खेलकुद
ट्वान्टी-२० शृंखलामा नेपाल तेस्रो स्थानमा


चार देश सम्मिलित ट्वान्टी-२० शृंखलामा नेपालले तेस्रो स्थान हासिल गरेको छ।
आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो।
हङकङ क्रिकेट मैदानमा नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७० रन बनाउन सफल रह्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर पूजा महतोले सर्वाधिक ४३ रन बनाइन्। पुजाले ५१ बलमा तीन चौका प्रहार गरिन्।
रोमा थापाले १९ बलमा २२ रन बनाएर रन आउट भइन्। पूर्वकप्तान रुविना क्षेत्री पनि रनआउट हुनुअघि २१ रन बनाउन सफल भइन्। कप्तान इन्दु बर्माले १२ रनको योगदान गरिन्।
जापानका अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले समान एक विकेट लिन सफल भए।
जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निशीमुराले ५१ बलमा सर्वाधिक २९ रन बनाइन्।
त्यस्तै अर्की ओपनर हिनासी गोटोले ३४ बलमा १६ रन बनाउँदा अहलिया चन्डेलले ११ रन जोडिन्।
अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्। नेपालका लागि संगिता राई, इन्दु, सिता राना मगर, खुसी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए।
समूहको पहिलो दुई खेलमा तान्जानिया र हङकङसँग पराजय ब्यहोरेको नेपालले समूहको अन्तिम खेलमा जापानलाई हराएको थियो। जापान भने सबै खेलमा पराजित भएको थियो।
आइतबार नै हङकङ र तान्जानियाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।