तस्बिर
सगरमाथा र ल्होत्से हिमाल सफाइमा आफ्नो फौजलाई हौसला बढाउँदै सेना


सफा हिमाल अभियान-२०२३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ कार्यमा संलग्न फौजको हौसला र मनोबल बढाउने उद्देश्यका साथ आइतबार बलाधिकृत रथी सरोजप्रताप राणाले सगरमाथा आधार शिविरको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
निरीक्षणको दौरान बलाधिकृत रथी राणाले हालसम्म भइरहेको कार्य प्रगतिको जानकारी लिए।
उनले प्रतिकुल मौसम तथा अन्य कठिनाइहरूका बाबजुद अभियानमा संलग्न सकलदर्जाको उच्च प्रशंसा गरे।
साथै, आधार शिविरमा रहेका सरोकारवाला सरकारी-गैरसरकारी निकायका प्रतिनिधिसँग हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल गरे।
सगरमाथा र ल्होत्से हिमालबाट हालसम्म १३ हजार ६२१ किलो फोहोर संकलन भएको छ।
सफा हिमाल अभियान अन्तर्गत नै अन्नपूर्ण हिमालबाट संकलित ३ हजार ५६७ र बरुञ्चे हिमालबाट संकलित १८ हजार ५२० किलो फोहोर स्थानीय निकाय तथा फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिसकिएको जंगी अड्डाले जनाएको छ।