खेलकुद
स्पेनिस ला लिगा : बेन्जेमा र रोड्रिगोको गोलमा रियल म्याड्रिडको जित


करिम बेन्जेमा र रोड्रिगो गोएसको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा जित हात पारेको छ।
रियलले घरेलु मैदानमा रायो भालेकानोमाथि २-१ को जित निकालेको हो।
भालेकानोका राहुल डि टोमासले एक गोल फर्काए। खेलको ३१औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाए। उनले फेडे भाल्भेर्डेको पासमा गोल गर्न सफल भएका थिए।
८४औं मिनेटमा राहुल डि टोमासले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको जित पक्का गरे।
यस जितसँगै रियल ३६ खेलबाट ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित रायो भालेकानो ४६ अंक जोडेर ११औं स्थानमा छ।
ला लिगाकै अर्को खेलमा तीन गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड स्पान्योलसँग ३-३ गोलको बराबरीमा रोकिएको छ।
एट्लेटिकोका सहुल निग्वेज, एन्टोइन ग्रिजमन र यान्निक कारास्कोले गोल गर्दा स्पान्योलका सेसर मोन्टेस, जोसेलु र भिनिसियस डि सोउजा कोस्टाले बराबरी गोल फर्काए।
यस बराबरीले एट्लेटिको ३६ खेलबाट ७३ अंक जोडेर तेस्रो स्थानमा झरेको छ। स्पान्योल ३५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ।