तस्बिर
आँप बम्पर प्रोडक्सनतर्फ! (फोटो फिचर)


यसपालि दाना लागेको हेर्दा कोसी प्रदेशमा आँप उत्पादन दोब्बर-तेब्बर हुने देखिएको छ।
आँपका लागि हुनुपर्ने वातावरणीय अनुकूलन पनि प्रकृतिबाट प्राप्त भइसकेको छ।
केही दिनयता सामान्य वर्षापछि आँपलाई राहत मिलेको सम्बद्ध अधिकारीहरू बताउँछन्।
कृषि निर्देशनालय कोसी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार पहिलेका वर्षभन्दा यसपालि फूल बेस्सरी फुल्यो। दाना पनि मजाले लागेको छ।
केही दिनअघि असिना पर्दा झापामा आँपलाई असर गरेको छ। तर, त्यहाँ खासै ठूलो परिमाणमा आँप खेती नरहेकाले यसले उत्पादनमा असर नपार्ने दाबी डाँगीको छ।
डाँगीका अनुसार फुलेको अनुपातमा शून्य दशमलव ५ प्रतिशत मात्रै फुल जोगियो भने त्यसलाई ‘बम्पर प्रोडक्सन’ ठानिन्छ। फुलेको फूल १० देखि १५ प्रतिशत नै रह्यो भने पनि हाँगाबिँगाले थाम्दैन।
आँप उत्पादनमा अब्बल मधेस प्रदेश हो। कोसी प्रदेश आँप उत्पादनमा बामे सर्दैछ।
कोसी प्रदेशमा जम्मा तीन हजार ७४२ हेक्टर जमिनमा आँप बगैंचा लगाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा यहाँ २५ हजार ५५५ मेट्रिक टन आँप फलेको थियो।