कला
क्यानाडाको टोरन्टोमा नेपथ्य यात्राको भव्य समापन


ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिति जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ।
पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुँदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो।
‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो।’
मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति यसअघि भएको थिएन।
कन्सर्ट सकिएपछि नेपथ्य र ब्याण्डका मुख्य गायक अमृत गुरुङको फेसबुक पोस्टमा आएका प्रतिक्रियाहरूले पनि मिङमाको भनाइलाई थप पुष्टि गरिरहेका छन्।
दर्शक हुनुको अनुभूति प्रकट गर्दै प्रतिक्रिया जनाउनेहरूले टोरन्टो शोलाई ‘जीवनकै महत्वपूर्ण अनुभव’ भनेर उल्लेख गरेका छन्।
कन्सर्टका लागि एक घन्टाअगावै हलको ढोका खुल्नासाथ दर्शकहरूको उपस्थिति सुरू भइसकेको थियो। स्थानीय समय अनुसार बेलुकीको ठिक ७ बजे पहिलो प्रस्तुतिका रुपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्नासाथ तीनतले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जाएका थिए। त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपना जारी रह्यो।
मञ्चमा ब्याण्डको उपस्थितिपछि भने ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको सुरुवात गरिएको थियो। त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत हुँदै गए।
दर्शकदीर्घामा एउटा परिचित क्यानेडेली अनुहार पनि देखिन्थ्यो। उनी थिए - लामो समय नेपालमा बसेर पत्रकारिता गरेका ड्यानियल ल्याक।
'नेपालले समेटेको गज्जबको धर्ती, संस्कृति र त्यहाँका मानिसहरूका बारेमा बोल्ने उत्साहबर्द्धक संगीतको अनुभूति भयो,’ ड्यानियल भन्दै थिए, ‘अमृत र उनको टोलीले आफ्नो प्रतिभा र हुटहुटीलाई यति गहनताका साथ प्रस्तुत गरे कि यो बेलुकी म एउटा मगनमस्त नेपालीजस्तै झुम्न पुगेँ।’
आफ्नो सधैंको स्वभावजस्तै ब्याण्डका मुख्य गायक एवम् अगुवा अमृतले पनि कन्सर्ट अवधिभर दर्शकहरूसँग गीतको साथसाथै संवादलाई जारी राखे।
‘नेपालीहरू जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,’ अमृतको भनाइ थियो, ‘तपाईंहरूले यहाँ सिकेको सिप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ।’
उनले विदेशमा बसेका बेला नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए।
यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरूविरुद्ध पनि अमृतले खबरदारी गरे। ‘हामीबीच जात, धर्म र वर्गजस्ता कुराहरू अघि सारेर जो जसले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ,’ उनले थपे, ‘त्यस्ता विभाजनकारीलाई हामीले उल्टो मानवता र भाइचाराको प्रवर्द्धन गरेर देखाइदिऊँ।’
अमृतका यी भनाइलाई टोरन्टोका दर्शकहरूले चर्को तालिका साथ अनुमोदित गरिदिएका थिए।
टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए। त्यसमा पनि विशेषगरी विजय दुलाल, विकल पाख्रिन र महेन्द्र पौडेलजस्ता दर्शकहरू टेक्सासदेखि झण्डै १५ सय माइल टाढाको यात्रा गरेर आइपुगेका थिए। त्यसका निम्ति उनीहरूले तीन घन्टाको हवाई र पाँच घन्टाको सडक यात्रा गर्नुपरेको थियो।
त्यसैगरी, युरोपबाट क्यानाडा घुम्नका लागि आएका आशिष पुर्जा मगरको निम्ति ठिक यतिबेलै टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्न पाउनुले अर्को रमाइलो थपिन पुग्यो। कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्याण्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए।
यसरी निर्वाह गर्दै आएको सामाजिक दायित्वलाई सन्देशका रुपमा सुनाउँदा सुनाउँदै पनि दर्शकका बीच सर्वकालिक हिट गीतहरू ब्याण्डले प्रस्तुत गरेको थियो।
‘यो कन्सर्ट रोमाञ्चकता र विगतको सम्झना मिसाइएको एउटा मिठो पोकोजस्तो लाग्यो,’ यहाँस्थित जर्जब्राउन कलेजमा अध्ययनरत एन्नी सिंह भनिरहेकी थिइन्, ‘चाडबाडको मुखमा घरको यादले छटपटाइरहेका नेपालीहरूमाझ नेपथ्यले एउटा सानोतिनो नेपालै बोकेर ल्याइदिएको महसुस गरेँ।’ ब्याण्डको जोशिलो प्रस्तुतिले सम्पूर्ण दर्शकलाई उफ्रिएर नाच्न बाध्य बनाइदिएको अनुभव पनि उनले सुनाइन्।
नेपथ्यले तीब्र दर्शक उत्तेजनाकैबीच ‘रातो र चन्द्रसूर्जे’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो।
कन्सर्टमा अमृतलाई सदैवझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
‘नेपथ्य अनुभव गर्न चाहने क्यानाडाका नेपालीहरूको ओजपूर्ण उपस्थिति देख्न पाइयो,’ आयोजक टिमका दिपेन्द्रजंग केसीले समापनपछि भने, ‘यो कन्सर्टबाट क्यानाडामा नेपाली संगीतको एउटा इतिहास रचिएको महसुस हुँदैछ।’
टोरन्टो प्रस्तुतिसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखका दिन स्वदेश फर्कँदैछ।