तस्बिर

नेपाल प्रहरी र इन्टरपोलको झन्डा सगरमाथाको चुचुरोमा (तस्बिर)

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रहरी वरिष्‍ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत उनले जेठ २ गते मंगलबार बिहान १०:१५ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्।

उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएका छन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरू लिएर नेपालीसहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

२०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाललगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक क्रियाकलापहरूविरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास लिइएको छ।

71684335222.jpeg

41684335221.jpeg

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०

प्रतिक्रिया दिनुहोस्