खेलकुद
भारतले जित्यो एसिया कप क्रिकेटको उपाधि


भारतले एसिया कप क्रिकेट २०२३ को उपाधि जितेको छ।
फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो। यो सँगै भारत एसिया कपमा आठौं पटक बिजेता बनेको छ।
यसअघि भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो।
जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे। इशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो। श्रीलंकाको यो ओडिआइको दोस्रो कम योगफल हो।
श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो। ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन्। जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए।
श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए। दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए। श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसमा ५ खेलाडीले खाता खोल्न सकेनन्।
एक समय ५.४ ओभरमा १२-६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए। कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका थिए। शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए। कुशल आउट भएसँगै श्रीलंको झिनो आशा समाप्त भएको थियो।
श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो। तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए।
तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पुरै खेलमा हाबी बनेको थियो। चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए। एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भएका थिए। पहिलो बलमै चरिथ असलंका इशान किशनबाट क्याच आउट भएका थिए।
ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए। तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि संकटमा पुर्याए। शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए।
भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए। हार्दिक पान्ड्याले २।२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए। जस्प्रित बुमराहले १ विकेट लिए।
भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो। पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो। भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो। बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो।