तस्बिर
सैनिक मञ्चमा फूलपाती बढाइँ [तस्बिरहरू]

बडादशैँको सातौँ दिन शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहको सुरूमा नेपाली सेनाको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो।
त्यस अवसरमा बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरूबाट लहरे, एकट्ठा र दुर्गा यन्त्र आकृति बनाई बढाइँ गर्नुका साथै तोपबाट समेत बढाइँ गरिएको थियो।
उक्त कार्यक्रममा गोरखाबाट ल्याईएको फूलपाती पनि टुँडिखेलमा ल्याई हर्षबढाइँसहित हनुमान ढोकातर्फ लगिएको थियो भने मार्चपासका साथै नेपाली सेनाको ब्याण्डबाट मालश्री तथा दुर्गा भजनहरूको धुन प्रस्तुत गरिएको थियो।
समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरू, जनप्रतिनिधिहरू, नेपाल सरकारका सचिवहरू लगायतका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरू, पूर्वप्रधान सेनापतिहरू, बहालवाला एवम् अवकाशप्राप्त रथीवृन्द, काठमाडौँस्थित कूटनीतिक निकायका प्रमुख एवम् प्रतिनिधिहरू, सञ्चारकर्मीहरूका साथै सर्वसाधारणको उपस्थिति रहेको थियो।