खेलकुद
महिला टी-२० : नेपालको विश्वकप खेल्ने सपना समाप्त


नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ।
जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भएको हो।
यो पराजयसँगै २०२४ मा हुने ग्लोबल टी-२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ।
नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिएकी थिइन्। कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाएका थिए। अन्य कुनै पनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो। काजोल नाट्या बुचथमको बलमा चानिदाबाट क्याच आउट भएकी थिइन्। दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु र रुबिना दुई प्रमुख ब्याटरलाई आउट गर्दै नेपालको जितको सम्भावना कठिन बनाएकी थिइन्।
दोस्रो ओभरमा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन्। कप्तान रुबिना क्षेत्री शून्यमा एलबिडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको थियो। पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो।
पूजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भए।
थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन्। थिपाच्चा पुथावोङले ३.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन्। नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो।
थाइल्यान्डको जितमा शीर्षक्रमकी ब्याटर नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन्।