तस्बिर

पदभार ग्रहणपछि आइजिपी कुँवरले भने - गैरव्यावसायिक आचरण सहन्नँ (तस्बिरहरू)

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिने बताए।

अहिले संगठनका सामु समस्याका चाङ रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एकल प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने बताए।

उनले सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताए। व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनले बताए।

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको कुँवरले बताए।

कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानुनहरू र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए।

‘क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन् गर्नुपर्छ,’ उनले भने,  ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ-आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु। संगठनको हितप्रति केन्द्रि यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु।’

गैरव्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘अपराधीहरूलाई कानुनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुने छैन।’

कुँवरले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थबिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाइमा पुर्‍याउन निर्देशन दिए।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९

प्रतिक्रिया दिनुहोस्