खेलकुद

भारतविरूद्ध श्रीलंका ५० रनमै आउट

तीव्र गतिका बलर मोहम्मद शिराजले घातक बलिङ गरेपछि घरेलु टोली श्रीलंकाले एसिया कप २०२३ फाइनलमा भारतलाई ५१ रनको झिनो लक्ष्य दिएको छ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अल आउट भएको हो।

श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए। दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए। श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो।

श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो। ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन्। जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए।

एक समय ५.४ ओभरमा १२-६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए। कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भए। शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए। कुशल आउट भएसँगै श्रीलंकाको झिनो आशा समाप्त भएको थियो।

श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो। तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए।

तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पूरै खेलमा हाबी बनेको थियो। चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए। एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भए। पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भए।

ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए। तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि संकटमा पुर्याए। शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए। दुनिथ हार्दिक पान्ड्याको बाउन्सर बलमा एज लागेर राहुलबाट समातिन पुगेका थिए।

दुशान हेमान्था १५ बलमा १ चौकासहित १३ रनमा नटआउट रहे। श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसमध्ये पाँच खेलाडीले खाता खोल्न सकेनन्।

भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए। हार्दिक पान्ड्याले २.२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए। जस्प्रित बुमराहले १ विकेट लिए।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०

प्रतिक्रिया दिनुहोस्