तस्बिर
यस्तो बन्यो केपी ओलीले थालेको दमकको भ्यू टावर (तस्बिरहरू)

पूर्वप्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र दमकमा थालिएको भ्यू टावर १८ तला निर्माण सम्पन्न भएको छ।
‘राष्ट्रिय महत्वको योजना’ भन्दै दुई अर्बबढी लागतमा ‘भ्यू टावर’ निर्माण प्रक्रिया थालिएको थियो। आफू प्रधानमन्त्री भएको बेला ओलीले आफ्नै पहलमा ‘भ्यू टावर’लाई राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा पारेका थिए।
बहुवर्षीय योजनामा परेसँगै भ्यू टावर साकार पार्न अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेपछि सहरी विकास मन्त्रालयले निर्माण अघि बढाएको थियो।
भ्यू टावर निर्माणको ठेकेदार चिनियाँ र नेपाली कम्पनी संयुक्त रुपमा छनौट भएका थिए।
जेसिडिआइइसी-आशिष-ओमसाई जेभीले १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ (मुअकरबाहेक)मा ठेक्का पाएको थियो।
तीन वर्षभित्र सक्ने योजना भए पनि भ्यू टावर निर्माण समयमा सम्पन्न भएको छैन।
दमकक्षेत्रमा आर्थिक तथा पर्यटकीय गतिविधि बढ्ने सम्भावना धेरै रहेका हिसाबले ‘भ्यू टावर’ राष्ट्रिय महत्वको योजनामा पारिएको थियो। यो ओलीको ‘सपना’को योजना थियो।
भ्यू टावरको लागत २ अर्ब ९२ करोड (मुअकरबाहेक) हो। संघीय सरकार आफैंले भ्यू टावरको जिम्मा लिनेछ, प्रदेश वा स्थानीय सरकारसँग समन्वय हुँदैन।
दमक नगरपालिकाका अनुसार स्थानीय वा प्रदेश सरकारसँग भ्यू टावर निर्माणको सम्बन्ध रहने छैन।
ओलीले पहिलोपल्ट प्रधानमन्त्री भएका बखत दमक नगरपालिका-३ ढुकुरपानीमा भ्यू टावर बनाउने भन्दै शिलान्यास गरी जग्गा जुटाउन दमक नगरपालिकासँग सहयोग मागेका थिए। दमक नगरपालिकाले भ्यू टावरका लागि अहिले पाँच बिगाहा जमिन स्थानीयबाट जुटाएको छ।
भ्यू टावरबाट दृश्यावलोकन गर्ने मात्र नभएर व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सेमिनार हललगायत बनाउने योजना छ।
हेर्दा तिरिमिरीझैं लाग्ने भ्यू टावर वरपर साधारण बस्ती छ। त्यहाँ खानेपानी त छँदैछैन। बाटोको सुविधा पनि राम्रो छैन।