कला

आरोहण गुरुकुलमा ‘मुनामदन’ले दर्शकको मन जित्दै

विराटनगरस्थित सुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक मञ्चन भइरहेको छ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरू भएको हो। हरेक दिन तीन नाटक मञ्चन भइरहेको नाटकको बुकिङ धमाधम भइरहेको आयोजकले जनाएको छ।

मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवा साहित्यकार कटवाल दीपकले गरेका हुन्। कलेज र विद्यालयहरूले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए।

नाटकका सबै कलाकार विद्यार्थी हुन्। युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न मञ्चले प्रेरित गर्दै आएको छ।

मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आवद्ध छन्। नाटकमा तिनै विद्यार्थीले अभिनय गरेका छन्। यस अगाडि पनि यो नाटक विराटनगर, काठमाडौं, पोखरा र विराटचोकमा मञ्चन भइसकेको थियो।

दर्शकले नाटक मन पराएको बताउँदै मञ्चका अध्यक्ष कटवाल दीपकले भने, ‘उतिबेला युवाहरू रोजगारीको खोजीमा ल्हासा जान्थे, अहिले खाडी जान्छन्, पीडा उस्तै छ।’

देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन। ‘आफ्ना सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाइदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए।

नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राइ, रश्मी थापा, सुजाता थापा, अतित निरौला, प्रदीप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृति थापा, सचिन लिम्बू, लीला लिम्बू र मलिना तामाङको अभिनय रहेको छ। नाटक असोज १६ गतेसम्म मञ्चन हुने छ।

IMG_98211695610799.JPG

IMG_97471695610799.JPG

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, फागुन ८
नवपथ संवाददाता
मुम्बई, फागुन ६
नवपथ संवाददाता
काठमाडौं, फागुन ५