खेलकुद
सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउँछौं : बालेन्द्र साह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउने बताएका छन्।
एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका साहले सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराए काठमाडौं महानगरबाट रंगशाला बनाउन पहल गर्ने बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ। त्यो बाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको छौं।’
श्रीलंकामा खेल भइरहेको रंगशाला त्रिवि क्रिकेट स्टेडियमजस्तै रहेको आफूले पाएको उनले बताएका छन्।
‘गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद,’ उनले भनेका छन्।
उनको अनुभव हेर्नुहोस् :
फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो, "यति धेरै नेपालीहरू एक्कासी श्रीलंका किन आइरहेका छन्?" श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए।
त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला।
टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ। उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो। खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो। विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन। तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो। ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ।
गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद।
यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको छौं।