वकालको चरम निराशाका क्षणमा आशाको सञ्चार गरेर लगाइदिएको गुनका निम्ति नेपथ्य सदैव प्रिय छ।’
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुने छ।
केही समययता नेपालीहरूका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यस तर्फ जाने नेपाली विद्यार्थीहरूको संख्या वर्षेनी बढ्दो छ।
‘केही वर्षअघिसम्म पनि यहाँ नेपाली अनुहार मुश्किलले देखिन्थे,’ टोरन्टोका दिलीप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेष्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दै गएको छ।’
बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघ-संस्थाहरूले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरूको संख्या पनि नियमित बन्दै गएको छ।
‘यहाँको नेपाली समुदायले म्यासी हलजस्तो सम्मानित कार्यक्रम स्थलमा नेपाली कलाकारलाई प्रस्तुत गर्न लागेको सम्भवत यो नै पहिलोपटक हो,’ अर्का क्यानाडाबासी रविन थपलिया भन्छन्।
सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालिको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्ने छ।
‘क्यानाडामा हुने प्राय नेपाली कार्यक्रमहरु अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरूले क्यानाडाको मात्र यात्रा गरेको घटना बिरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।’
नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख गन्तव्यमध्येको क्यानाडामा नेपाली जनसंख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने सम्भावना देखिन थालेको श्रेष्ठ थप्छन्।
नेपालयले उचित व्यवस्थापनमार्फत् नेपथ्यको प्रस्तुतिमा एकरुपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राविधिकहरूलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ।
सोही अनुरुप, अघिल्लो महिनाको शृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवम् व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेश हुनेछन्।
‘हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीहरूले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्याण्डका अगुवा एवम् मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दसैंको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं।’
क्यानाडामा रहेका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए।
‘कतिपय प्रसंशकहरूले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दुरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौं।’
क्यानाडाको तीन वटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
क्यानाडाका तीन वटै सहरहरूमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको ५ बजे प्रवेश खुला गरिनेछ भने ठिक ७ बजे कन्सर्ट सुरू हुनेछ। आनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भइरहेको यात्राका सबै कन्सर्टहरूमा विद्यार्थी समूहको निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको छ।